दल होइन, व्यक्ति हेरेर भोट
Posted by
purwanews
Published on
Monday, October 28, 2013
काठमाडौं /
विगतमा विभिन्न प्रतिबद्धता लिएर आएका पार्टीलाई मत दिए पनि जितेर गएपछि गाउँमा नआएकोमा उनलाई पछुतो लागिरहेको छ। यसअघि पार्टीले गरेका प्रतिबद्धता पूरा नगरेकाले उनले यसपटक उम्मेदवार हेरेर मतदान गर्ने योजना बनाएको बताए। ‘विगतमा पनि पार्टीका नीति तथा सिद्धान्तमा निकै राम्राराम्रा कुरा उल्लेख थिए’, चौधरीले भने, ‘तर न संविधान बन्यो न त विकास हुन सक्यो।’
आफूले चिनेको उम्मेदवारलाई जिताउँदा जिम्मेवारी पूरा नगरेमा हाकाहाकी कुरा राख्न सकिने भएकाले पनि व्यक्ति हेरेर मतदान गर्ने उनको भनाइ छ। झापा दमक-१० का नन्दप्रसाद चम्लागाईं राम्रो उम्मेदवारको खोजीमा छन्। राष्ट्र र शान्तिप्रति चिन्तित उम्मेदवारलाई मात्र भोट हाल्ने बताउँदै उनले भने, ‘पहिला जितेर गएकाबाट धोका भएकाले यसपटक उम्मेदवार बुझेर मात्र मत दिन्छु।’ पहिलो संविधानसभा निर्वाचनमा पार्टी हेरेर मतदान गरेको तरकारी व्यापार गर्दै आएका चम्लागाईंले बताए।
विद्युत् प्राधिकरणका सुरक्षागार्ड यमबहादुर बगाले पनि पार्टीभन्दा उम्मेदवारको योग्यता र खुबी हेरेर मतदान गर्ने बताउँछन्। अछाम चण्डिका-८ का कम्माने हुड्केले विगतका निर्वाचनमा पार्टीको सिद्धान्त, विधान, घोषणापत्र हेरेर मत दिएको तर जितेर गएपछि घोषणापत्रमा भनेजस्तो काम नगरेकाले यसपटकको निर्वाचनमा घोषणापत्र पढेरभन्दा पनि उम्मेदवारको क्षमता बुझेर मत दिने बताए।
सुनसरीको इटहरी-४ का राजेश बुढाथोकीको पनि भनाइ पनि उस्तै छ। ‘निर्वाचन जितेर गएपछि पनि पार्टीले भन्दा व्यक्तिले नै आफ्नो क्षेत्रको विकास गर्ने भएकाले म सुनसरी २ बाट स्वच्छ छविको जनप्रेमी उमेदवार रोजेर भोट हाल्नेछु’, उनले भने। रौतहट गौर-११ का ५५ वर्षीय सदानन्द झाले गाउँका समस्या सुन्ने उम्मेदवारलाई मत दिने उनले बताए।
सर्लाही हरिवन-९ का रामप्रसाद दाहाल भन्छन्, ‘हाम्रा होइन, राम्रा उम्मेदवारलाई मतदान गर्नुपर्छ, मतदाताको चाहना सम्बोधन गर्ने नेतालाई मत दिनुपर्छ। बाँके नेपालगन्ज-५ का ६० वर्षीय रामबहादुर श्रेष्ठ विकास निर्माण गर्न सक्ने नेता छानेर मत दिने बताउँछन्। ‘पार्टी भन्दै जस्तो पायो त्यस्तो मान्छेलाई अब भोट दिन सकिँदैन’, उनी भन्छन्, ‘केही गर्न सक्ने हुनुपर्यो।’
बाँके बैजापुर-७ की सुनिता चौधरीले पनि व्यक्तिलाई प्राथमिकता दिने बताइन्। पाँचथर रानीटार-२ का विशाल अधिकारीले निर्वाचनमा पार्टी होइन, उम्मेदवार हेरेर मत दिने बताए। ‘मुलुकका लागि केही गर्छु भन्ने नेतालाई मत दिएर संविधानसभामा पठाउनुपर्छ भन्ने मेरो मान्यता हो’, उनले भने, ‘पार्टी र त्यसका अजेन्डा कागजी हुन्। जुनसुकै पार्टीमा आस्था राखे पनि भोलि मुलुकको नेतृत्व गर्न सक्नेलाई मेचीदेखि महाकालीका जनताले जिताएर पठाए भने पक्कै संविधान बन्ला।’
झापाको दमक १५ का डम्बरप्रसाद रिजाल भने दोधारमा छन्। ‘खोइ के गर्ने हो, यसै भन्न सक्दिनँ’, उनी भन्छन्। सप्तरी खोजपुरनिवासी मोहन चौधरीको मत भने भिन्न छ। उनी पार्टी नै छानेर मतदान गर्ने बताउँछन्। संविधान निर्माण गर्दा संघीयता र सबैको अधिकारको ग्यारेन्टी हुनुपर्ने भएकाले पार्टीको जिम्मेवारी त्यस्ता काममा गहन हुने उनको तर्क छ।
रूपन्देही बुटवल कालिकानगरकी सरस्वती थापा पनि उम्मेदवार असल नपरे पनि त्यसको जिम्मेवारी पार्टीले लिने भएकाले पार्टीकै आधारमा मतदान गर्ने बताउँछिन्। अछाम मंगलसेन-८ का शेरबहादुर विकले पहिलोपटक मतदान गर्न लागेकाले पार्टीका घोषणापत्र, नीति तथा कार्यक्रम हेरेर मात्र भोट दिने बताए। पाँचथर नांगिन-६ का सञ्जय तावाहाङ घोषणापत्र हेरेर पार्टी छान्ने बताउँछन्।
(अन्नपूर्ण)
प्रतिक्रिया दिनुहोस् >>
.jpg)