झारफुक गर्नेको घाँटी चट
सप्तरी/सप्तरीको फत्तेपुरमा एक युवकले छिमेकीको घाँटी रेटी हत्या गरेका छन् ।
फत्तेपुर गाविस–८ का २९ वर्षीय कुमार सरदारले ३६ वर्षीय देवलाल सरदारको घाँटी खुकुरीले रेटी हत्या गरेका हुन् ।
केही दिनदेखि देउता लागेको भन्दै देवलालसँग झारफुक गराउँदै आएका कुमारले झारफुककै क्रममा घाँटी रेटिदिएको सप्तरी प्रहरीले बताएको छ ।
इसाई धर्मगुरुसमेत रहेका देवलालले शनिबार राति पनि कुमारलाई झारफुक गरेका थिए । सोही क्रममा आइतबार बिहान ३ बजे कुमारले धारिलो खुकुरी प्रहार गरी उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
हिन्दु धर्म मान्ने कुमारलाई देवलालले इसाई धर्म मान्न लगाएका थिए । इसाइ धर्म मान्न थालेपछि देवी देउताले सताएको भन्दै देवलालसँगै उनले झारफुक गराउने गरेको कुमारकी पत्नी तिलियादेवी सरदारले बताइन् । कुमारले शनिबार साँझ आफू र आफ्ना बालबच्चालाई समेत मार्ने प्रयास गरेको तिलियाले दावी गरिन् ।
मृतकको शव परीक्षणका लािग राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा लगिएको छ । हत्या गर्ने कुमार सरदारलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको प्रहरी प्रवक्ता प्रनाउ चौधरीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस् >>