‘अमेरिकाद्धारा ३५ विश्वनेताको जासुसी’

संयुक्त राज्य अमेरिकाले विश्वका विभिन्न ३५ नेताहरुको टेलिफोन संवादको जासुसी गरिरहेको गोप्य दस्तावेजहरुले देखाएका छन्।
ह्वाइट हाउसले तनाव कम गर्ने पश्चिमा मित्रहरुसंग कुरा भइरहेको बताएको छ
अमेरिकाका एक पूर्व गुप्तचर कर्मचारीले चुहाएको ती दस्तावेजका अनुसार जासुसीका लागि अमेरिकी सुरक्षा निकायलाई त्यहांकै अर्को सरकारी विभागले दुई सयवटा भन्दा बढी टेलिफोन नम्बरहरु अनुगमनका लागि दिएको थियो।

तनाव

उक्त दस्तावेजको एउटा गोप्य पत्र मेमो ब्रिटेनको गार्डियन पत्रिकामा प्रकाशित भएको थियो।
हाल रुसमा शरण लिइरहेका अमेरिकाका पूर्व गुप्तचर कर्मचारी एडवर्ड स्नोडनले उक्त सूचना चुहाएका हुन्।
"अमेरिकी राष्ट्रपतिलाइ बारम्बर भनेको छु की मित्रहरुकै जासुसी स्विकार्य छैन। यो म व्यक्तिगत रुपमा होइन समग्र जर्मन जनताकोतर्फबाट भनिरहेको छु"
एंगेला मर्केल, चान्सलर, जर्मनी
आफ्ना नेताहरुको टेलिफोन संवादको जासुसी गरेको भन्दै जर्मनी र फ्रान्सले अमेरिकासमक्ष चर्को असन्तुष्टि पोखिरहेका बेला सार्वजनिक पछिल्लो खबरले थप तनाव चुलाउने ठानिएको छ।
ब्रसेल्समा भइरहेको युरोपेली युनियन इयुको शिखर सम्मेलनको पहिलो दिन बोल्दै जर्मनीकी चान्सलर एंगेला मर्केलले भनिन्, "अमेरिकी राष्ट्रपतिलाई बारम्बर भनेको छु कि मित्रहरुकै जासुसी स्विकार्य छैन। यो म व्यक्तिगत रुपमा होइन समग्र जर्मन जनताकोतर्फबाट भनिरहेको छु।"
उनले यो विषय सुल्झाउन जर्मनी र फ्रान्सले अमेरिकासंग वार्ता गर्न चाहेको बताइन्।
त्यसअघि उनले फ्रान्सका राष्ट्रपति फ्रान्स्वा वालान्दसंग भेटेर त्यसबारे कुराकानी गरेकी थिइन्। इयुका अन्य नेताहरुले पनि अमेरिकी गुप्तचरी संकलनबारे गहिरो चासो व्यक्त गरेका छन्।

‘सामान्य’

"हामीले कूटनीतिक माध्यमार्फत यसबारे कुराकानी गरिरहेका छौं। हामीले गुप्तचरी सूचना संकलनबारे समीक्षा गरिरहेका छौं"
जे कार्ने, प्रवक्ता, ह्वाइट हाउस
तर बीबीसीका सुरक्षा संवाददाता फ्रयान्क गार्डनर भन्छन्, अमेरिकाले आफू निकट पश्चिमा नेताहरुको टेलिफोन संवादको जासुसी गरेको विषय यदि सत्य हो भने त्यो सुखद समाचार होइन तर यो आश्चार्यजनक पनि होइन।
यसअघि नै राष्ट्रसंघ र इयुका गोप्य छलफलहरुको जासुसी अमेरिकाले गरेको भन्ने खबरहरु सार्वजनिक भइसकेका थिए।
तथापि पछिल्लो घटनाले अमेरिकाको उसका पश्चिमा मित्रहरुसंगको सम्बन्धमा केही तनाव जन्माउने ठानिएको छ। त्यस्तो तनाव अन्त्यका लागि छलफल जारी रहेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ता जे कार्नेले बताए।
उनले भने, “हामीले कूटनीतिक माध्यमार्फत यसबारे कुराकानी गरिरहेका छौं। हामीले गुप्तचरी सूचना संकलनबारे समीक्षा गरिरहेका छौं।”

पछिल्लो तनावले अमेरिका र इयुबीच हुने भनिएका व्यापारसम्झौताहरुलाई पछि धकेलिदिने आशंका गरिएको छ।
(BBC
)

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>