डराए नेता : साना शीर्षहरु समानुपातिकमा

खासै गतिविधि नगर्ने अति साना दलका नेताहरुले पनि समानुपातिकमा उठेर प्रत्यक्षको लागि भने नयाँ मुर्गाहरु खोजेका छन् । खर्च गर्ने, राजनीति अलिअलि बुझ्ने र दुई चार सय भोट भएको गफ हाँक्नसक्ने व्यक्तिलाई उनीहरुले उठाएका छन् ।
इटहरी/इटहरीका कुमार सुब्बा राप्रपा नेपालका चर्चित नेता हुन् । पञ्चायतकालमा पञ्च हुनाको नाताले इटहरीसँग राम्रै चिनजान छ उनको । उनको नाम नसुन्ने र उनलाई नदेख्ने इटहरीका रैथानेहरु शायदै होलान् । इटहरी नगरपालिकाको भवन उनैले बनाउन लगाएका थिए त्यो बेलामा, जुन आजका दिनसम्म पनि प्रयोगमा आइरहेको छ । उनले इटहरीलाई बनाउन प्रशस्तै काम पनि गरे । तर संविधानसभाको चुनावमा भने क्षेत्र नं. २ बाट उनले प्रत्यक्षतर्फ प्रेमप्रसाद भट्टराईलाई उठाएर आफूचाहिँ समानुपातिकतर्फ उठेका छन् । चुनावलाई नजिकबाट बुझ्ने उनकै समकक्षी र कार्यकर्ताहरुले भने, ‘प्रत्यक्षमा हार्ने डरले अरुलाई उठाए ।’ सुब्बाको स्पष्टीकरण छ, ‘स्वच्छ र योग्य नेता चुनिन्छन् भन्ने पनि शंका भएर समानुपातिकमा उठेको हुँ ।’
यता लिम्बुवान मुक्ति मोर्चालाई फरक तरिकाले अघि बढाइरहेका नेता हुन् पदम अधिकारी । कहिले फुट त कहिले जुटबाट गुज्रिरहेको रामभक्त कुरुंगवाङ नेतृत्वको मोर्चाका चर्चा कमाएका नेता हुन् उनी । पहिले मिडिया क्षेत्रसँग नजिक रहेर काम गरेको हुनाले पनि राजनीतिमा नआउन्जेल उनलाई धेरैले पत्रकार भनेर चिन्थे । मिडियालाई कसरी प्रयोग गर्ने भन्ने उनलाई राम्रो थाहा छ । तर चुनावमा प्रत्यक्षतर्फ इटहरीका कलाकार तथा व्यवशायी विशाल राईलाई प्रत्यक्षमा उठाएर आफूचाहिँ समानुपातिकमा उठे । अध्यक्ष, उपाध्यक्षहरु समेत समानुपातिकमा उठेका छन् । दलका शीर्ष नेताले मोर्चालाई अघि बढाउनुपर्ने भएकोले समानुपातिकमा उठेको उनले बताए ।
ठूला पार्टीका सामान्य नेताको लागि पनि बाध्यकारी भित्र परेको समानुपातिक साना दलका मुख्य नेताहरुको लागि भने आकर्षक प्रतिष्पर्धा बनेको छ । संविधानसभाको चुनावको मनोनयन दर्ताको समय सकिइसक्दा नेताहरुमा समानुपातिकबाटै भएपनि संविधानसभामा पुग्ने लालसा प्रष्ट रुपमा देखिएको छ । प्रत्यक्षतर्फ उपस्थिती मात्र जनाएर समानुपातिकमै भएपनि सांसद बन्ने योजना साना दलका अलि बाठा नेताहरुको छ ।
साना दलका बाठा नेताको प्राथमिकतामा सबैखाले मानिस परेका छन् प्रत्यक्षमा भिडाउनको लागि । कसैले खर्च गर्ने गाँठवालालाई प्राथमिकतामा राखेका छन् भने कसैले आदिवासी जनजाती । तर सबैको स्वार्थ यौटै छ, समानुपातिकबाटै संसद् पुग्ने ।
चुरेभावर पार्टीको हालत पनि त्यस्तै छ । बारम्बार फुटेर अहिले नाम मात्रको पार्टी बनेको चुरेभावरले पनि ‘मुर्गा’ खोजेर उठाएको छ प्रत्यक्षमा । राजनीतिको र नै नजानेकाहरुलाई पनि भिडाएको पार्टीका एक केन्द्रिय उपाध्यक्ष भन्दै थिए, ‘बल्ल बल्ल यौटा दलितलाई फकाएको छु, उम्क्यो भने त बिजोगै हुन्छ ।’ उनी आफै भने समानुपातिकमा उठ्दै छन् यो चुनावमा ।
अरु त अरु, राजावादी पार्टी भनेर चिनिने राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि समानुपातिकमै उठेका छन् । नेपालका मझौला दलका शीर्ष नेताहरु पनि प्रत्यक्षमा लड्न डराएको देखिएको छ । भर्खरै एमालेबाट छुट्टीएर नयाँ दल बनाएका संघीय समाजवादीका अध्यक्ष अशोक राई पनि समानुपातिकमै उठेका छन् ।
हुन त ठूला दलका नाम चलेका नेताहरु पनि समानुपातिकमा नउठेका होइनन् । तर उनीहरुमध्ये अधिकांश पालो नपाएर समानुपातिकमा थन्किएका हुन् । साना दलका नेताहरु भने त्यही समानुपातिकमा भिड्न खोज्छन् । ‘प्रत्यक्षमा आशै छैन । समानुपातिकबाटै भएपनि संविधानसभामा कसो नगइएला ।’ एक नेताले भने ।
यता खासै गतिविधि नगर्ने अति साना दलका नेताहरुले पनि समानुपातिकमा उठेर प्रत्यक्षको लागि भने नयाँ मुर्गाहरु खोजेका छन् । खर्च गर्ने, राजनीति अलिअलि बुझ्ने र दुई चार सय भोट भएको गफ हाँक्नसक्ने व्यक्तिलाई उनीहरुले उठाएका छन् ।
नेकपा एमालेका पाँच जना संगठित सदस्यहरु नै सुनसरीका विभिन्न क्षेत्रबाट साना दलमा प्रत्यक्ष उठेका छन् । राधा निरौला ब्राह्मण समाजबाट, भरतराज भट्टराई राप्रपा नेपालबाट, गोकुल थापा लेबर पार्टीबाट, दलबहादुर खड्का क्षेत्री समाज र अरबिन राई सद्भावनाबाट प्रत्यक्षतर्फ उठेका छन् ।
प्रत्यक्षमा उठाउँदा स्थानिय निकायहरुमा आफ्नो दललाई प्रतिनिधिको रुपमा पठाउने लालसा समेत हो । प्रत्यक्ष उठेपछि स्थानिय निकायहरुमा हुने परिषद्को सदस्य बन्ने प्रावधान छ । ‘एकातिर भोट तानेर आफू संसद् बन्ने र स्थानिय निकायहरुमा पनि अरुलाई प्रतिनिधि बनाउने योजना उनीहरुको हो ।’ एक निर्वाचन विज्ञले बताए ।
पूर्वन्युज डेस्क
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>