जनमोर्चाका उम्मेदवारलाई ज्यानमार्ने धम्की
सुनसरी । संघीयताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले आफ्ना उम्मेदवारलाई मधेसी जनाधिकार फोरम नेपालका स्थानिय नेताले ज्यान मार्ने धम्की दिएको आरोप लगाएको छ ।
सुनसरी क्षेत्र नं. ५ का आफ्ना उम्मेदवार टेकनारायण यादवलाई २८ गतेसम्ममा सिध्याउने धम्की दिएको जनमोर्चाका केन्द्रिय सदस्य सुरेन्द्र भण्डारीले बताएका छन् ।
चुनाव प्रचारप्रसारका क्रममा पश्चिम कुशाहा पुगेका यादवलाई मधेसी जनाधिकार फोरम उपेन्द्र यादव समुहका रामसुर यादवले ज्यान मार्ने धम्की दिएपछि असुरक्षित महसुस गरेको यादवले बताएका छन् । धम्कीको विषयमा सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरुलाई जानकारी गराइसकिएको भण्डारीले बताएका छन् । संघीयताको विरोध गरेकै कारण जनमोर्चाले गर्ने कार्यक्रमहरु लिम्बुवानलगायतका संगठनहरुले विथोल्दै आएका छन् ।
यता आरोपित संगठनका जिल्ला अध्यक्ष भगिरथ खत्वेले भने उक्त नामको व्यक्ति आफ्नो संगठनमा नरहेको र उपेन्द्र यादवलाई हराउने षड्यन्त्र भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस् >>