हाम्रो पार्टीको अध्यक्षलाई झोँक चल्यो भनेर ट्याङ्की बाटै पानी खनाएर त भएन नि

युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महेश बस्नेतसँग गरिएको कुराकानी ।

१) महिला युथ फोर्सको अधिवेसन गर्नु भयो हैन ?
भव्य गरियो ।
२) पार्टीको केन्द्रीय कमिटिले निर्देशन नमानी ?
पार्टी भनेको सिद्धान्त र विचारले चल्छ एमालेभित्र जनताको बहुदलीय जनवादले के कुरा आत्मसात ग¥यो भने, पार्टीको आन्तरिक लोकतन्त्रलाई, पार्टीलाई प्रतिश्पर्धाका आधारमा श्रेष्ठता हाँसिल गराउनु पर्छ । कम्युनिष्ट पार्टीको आन्दोलन शान्तिपूर्ण बनाउनु पर्छ । कम्युनिष्ट पार्टीको आन्दोलनबाट बन्दुक, खुकुरी बल प्रयोगको कुरा झिकिदिए क्या मदन भण्डारीले । कम्युनिष्ट पार्टीको अधिनायवादी सत्ता सन्चालन गर्ने कुरा झिकिदिनु भयो क्या मदन भण्डारीले त्यस मानेमा हामीले उहाँलाई ठूलो नेता मानेको हो । पार्टीले बाहिरको शक्तिसँग प्रतिश्पर्धा गर्ने नीति ल्यायो । तर उसको पार्टीको आन्तरिक जीवनमा प्रतिश्पर्धा गर्ने नीति ल्याउन नपाई उहाँ बित्नु भो । त्यसपछि केपी ओलीले के भन्नु भयो भने पार्टीभित्र पनि अब प्रतिश्पर्धा गर्नु पर्छ । पार्टीभित्र बहुपदीय प्रणाली जब पार्टी भूमिगत हुँदा फ्र्याक्सन बन्थ्यो र त्यो फ्र्याक्सनको इन्चार्ज तोकिन्थ्यो, सचिव तोकिन्थ्यो । त्यो फ्र्याक्सनले गरेको निर्णय जनसंगठनमा औपचारिक रुपमा पारित हुन्थ्यो । जस्तो माओवादीको वाइसिल त्यै ढंगले चलेको छ । त्यसलाई सहायक संगठन भनिन्थ्यो । पछि आठौँ महाधिवेसनमा के भनियो भने अब एमालेका जनसंगठनहरुलाई पार्टीले राजनीतिक र सैद्धान्तिक रुपले मात्र गाइड गर्ने सांठनिक गतिविधिहरु चाहिँ उसले स्वतन्त्र ढंगले गर्ने पास गरियो । आज हाम्रो हैसियत के हो भने, राजनीतिक र सैद्धान्तिक रुपले आज हामी नेकपा एमालेले भनेको सबै कुरा मान्ने ठाउँमा छौँ । तर सांगठनिक गतिविधि गर्ने कुरामा हामी स्वतन्त्र छौँ । नत्र किन हामीले युवा संघको विधान बनाउनु प¥यो, किन महाधिवेसन गर्नु प¥यो, केन्द्रीय कमिटि बनाउनु प¥यो ? हामीले केही पनि गर्न नपाउने हो र पार्टीका नेताले यो गर र त्यो गर भनेर निर्देशन गर्ने हो भने त, जनसंगठनको औचित्यमाथि प्रश्न उठ्छ । त्यही भएर यो चाहिँ एमालेभित्रको गम्भिर सैद्धान्तिक बहस हो । यो बहस चाहिँ अब उठाउँदै छौँ । नेकपा एमालेको अध्यक्ष कमरेडले वा कुनै पनि नेताले कार्यक्रम रोक्नुस् भन्ने सम्मको हस्तक्षेप गर्न मिल्दैन भन्ने निष्कर्ष हो त्यही भएर हामीले कार्यक्रम रोकेनौँ ।
३) युवा संघका उपाध्यक्षले काठमाडौँमा कार्यक्रम गर्ने भन्नु भाथ्यो उहाँहरुले त रोक्नुभयो नि यहाँ त दुइवटा फ्र्याक्सन देखियो नि हैन ?
हैन । दुईटा फ्र्याक्सन भनेर हेर्न मिल्दैन । किन भने वुटवल महाधिवेसनबाट निर्वाचित अध्यक्षले बैठक डाक्न लगाउने हो । महासचिवले बैठक डाक्ने हो । महाधिवेसनमा आएका सदस्यहरु अल्पमतमा परे भनेचाहिँ, मैले डाकेको बैठकमा म अल्पमतमा परे भने चाहिँ नैतिक संकट आउँछ । अब १ सय ३५ मध्ये ९२ जना उपस्थित हुने कुरामा १२ जनाले चाहिँ लिखित रुपमा जानकारी दिने कुराको मतलब १ सय ४ जनाको सहमति भइसके पछि अरु साथीहरुले बसेर जुन गतिविधि गर्नु भयो त्यो चाहिँ त्यो संगठनको आधिकारिक वैधानिकता हैन, समानान्तर गतिविधि हो । के भनिन्छ भने बहुमतको सदर अल्पमतको कदर । उहाँहरुका विचार भावनालाई हामीले कदर गर्ने हो र उहाँहरुले बहुमतको कुरा मानेर जानुपर्छ । त्यो विधि उल्लंघन गर्ने हो भने त अराजकता र अनुशासनहिनता हुन्छ । उहाँहरुले जे गर्नु भयो बेठीक गर्नु भयो । उहाँहरुले अझ डरलाग्दो कुरा त के गर्नु भो भने फेसबुकमा संगठनको माइनट काट्ने, पत्रकार सम्मेलन गरेर संगठनका नेताहरुलाई खुइल्याउने, चरम गुटबन्दीको नमुना प्रस्तुत गर्नु भो । यो केन्द्रीय कमिटिको बैठकले त्यस्ता कार्य रोक्न निर्देशन दियो । उहाँहरुले गरेका विभिन्न कमजोरीहरुका आठवटा बुँदामा स्पष्टीकरण माग गर्ने निर्णय ग¥यो र एक महिनाभित्र चित्त बुझदो जवाफ आएन र आत्मआलोचना भएन भने कार्बाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छौँ । त्यसो हुनाले दुईटा गुट र दुईटा समूह भन्नु मिल्दैन । त्यो समानान्तर गतिविधि हो ।
४) किन यस्तो हुँदैछ ? यसो हुनुमा के छ ? तपाईँको विश्लेषण चाहिँ के ?
पार्टी भित्रको महाधिवेसनको अलिअलि रिहर्सल पनि होला । हामीले नेताहरुलाई पार्टीको महाधिवेसनको रिहर्सल चाहिँ नगरिदिन अनुरोध गर्छौँ । दोस्रो कुरा कति साथीहरुको अलिकति महत्वकांक्षा पनि हो । उपाध्यक्ष भइयो । अध्यक्ष हुने रहर पनि जागेको होला । अझ उहाँहरु अध्यक्ष नै उठेको भए राम्रो हुन्थ्यो । उपाध्यक्ष भएर अध्यक्ष हुन खोज्यो भने चाहिँ सोखिन राजाको गधा र कुकुरको कथा जस्तो हुन्छ । घरमा चोर आयो भने कुकुरले नै भुक्नुपर्छ । त्यसैले सबै कुरा विधिअनुसार हुनुपर्छ भनेको हो ।
५) शनिबारदेखि महिला युथ फोर्सको दुई दिने अधिवेसन भनेर निर्धारण गरिएको थियो । एकै दिनमा सक्नु भयो । झडप होला भन्ठानेर त होइन नि ? पार्टीले नगर्नु भन्ने नै निर्देशन दिएको थियो ।
पार्टीको निर्देशन त नि हुटिट्याउँले आकाश थाम्छु भने जस्तो हो के । धरान नगर कमिटिले, १ नं. क्षेत्रीय कमिटिले युवा संघको केन्द्रीय अधिवेसन रोक्ने कुरा निर्देशन गर्न मिल्छ ?
६) पार्टीले युवा संघ चलाउने कि युवा संघले पार्टी चलाउने हो ? 
पार्टीले पार्टी चलाउने युवा संघले युवा संघ चलाउने ।
७) युवा संघले पार्टीको निर्देशन मान्दैन ?
पार्टीको निर्देशन मान्नु पर्ने ठाउँमा मान्नु पर्ने हो । नुहाउने भनेको बाथरुमा धारा खोलेर हो । ट्याङ्की बाटै त होइन नि ? पार्टीको निर्देशन मोर्चा संगठन प्रमुख शंकर पोख्रेल, शेरबहादुर तामाङ हुनुहुन्छ उहाँहरु मार्फत आउनु पर्छ । हाम्रो पार्टीको अध्यक्षलाई झोँक चल्यो भनेर ट्याङ्की बाटै पानी खनाएर त भएन नि । हाम्रो च्यानलबाट हामीलाई निर्देशन आउनु पर्छ ।
८) केपी ओलीलाई प्रधानमन्त्री बनाउने कुरो पनि गर्दै हुनुहुन्थ्यो  ।
हामीले माग ग¥यौँ पार्टीमा । युवा संघ नेपालले नेकपा एमालेका नीति, विचार र कार्यक्रमप्रति सुझाव पनि गरिरहने हुनाले निर्वाचनको अभियानहरुमा कसले नेतृत्व लिने, कमाण्ड लिने भन्ने कुरामा माग गर्न पाउँछौँ त्यो हाम्रो नैसर्गिक अधिकार नै हो । सबै जना नेतृत्वमा आउनु भयो । आगामि निर्वाचनको नेतृत्व चाहिँ केपी ओलिले नै गर्नुपर्छ । उग्रबामपन्थी विचार विरुद्ध संघर्ष गरेको नेता, युवाहरुको बीचमा लोकप्रिय नेता, अब टेष्ट हुन बाँकी एउटा मात्र नेता । भोलि एमालेमा केपी ओलिको नेतृत्व आउँदा  युवाहरुको पनि नेतृत्वमा टर्निङ पोइन्ट हुन्छ जस्तो पनि लाग्छ ।
९)युवा संघ भित्रै यसरी फुट छ भने, एउटाले अर्र्कोे पक्षलाई पृष्ठपोषण गर्ने अर्कोले अर्कालाई, अनि  संविधान सभाको निर्वाचनबाट ठूलो दल हुने सम्भावना छ त?  
हैन यो स्वभाविक प्रकृया हो । फुटबल गेम कहाँ हुन्छ यहाँ हामी एकअर्का बाजी थाप्छौँ पक्षधरता भन्ने कुरा मान्छेको जन्मजात नै आउने कुरा हो क्या । मार्सलआर्ट गेम छ नि उनीहरु रिङभित्र झगडा गर्छ । बाहिर आएर फेरि मिल्छ । एमालेको झगडा त्यस्तै हो । विजुली बत्तीको उदाहरण दिनुहुन्छ भने फेज हुन्छ न्युट्रल हुन्छ । दुइटा लाइन जोडेपछि फ्यान चल्छ । तर एमालेको समस्या भनेको चाहिँ बाहिर जोड दिने समस्या हो । फ्यानमा जोडे फ्यान चल्छ बाहिर जोडे पड्किन्छ । युवा संघको समस्या पनि युवा संघभित्रै जोड्नु प¥यो  पार्टीको अध्यक्षले । बाहिरतिर जोडदिनु भाथ्यो झन्डै पड्कियो । बल्लबल्ल हामीले छुटायौँ ।
१०) युवा संघ हुँदा हुँदै युथफोर्स पनि बनाउनु भो । युथफोर्स किन चाहियो ? “एभ्री बुथ वान युथ” भन्दै हुनुहुन्छ । फेरि वाइसिल पनि खटाइने कुराहरु सुन्नमा आछ झडप त हुने हैन नि ?
वाइसिएललाई परिचालन गर्ने भन्ने कुरामा मेरो आपत्ती छैन । एउटा पार्टीले जित्ने अर्को पार्टीलाई हराउने राजनीतिको धर्म हो । तर सम्झाएर बुझाएर कानुनी रुपमा काम गर्ने हो । न कि धम्काएर, कुटेर, लुटेर वाइसिएलको हैसियत मलाई लाग्दैन कि त्यसो गर्ने पक्षमा छ । ती दिन गए यी दिन आए भन्ने हाम्रो उखान छँदैछ । दोसो कुरा, युथ फोर्स मूलतः २ कारणले बनाएको हो ।  एउटा महिला माथि भएको हिंसा समाचारहरुमा पनि आएका छन् । एक किशोरी माथि बलात्कार, बोक्सीका आरोपमा हत्या । एक्काइसौँ शताब्दीमा आएर पनि यो समाजले बोक्सी भएका नाउँमा दिसा खुवाउँदैछ । दाइजो नल्याएका नाउँमा आगो लाउँदैछ । यो कुरालाई हामीले रोक्नुपर्छ । यो कुरालाई रोक्न महिलामा रहेको प्रतिरोधी क्षमता, महिलाहरुमा रहेको मौनताको मनस्थिति तोड्नुपर्छ र महिलाहरुमा प्रतिरोधी क्षमता बढाउनु पर्छ भन्ने हाम्रो निष्कर्ष हो । दोस्रो निर्वाचनमा  ५० प्रतिशतभन्दा बढी मतदाताहरु महिला हुनुहुन्छ । महिलाहरुमा जागरण, चेतना नेकपा एमालेका बारेमा दिनुपर्छ र उहाँहरुले भोट हाल्नुहुन्छ । त्यो अभियान कसले गर्ने त भन्दा, त्यो अभियान पुरुषहरुले भन्दा महिलाहरुले गर्दा राम्रो हुन्छ । बुथमा केन्द्रीत किन गर्नु पर्दैछ भने, २०६४ को निर्वाचनको हाम्रो अनुभव के रह्यो भने, घरदेखि बुथसम्म आउँदा पनि मान्छेले म भोट हाल्न हैन लडाइँ गर्न जाँदैछु भनेजस्तो अनुभव गर्नुप¥यो । मलाई जे पनि हुन सक्छ भन्ने भयग्रस्त जुन वातावरण बनाए माओवादीले त्यसलाई रोक्न हामी बुथसम्म जानुपर्छ । युथ फोर्स चलाउँछौँ । युथफोर्सले स्वयमसेवी भूमिका निर्वाह गर्छ । बलजफत गर्दैन ।
११ ) आउने संविधान सभाको निर्वाचनमा पार्टीलाई बहुमतले विजयी गराउन सैद्धान्तिक नीतिहरु छ युवा संघको ?
नेकपा एमालेलाई बहुमतले जिताउनु पर्छ । महाधिवेसनको बारेमा धेरै चर्चा गर्नु हुँदैन । जनताको बहुदलीय जनवाद बेठीक हो भनेर मदन भण्डारी बन्ने साथीहरुको प्लान अहिले गर्नु भएन महाधिवेसन मै गर्ने मदन भण्डारी बन्ने साथीहरुलाई, जनसंगठन भित्र गिद्धे नजर लगाउने आफू प्रतिकूल हुने जनसंगठन माथि,  यो युवा संघ नेपाललाई विघटन गर्ने डिजाइनरको गेम हो के । अब म यो पार्टीको अध्यक्ष हौँला भन्ने कल्पना गर्ने अनि को छ त बाधक भन्दा युवा संघ बाधक, अनि सबभन्दा पहिले यसैलाई हान्ने । जंगलमा बाघले सिकार ग¥यो भने मृगको घाँटी नै समाउँछ नि, त्यस्तै महत्वपूर्ण र संवेदनशील अंगमा प्रहार गर्ने केही कोरा कल्पना गरेका साथीहरुले हाम्रा विरुद्धको संवेदनशील अंग हो भन्ने ठानेर हान्न लागेको हो । शब्द नराम्रै भएपनि गिरिजाप्रसाद कोइरालाले भन्थे नि तिमीहरुले मेरो पुत्ला जलाएर भुत्ला पनि झर्दैन, त्यस्तै ती साथीहरुको ग्राइनडिजाइनले युवा संघलाई केही पनि छुँदैन ।
१२) तपाईँले जनताको बहुदलीय जनवादको भावनाअनुसारको अघि कुरो गर्नु भो, मदन भण्डारीले कम्युनिष्ट पार्टीबाट बन्दुकको गोली निकालिदिनु भो । यो भावना अनुसार युवा संघ चल्न सकेको छ ? यो गुण्डा संघ भन्ने गरेको पनि सुनिन्छ ।
युवालाई जतिलाई गुण्डा देख्ने, युवालाई जहिलै कुन्डलेमुन्डले देख्ने अनि गुन्डाहरुको हरुको स्कटिङमा हिड्ने अनि युवाहरुलाई प्रतिरोध गर्न सिकाएर नेता बन्ने जुन एमाले भित्र रोग छ, त्यो चाहिँ बेठीक हो दोस्रो कुरा चाहिँ युवा संघ वाचक, उपवाचक र पण्डितहरुको संगठन होइन। युवा भनेपछि उमेर हुन्छ । कपाल पाल्छ, फेसन गर्छ । मुन्द्रा लाउँछ । उसको चाहाना इच्छा पनि हुन्छ  र युवालाई गुन्डा कसले बनायो त ? महेश बस्नेतले गुन्डा बनाको हो युवालाई ? राज्यले युवालाई शिक्षा दिँदैन, रोजगार दिँदैन । पढेको युवालाई वास्ता गर्दैन ।४ लाख युवा मार्केटमा आइराछ । ६० हजारभन्दा बढी युवासँग रोजगार छैन । गभरमेन्टमा बस्नेहरुले भ्रष्टाचार गरिराछ । माओवादी १८ अर्ब लडाकुको नाममा खान्छ । ४ अर्ब दिँदैन । २ अर्ब स्वरोजगार कोषको नाममा खान्छ । खुमबहादुर खडका करोडौँ खान्छन् । गोविन्दराज जोशी करोडौँ खान्छन् । लाइसन्स लाएका, जनाइ लाएका, सेतो सुट लाएका गुन्डाहरु खोज्नुपर्छ के अब । युवा त निराश छ, राज्यले वास्ता गर्दैन। माओवादीले कि गाउँ छोड कि हाम्रो पार्टीमा लाग भनेर मान्छे भागेका छन् शहर पसेका छन् अनि गुन्डागर्दी गर्दैनन् । ती गुन्डागर्दी गर्ने युवाहरुलाई के गर्ने लखेट्ने कि ? देशनिकाला गर्ने कि ? उनीहरुलाई त सम्झाउन प¥यो, सुधार्न प¥यो, अप्सन दिन प¥यो, भूमिका दिन प¥यो, उर्जा दिन प¥यो, आशा दिन प¥यो । निराश छ, लागुऔषधमा लागेको छ। राज्यको दायित्व होला नि त त्यसलाई सम्झाउने । अनि अर्बौको कमिशन खाने नेता चैँ गाडी स्कटिङ गरेर हिँड्छ अनि एउटा युवालाई विभिन्न खाले आरोप लाउने यो कुरा बेठीक हो ।
१३) बेरोजगार युवालाई रोजगारी दिन युवा संघले सैद्धान्तिक नीति बनाएको छ ?
हामीले विधान मै उल्लेख गरेका छौँ । अब राजनीति गर्ने युवाहरुले मेरो पेशा राजनीति लेख्न पाइँदैन  । उनीहरुले अन्य पेशा गर्नै पर्छ  । युवा संघ मात्र त्यस्तो संगठन हो जसले आम कार्यकर्ताहरुले व्यवसायप्रति उत्प्रेरित गर्छ । धरानकै कुरा गर्ने हो भने ज्ञानदीप लिम्बूको आफ्नै व्यवसाय छ । हेम लिम्बूले अहिले भर्खरै पर्यटन व्यवसाय र साइक्लिङलाई व्यवसायिक रुपले अघि बढाइरहनु भएको छ । उहाँ पेशाले इन्जिनीयर पनि हुनुहुन्छ । हिजो मात्र माउन्टेन बाइकको पूर्वान्चल मै पहिलो पटक सो रुम खोल्नु भएको छ । युवा संघका कार्यकर्तालाई व्यवसायिक बनाउन पहल गरिरहेका छौँ । राज्यलाई हामी दबाब दिन्छौँ । साथै राज्यलाई हामी सहयोग पनि गर्छौँ किनकि हामी विद्रोही शक्ति होइनौँ । कसरी भने राज्यले गर्ने विकास निर्माणमा हामी युवालाई परिचालन गर्छौँ । विकास निर्माण, सडक निर्माण लगायतका कार्यमा हामीले युवालाई परिचालन गर्ने नीति बनाएका छौँ । राज्यले युवाहरुलाई काम पनि दिनु पर्छ । राज्यले युवाहरुलाई संयन्त्रका रुपमा लिनुपर्छ । हामीले युवाहरुका लागिएक क्षेत्रमा युवाहरुका लागि एक सहकारीको अवधारणा ल्याएका छौँ। बेरोजगार युवालाई तालिम दिने नीति लागु छ । जुन काठमाडौँबाट सुरु भइसकेको छ । युवाहरुका लागि सबै सम्भावनाको खोजी गरेका छौँ ।
प्रस्तुति : नवराज विष्ट


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>