कांग्रेसको सभामा वैद्य माओवादीको ढुंगामुढा
Posted by
purwanews
Published on
Monday, October 21, 2013
पाँचथर । पाँचथरको रानीटार गाविसमा नेपाली कांग्रेसले सोमबार दिउँसो गरेको चुनावी कार्यक्रममा वैद्य माओवादीका कार्यकर्ताले आक्रमण गरी अवरोध पुर्याएका छ्न ।
रानीटार उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा कांग्रेस क्षेत्र नं. १ ले गरेको चुनावीसभा करिव २ सय जनाको समूहमा आएका वैद्य माओवादीका कार्यकर्ताले दिउासो २ बजे ढुंगामुढा प्रहार गरेर अवरोध गरेका हुन् । सदरमुकामबाट तीन घण्टा पैदल दूरीमा रहेको सो स्थानमा पाँचथर क्षेत्र नं. १ का कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङको उपस्थितिमा आमसभा शुरुहुने वित्तिकै वैद्य माओवादीका कार्यकर्ताले आक्रमण गरेका थिए ।
आमसभाको सुरक्षामा थोरै संख्यामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिन नसकेपछि सदरमुकाम फिदिमबाट थप सुरक्षाबल पठाएर स्थितिलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।
उनले भने -'प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको छ ।' केही बेरको घम्साघम्सीपछि प्रहरीले वैद्य माओवादीका कार्यकर्तालाई लखेटेर स्थिति नियन्त्रणमा लिएको थियो ।
चुनावी आमसभामा आक्रमण गर्ने वैद्य माओवादीका कार्यकर्ताको खोजी जारी रहेपनि अहिलेसम्म कसैलाई पक्रन नसकिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् >>