आँखा उपचार गर्दा थलिएपछि बैतर्नी

आँखाको अपरेशनपछि १३ जना सिकिस्त : तीन जनाको आँखा झिकियो : अन्य तीनको झिक्ने तयारी : तीन जना गम्भीर बिरामी


‘ठम्ठमी हिड्ने बुवा आँखाको अपरेशनपछि थलै पर्नुभयो,’ क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरी
का हवल्दार समेत रहेका मोरंग दुलारीका भीमप्रसाद दाहालले भने, ‘औषधीकै गलत प्रयोगले गर्दा बुवाको आँखा कामै नलाग्ने भएर झिक्नुपर्यो ।’ शुक्रबार वुवाको वैतरणी गराएका दाहालले भने, ‘अपरेशनको एक महिनामै बुवा धेरै गलिसक्नुभयो ।’
आँखामा समस्या देखिएपछि निको हुन्छ कि भनेर गोल्छा आँखा अस्पतालको शिविरमा अपरेशन गराएका उनका वुवा भवानीप्रसादलाई अपरेशन लगत्तै आँखामा समस्या देखियो । टाउको दुख्ने, पैताला पोल्ने, आँखाबाट लगातार पानी बगिरहने समस्या देखिएपछि गोल्छा आँखा अस्पताल नै पुर्याउनुपर्यो । अस्पतालमा एक साता राखेपनि चिकित्सकले औषधी मात्र थपिदिएको तर समस्या झन् बल्झिएको आरोप लगाए ।
गोल्छाले निको हुन्छ भन्दै विभिन्न औषधी प्रयोग गर्न लगाएको बताउँदै भने, ‘निको नभएपछि विराटनगर आँखा अस्पताल तथा तापडिया आइ केयरमा जचाउँदा आँखा कामै नलाग्ने भइसकेको छ, झिकेरै फाल्नुपर्छ भने ।’ आँखाको समस्या बल्झिँदै जाँदा मष्तिष्कमै समस्या देखिने चेतावनी चिकित्सकले दिएपछि वुवाको आँखा झिकेको बताउँदै दाहालले भने, ‘चिकित्सककै लापरवाहीले बिरामीलाई प्रयोगशाला बनाइयो ।’
गत असार ८ गते मोरंगको सुन्दरपुरमा विराटनगरको रामलाल गोल्छा आँखा अस्पतालले आयोजना गरेको आँखा शिविरमा सहभागिमध्ये ४८ जनाको आँखाको शल्यक्रिया गरिएको थियो । अस्पतालमै गरिएको शल्यक्रियापछि १३ जनामा झन् समस्या थपिएको थियो । मोरंगका सुन्दरपुर तथा दुलारी गाविसका १३ जना अपरेशनपछि झन् सिकिस्त बनेका छन् । निरन्तर आँखा र टाउको दुख्न थालेपछि तीन जनाको आँखा झिकेरै फालिएको छ भने आँखाको बिरामीले गर्दा केही सिकिस्त बनेर ज्यानै गुमाउने अवस्थामा पुगेका छन् ।
सुन्दरपुर ८ का भवानीप्रसाद दाहाल, सोही ठाउँकी टिकादेवी पौडेल र दुलारी ३ का मुगालाल चौधरीले आँखा झिक्नुपरेको छ भने अन्य तीन जनालाई समेत आँखा झिक्न चिकित्सकले सुझाव दिएका छन् ।
आँखा झिकाएका दाहाल, फोतरेन चौधरी, मनोरथ दाहाल सिकिस्त बनेका छन् । अस्पतालले बिरामी उपचारमा लापरवाही गरेको सम्बन्धित परिवारले आरोप लगाएको छ । अपरेशनअघि घरको सबै काम गर्ने आफ्नी आमा फोतरेन चौधरी अपरेशनपछि दिसापिसाब गर्न समेत जान नसक्ने गरी सिकिस्त बनेकी सुन्दरपुरकी धर्म चौधरीले भनिन् । शुक्रबार उनको घरमा छिमेकीहरु भेला भएका थिए । ‘अघि गइसकेकी थिइन्, कसरी कसरी फर्किइन् ।’ छेउमै बसेकी उनकी छोरीले भनिन्, ‘अब मेरी आमा बाँच्दैन ।’
समस्या देखिएका बिरामीहरुलाई अस्पतालले राम्रो व्यवहार नगरेको समेत बिरामीको गुनासो छ । समस्या देखिएर उपचार गराउन लाँदा सिफ्ट इन्चार्ज भवानी चौधरीले गाली गरेको फोतरेनकी छोरी धर्मले गुनासो गरिन् । भनिन्, ‘के यहाँ मर्न आएको भनेर गाली गरेरै फर्काइदिए, आमाको हेरचाह गर्ने म मात्रै छु, मजदुरी गर्ने आमा थलिएपछि परिवारमा समस्या छ ।’
यता अपरेशनमा संलग्न डा. नारायणी रोक्काले भने गर्मी मौसममा आँखामा इन्फेक्सन भएको प्रतिक्रिया दिएकी छिन् । घटनाको विषयमा छानविन गर्ने मोरंगका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताए ।
सुनसरी, साउन १८
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>