बेपत्ता खोज्न जाँदा आफै अलपत्र
‘हिमाल भाई, चतरा जानुपर्ने भयो, डुंगा पल्टेर ९० जना मानिस बेपत्ता भए रे, दुई जना मरेछन् ।’
कृष्ण दाईको फोनसँगै चलाइरहेको ल्यापटप बन्द गरेँ । कार्यालयको झ्याल ढोका बन्द गरेर चाबी लगाइदिएँ अनि सबै सामान कार्यालयमै भद्रगोल छाडेर क्यामेरा लिन घरतर्फ गएँ । त्यसबिचमा मैले टेलिफोनमार्फत् चतरा प्रहरीसँग बुझ्ने प्रयास गरेँ । तर फोनमा बोल्ने प्रहरीले कुनै भरपर्दो सुचना दिन सकेन । ‘उताबाट केही खबर आएको छैन सर, डुंगामा ७०–७५ जना चढेको भन्ने खबर आएको छ, दुई जना महिलाको शव फेला पर्यो रे भन्ने खबर छ, त्यो पनि मैले सुनेको मात्र हो, आधिकारीक होइन ।’
ब्रेकिङ न्युज दिने टेलिभिजन पत्रकारिताको झण्डै तीन वर्ष लामो करियरमा मैले सिकेको कुरा के भने, यदि दुई वा सोभन्दा बढी पक्षले कुनै कुरा हो भन्छन्, तर प्रमाणित छैन भने आफ्नो विवेकलाई प्रयोग गर्नुपर्छ । ९० जना बेपत्ता भए भन्ने पहिलो सुचना अनि ७० जना चढेको भन्ने अर्को सुचनाको बिचलाई मैले आधार मानेँ र टेलिभिजनमा टिपाएँ, ‘२ जनाको शव फेला, ९० जना सवार अनि ६८ जना बेपत्ता, बाँकी पौडेर निस्के ।’ यसरी तत्काल पुग्न नसक्ने ठाउँमा भएको घटनाको बारेमा अनुमानको भरमा सुचना सम्प्रेषण गर्नुको अर्को विकल्प मसँग थिएन । अर्को अपडेटमा बेपत्ताको संख्या ३० थियो भने आफैं पुग्दा १५ जना आधिकारीक बेपत्ता घोषित भए ।
...
हामी सप्तकोशी किनार पुग्दानपुग्दै डिआइजी उपेन्द्रकान्त अर्यालको टोली कोशीको एउटा भंगालो पार भयो । (सुनसरीको चतराबाट उदयपुरको मैनामैनीसम्म पुग्न सो ठाउँबाट दुई वटा भंगालो पार गर्नुपर्छ । पहिलो भंगालोको लागि २ वटा र दोस्रो भंगालोको लागि एउटा डुंगा सक्रिय थिए ।) पाँच मिनेटको ढिलाइले पहिलो टोलि छुटेकोमा थक्क थक्क परियो । डुंगा नचलेपछि अर्को विकल्पको खोजी गर्दा गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारीसहितको टोलीको अघि लागेर शशस्त्रको उद्दार टोली कोशी किनारमा देखियो । उनीहरु रबर बोट(हावा भरिएको डुंगा)मा हामीलाई पनि सँगै लैजान राजी भए । ‘तपाइलाई दोस्रो भंगालो त तार्दैनौं नि,’ लाइफ ज्याकेट लगाउँदै गर्दा कसैले सुचित गर्यो । वारीबाटै तस्वीर र भिडियो लिने बतायौं । हामी सवार डुंगा पानीमा हेलियो । कोशीमा यो मेरो तेस्रो र रबर बोटमा तरेको पहिलो अनुभव थियो । डुंगा चलाएको तस्वीर हामीले खिँच्न थालेपछि उद्दार टोली हौसियो । ‘तपाइहरुले खिँचेको तस्वीर र भिडियो हामीलाई पनि दिनुपर्छ है’ उनीहरुले प्रस्ताव राखेँ । हामीले सहमती जनायौं । त्यसपछि टोली संयोजक विमल खनालले भने, ‘तपाइहरु पनि हामीसँगै पारी नै जाउँ ।’
घटनास्थलको नजिक हुन पाउने भएपछि हामी खुसि थियौं । नदिको भंगालो फाटेर बिचमा बनेको टापुमा बाक्लै रुख थिए । सानोतिनो जंगलको बिचमा प्रहरीको टोलीले हावा भरिएको डुंगालाई टाउकोमा बोक्यो । हामी पछि लाग्यौं । केही बेरको हिडाईपछि अर्को भंगालो आइपुग्यो । डुंगालाई फेरी पानीमा राखियो । हामी चढ्यौं । प्रहरीले डुंगा चलाउन थाले । डुंगा दुर्घटनास्थल पुग्नै लाग्दा पानीको तीव्र दबाब हामीले पनि महसुस गर्यौं । डुंगा चलाउन हम्मे हम्मे परेको थियो ।
‘यहाँ त बालुवा पो रैछ,’ कम गहिरो ठाउँमा पुगेपछि डुंगा खियाउनुभन्दा उत्रेर डोर्याउनु ठिक ठाने उनीहरुले । केही बेरपछि नै पुनः चढे । डुंगा दुर्घटना भएको ठाउँमा पुग्यो ।
...
किनारमा महेन्द्रनगरकी चन्द्रकुमारी राईको लास थियो । वरीपरी स्थानिय र प्रहरी गरी डेढ सय जना जति थिए । डुंगा नदिको बिचमा दुर्घटना भएको थिएन । नदि किनारमै पुगेपछि एकैपटक सबै ओर्लिन खोज्दा डुंगा पल्टिएको थियो । डुंगा चालक र सहचालकहरु र पौडीबाज स्थानियले बचाउने प्रयास त गरे, तर दुई चार जनाले कतिलाई बचाउन सक्थे र ? नदीको तीव्र धारले केहीलाई आफूसँगै लग्यो ।
ओभरलोड र सुरक्षाका उपाय नअपनाउँदा डुंगा दुर्घटना भएको निष्कर्ष निकालियो । तर दुर्घटना हुँदा डुंगामा कति जना सवार थिए भन्ने यकिन तथ्यांक भने कतैबाट पाइएन । मानिसहरुले ६० देखि एक सय २५ जनासम्म रहेको कुरा सुनाए । तर सबै रे को पछि लागेका देखिन्थे । यकिन तथ्यांक नराख्दा चढ्नेकै टुंगो नलागेपछि हराउनेको संख्या पनि यकिन थिएन । अझ तल्तिर दुई चार जनाको लास भेटिएको हल्ला चल्दै थियो । दुर्घटनाको कारण र अवस्थाबारे जानकारी लिँदै गर्दा त्यही रहेका एक जना व्यक्तिले पारीतिर देखाएर भने, ‘त्यहाँ पनि यौटा लास जस्तो छ ।’
...
प्रहरी अधिकृतबाट अनुमती पाएपछि उद्दार टोलीसँगै हामी लास खोज्न नदीको मुल भंगालोमा डुंगासहित पस्यौं । पानीको छाल डरलाग्दो थियो । तर लाइफ ज्याकेट अनि आठ जना तालिमप्राप्त उद्दार टोली साथै भएकोले काठको डुंगा जस्तो असुरक्षा भने थिएन ।
अर्को छेउमा लास पाइएन । साँझ पर्दैथियो । शशस्त्र प्रहरीसँगै हामी पुनः चतरा नै फर्कने तरखरमा लाग्यौं । हामीलाई इटहरी फर्किने हतारो थियो । तर त्यतीबेलै उद्दार टोलीलाई फोन आयो । फोनमा बोलिसकेर टोली संयोजक खनालले हामीलाई भने, ‘सरहरु आउन त आउनुभयो । तर हामीलाई त रामपुर तिरै बस्नु भन्ने आदेश भयो ...’
...
चतरा पुग्न सरदर एक घण्टा, रिपोर्टिङ गर्दा दुई घण्टा र फर्किँदा एक घण्टा । यस्तै चार घण्टाको हिसाब गरिएको थियो । साढे तीन बजे इटहरीबाट चतरा हिडेका हामी फर्कने सुर कस्दासम्म साँझको ६ बजिसकेको थियो । हामीलाई पनि छिटो इटहरी फर्केर समाचार र भिडियो पठाउनु थियो । तर ‘आदेश’पछि हामी पनि अन्यौलमा पर्यौं । ठोक्सिलामा इन्टरनेट नपाइने लगभग पक्का भयो । दुई वटा भंगालोमध्ये हामी पहिलो र दोस्रोको बिचमा थियौं । दोस्रो भंगालो त तरेका थियौं तर पहिलो भंगालोमा डुंगा तयार थिएन । चतरा प्रहरीसँग फोनमार्फत् अनुरोध गरेपछि डुंगा आउने भयो । हामी उद्दार टोलीसँग बिदावारी भएर हिड्दै टापु पार गरी पहिलो भंगालो भेट्न पुर्वतर्फ बढ्यौं । केही बेर हिडेपछि झसंग भयौं । अवस्था हामीले सोचेजस्तो सजिलो थिएन ......
कोशीको बिच बिचमा वालुवा र ढुंगा थुप्रिँदा प्रशस्तै भंगालो बनेका थिए । हामी सुरुमा तरेको ठाउँबाट दुई सय मिटर दक्षिणमा उभिएका थियौं र त्यो ठाउँमा कोशीका भंगालो बढेर पाँच वटा बनेका थिए । पहिलो मा त डुंगा लाग्ने भयो, तर बिचका दोस्रो र तेस्रोमा के गर्ने ? अन्यौलमा परियो । हिडेर तर्न पनि आँट आएन । ‘अध्याँरो भइसक्यो, तपाइहरुलाई तार्न सक्दैनौं ।’ उद्दार टोलीले निर्णय दिए, ‘हामीसँगै ठोक्सिला बसौं, भोली विहानै कोशी ब्यारेजसम्म जानुपर्छ, रमाइलै हुन्छ ।’ तर हामीलाई भने भिडियो समयमा पठाउन नपाएको चिन्ता थियो । केही पार नलाग्ने भएपछि कोशी किनारमा छोडेको मोटरसाइकललाई स्थानियको सहयोगमा थान्को लगाउन लाएर हामी रामपुरतिर जान डुंगा चढ्यौं । किनारमा आइपुग्दा झमक्कै साँझ परिसकेको थियो । हामीलाई लाग्यो, ‘पहिलो टोलीसँग आउन पाएको भए, यतिखेर फर्किसकिने थियो । पाँच मिनेट ढिला भइयो ... ’...
रामपुर ठोक्सिलाको नाम धेरै पटक सुनेपनि पहिलोपटक पुग्दै थिएँ । झमक्कै अध्याँरो भइसक्दा शशस्त्र प्रहरीको टोली बेसक्याम्पमा ओर्लियो, हामीलाई भने पुर्व प्रहरी तथा अहिले बिमा अभिकर्ताको रुपमा काम गरिरहेका बाबुराम थापाले आफ्नो घरमा लिएर गए । बाटोमा उनी सुनाउँदै थिए, ‘१० जना मेरा बिमित परे, समयमै बिमा गरेका थिए र धन्न तिनले राहत पाउने भए ।’ साँझमा उनले सुनाए, ‘दुर्घटना भएको डुंगामा मानिस चढ्दै गर्दा कतैबाट एकोहोरो शंख फुकेको आवाज आएको थियो रे ।’भोलिपल्ट दुर्घटनामा परिवार सदस्य गुमाएका परिवारको प्रतिक्रिया लिन मन थियो । तर शशस्त्र टोलीलाई पछ्याउनुपर्ने बाध्यताका कारण हामी हतारमा नदि किनारतर्फ लाग्यौं । अधिकांश मानिस खेतीकिसानी गर्ने रामपुर ठोक्सिलाको हावापानी असाध्यै रमाइलो थियो । पहाडको फेदीमा खेतै खेतको बिचमा बनाइएका र सोलार जडान गरिएका घरहरु । शान्त र कर्मशील मानिसहरुको वस्ती हो रामपुर, जसलाई प्रकृतीले त असाध्य धनी बनाएको छ तर विकासले भने ठगेको छ । तथापी चतरा उत्तर कोशीमा मोटर चल्ने पुल निर्माणाधिन छ । मैले सोचेँ, ‘यो पुलले रामपुर ठोक्सिलामात्र नभइ उदयपुरको पुर्वी क्षेत्रलाई नै नयाँ जीवन दिनेछ अनि ज्यानमारा डुंगाहरुको प्रयोग पनि इतिहास बन्नेछ ।’
उद्दार टोलीको डुंगा भेट्न नदी किनार पुगिसक्दा नसक्दै फेरी पनि पछुतायौं । दुई मिनेट अघि नै डुंगा अघि लागिसकेको रहेछ । दौडेर भेट्ने प्रयास गर्यौं, तर हेर्दा हेर्दै हामीलाई पारी तारिदिने भनिएको डुंगा ओझेल पर्यो । हामी फेरी ढिला हुने भयौं । १० बजे अघि नै इटहरी पुग्ने हाम्रो योजना कोशीमा डुंगा पल्टेसरी पल्टियो ।
...
चाँडै रिपोर्टिङ सक्ने दुई वटा सम्भावनाहरु त पहिलो दिन नै सकिएका थिए । दोस्रो दिन चाँडै फर्किने सम्भावना पनि तुहिएपछि अब हामीसँग कोशी पार गर्ने दुई वटा विकल्प थिए । आँखाको अगाडी देखिइरहेको चतरा बजार पुग्न या त डिआइजीको टोलीसँग गाईघाट हुँदै महेन्द्र राजमार्ग भेटेर फर्किनुपथ्र्यो, या त उत्तरतर्फ डेढ घण्टा हिडेर झोलुंगे पुल तरी फेरी दक्षिणतिर चतरा बजार आउनुपथ्र्यो । पहिलो विकल्प अलि आरामदायी भएपनि ६ घण्टा बढी समय लाग्थ्यो । दोस्रो विकल्पमा भने हिडेर तीन घण्टा र बिचमा लिफ्ट दिने कोही भए त्यो भन्दा कम समयमै कोशी पार गर्न सकिन्थ्यो । हामीले हिडेरै जाने निधो गर्यौ । त्यतीबेलासम्ममा डिआइजीको उपस्थितीमा स्थानिय र प्रहरी मिलेर नदीमा डुबेको डुंगालाई किनारमा ल्याइसकेका थिए । एउटा डुंगाले पानीमा हुँदा दर्जनौंलाई तार्छ, तर त्यही डुंगालाई पानीबाट जमिनमा ल्याउन भने दर्जनौं मानिसले बल लगाउनुपर्छ । ज्यानमारा डुंगालाई नदि किनारमा ल्याएको दुर्लभ दृश्य क्यामेरामा कैद गरीसक्दासम्म बेपत्ता यात्रुहरु भने कोही पनि भेटिएका थिएनन् । जीवित फर्किने आशा थिएन, सबै लासको खोजिमा थिए ।...
उदयपुरका एसपी अजय भट्टराईसँग एकछिन कुराकानी गरिसकेर हामी बाटो लाग्यौं । प्रहरीको गाडीले कोशीमा बन्दै गरेको पक्की पुलसम्म पुर्याइदियो । त्यहाँपछि भने पैदलै उत्तरतर्फ हिड्यौं । कतै फराकिलो त कतै भर्खरै ट्रयाक खोलिएको बाटो अनि खोला पार हुँदै कोशीमा बनेको झोलुंगे पुलसम्म पुग्यौं । डुंगा चढ्न डराउने र कमै मात्र कोशी तर्नेहरु सोही पुलबाट घुमेर आवत जावत गर्छन् । दुर्घटनापछि त झन् घुमेरै भएपनि पुलको प्रयोग गर्न थालेका छन् ।
पुल पुग्दा नपुग्दै विराटनगरबाट पत्रकार खिलाराज ढकाल र रोशनहरी अधिकारी पनि भेटिए । चतरातर्फ पुल छेउमै मोटरसाइकल राखेर हिड्दै भएपनि घटनास्थल पुग्ने भनेर हिडेका रहेछन् । उनीहरुलाई त्यहाँबाट हिडेर ठोक्सिला बजार पुग्न पाँच घण्टा बढी समय लाग्थ्यो । कसैले लिफ्ट दिए भने पनि कम्तिमा दुई घण्टा । चारै जना फक्र्यौं । पुलमा थकाइ मारिरहेका केही महिला र बालबालिकाहरु भेटिए । उनीहरु दुर्घटनामा मृत्यु हुने पार्वती खड्काका साथीहरु रहेछन् । उनीहरु भन्दै थिए, ‘हामीले त घुमेर जाऔं भन्दै थियौं, उनी नमानेर आउने भइन्, दुर्घटनाको खबर सुनेर सल्याकसुलुक्क पर्यौं ।’...
पुल पार गरेर आधा घण्टा दक्षिण हिडेपछि चतराका हामीलाई लिन आएका डम्बर सिग्देल बाटोमा भेटिए । साढे १ बजे चतरा बजार पुगेर खाना खायौं । चतरा बजारबाट इटहरी लागेपछि भने मैले आनन्दको सास फेरेँ । एक छिनको ढिलाइले नजिकैका अवसर तुहिएर कोशी किनारमा अलपत्र पर्दाको क्षण जीवनभर भुल्न गाह्रै पर्नेछ ।
हिमाल दहाल, Shrawan 21
प्रतिक्रिया दिनुहोस् >>



