बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड
विराटनगर/उपचारमा लापरवाही गर्दा बिरामीको मृत्यु भएको भन्दै विराटनगरस्थित बिराट नर्सिङ होममा शुक्रवार तोडफोड भएको छ । बिहान ११ बजे बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् । गत असोज २५ गते मोरङको बेलबारी ३ स्थित पूर्व पश्चिम राजमार्गमा दुर्घटना हुँदा घाइते भएकी सुनसरीको हाँसपोसा २ की ५६ वर्षीया देवीमाया कार्कीको उपचारका क्रममा मृत्यु भएको हो । बा. ९ च ६१४६ नम्बरको कारले को. ४ प ९०२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा कार्की घाइते भएकी थिइन् । दुर्घटनामा घाइते भएकी कार्कीको ढाडको हाड भाँचिएकोले उपचार भईरहेको थियो । अस्पतालले थप उपचारका लागि बिरामीलाई काठमाडौं लैजान समेत नदिएको मृतकका आफन्तले आरोप लगाएका छन् ।
अस्पतालका महाप्रबन्धक पुष्पविक्रम बस्नेतले भने बिरामीको हड्डी भाँचिएकोले हड्डीभित्रको मासी मुटुसम्म पुगेर मृत्यु भएको बताए । मृतकका आफन्तले लगाएको आरोप गलत भएको उनको भनाइ छ । डाक्टर सबल सापकोटा र आलोक देव उपचारमा संलग्न थिए । पुर्वेली
प्रतिक्रिया दिनुहोस् >>