हास्दै छ धरान, रुदैछ बक्लौरी

- कभर स्टोरी

धरान नेपालकै सुन्दर र सफा नगरीको रुपमा परीचित छ। धरानको यो परिचय बनाउन मुख्य भूमिका यहाँको सरसफाइले खेलेको छ। तर, नगर सफा बनाउन धरानबाट उठाइएको फोहोर अब्यबस्थित रुपमा सिधै खोलामा फालिने गरेको छ। जसका कारण तल्लो तटिय छेत्रका केही बस्तिहरु उठिबास हुने खतरामा छन। प्रस्तुत छ त्रिभुबन बिरही र नबराज बिष्टको  स्थलगत रिपोर्ट ।       



बक्लौरी गाविस ३ नुनी गाउँ बस्ने पासाङ शेर्पा यति बेला बक्लौरी छाडेर आफ्नो पुरानो घर खोटाङ फर्किएका छन् । उनी खोटाङ फर्कनुमा मुख्य कारण हो, सफा हुनका लागि धरानले सेउती खोलामा फालेको फोहोर । उनले दुःख सुख गरेर कमाएको पैसाले नुनीगाउँमा १८ कट्ठा जग्गा किनेर घर बनाएका थिए । उनले घर त बनाए तर जोडेको कोठेबारीमा भने न सागसब्जी रोप्न पाए न त्यसको उचित सदुपयोग नै गर्न पाए । पाउन पनि कसरी, वर्षाको बाढीले धरानभरिको फोहोर थुपारिदिएपछि ।

३ वर्षअघिको बाढीले खेती स्वाहा पारेपछि निरास भएर बसेकी बक्लौरी–३ कै देवकुमारी मगर  यसपालि त मिहिनेत गरी अन्न उब्जाउँला भन्ने सोचले धान रोप्ने तयारी गर्दै थिइन् । तयारी गर्दागर्दै बाढी आएर उसैगरी धरानको फोहोर  थुपारी दियो । उनको धान फलाउने सपना यसपाली पनि अपुर रहयो ।
धरान नगरपालिकाको त्र्याक्टर् सेउती खोलामा फोहोर फाल्दै । तस्बिर : सन्जिव वाग्ले  

बस्तु बाख्राको सिनो गनाएर बस्नै भएन, बाहिरबाहिरै चिउराभुजा खाएर ३ रात काट्नु परेको गीतादेवी चौधरीले सुनाइन् । स्थानीय आदर्श उच्च माविको २ बिघा ६ कट्ठा जग्गा अधियाँ कमाउँदै आएकी गीतादेवीले खेतमा थुप्रिएको फोहोर उठाउन १० जनालाई २ दिन लगाएर २ सय ५० रुपैयाँले “रोजी” (ज्याला) दिनु प¥यो । गीतादेवीले १० ठाउ भन्दा बढी फोहोर थुपारेकी छन् । फोहोर थुपार्दा ५ जनाको हात खुट्टामा सिसा र सिरिन्जले काटेर घाइते भएपछि उपचार गर्नुपरेको उनी बताउँछिन् । उनको पाच दिनमा सकिने खेतको काम १५ दिन भन्दा बढी समय लागिसकेको छ । थुपारेको फाहोर मंसिरमा धान काटे पछि उठाउने उनको योजना छ । यी त बक्लौरी, सिंगीया र डुम्राहा गाविसका पीडित प्रतिनिधि मात्र हुन् । 

धरान नगरपालिकाबाट निस्कने फोहोरलाई सेउती खोलामा बगाउने नगरपालिकाको रबैयाका कारण बक्लौरीसहित सिंगिया र डुम्राहा गाविस डम्पिङ साइडमा परिणत हुँदै गएका छन् । जसका कारण खोलाले फोहोर बगाएर बक्लौरीका ३० घर मुसहर बस्ती प्रत्यक्ष जोखिममा परेका छन् । त्यसैगरी  सिंगीया र डुम्राहा  गाविसका  सर्वसाधारणका घर र खेती योग्य जमिनमा थुपारिदिने गरेकोले सयौँ बिघा जमिन प्रदूषित भएको छ । बक्लौरीमा मात्रै पासाङ शेर्पाको १८ कट्ठा, देवकुमारी मगरको ६ कट्ठा, गीतादेवी चौधरीले कमाउँदै आएको २ बिघा ६ कट्ठा र ३० घरपरिवार भएको मुसहर बस्ती र सिंगो बक्लौरी बजार नै फोहोर थुप्रिएर डम्पिङ साइड बन्दै छ ।
 खोलाले बगाएर मिनिरल वाटरका बोतल, चकलेट चाउचाउका खोल, स्लाइनपानीका बोतल, कन्डममा टुक्रा, सिरिन्ज, सिसाका बोतललगायतका गम्भिर प्रकृतिका फोहोरका कारण माटोमात्र प्रदूषित भएको छैन त्यहाँका जनता विस्थापित नै हुने अवस्थामा पुगेका छन् । नेपाली काँगे्रसका गाउँ इकाइ सभापति उपेन्द्र कटुवाल भन्छन्, “फोहोर कै कारण विस्थापित हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुँदैछ ।” खोलाले मरेका बस्तु बाख्रा, राँगा सुँगुर र मानवीय अंगसमेत बगाएर ल्याउने गरेको  स्थानीय मनमाया खत्री बताउँछिन् । भन्छिन्,–“मरेका राँगा, सुँगुर, त्यस्ता फोहोर त कति आउँछन् कति, कहिलेकाहीँ त  मान्छेका हात र टाउको पनि बगेर आउँछ, त्यसको दूर्गन्धले बसिसक्नु हुँदैन ।”

बाढीसँगै आएको फोहोरका कारण बक्लौरी गाविसका  १,२,३, ६ र ७ नं. वडा प्रत्यक्ष प्रभावित भएको  काँग्रेसका स्थानीय नेता उपेन्द्र कट्वालको भनाइ छ ।  प्रशासनिक रुपमै  धरान नगरपालिकाले डम्पिङ साइड व्यवस्थित गर्नुपर्ने उनी बताउँछन् । भन्छन्, “ नगरपालिकाले फोहोर व्यवस्थापन गर्नैपर्छ साथै विपी प्रतिष्ठान पनि यसमा दोषी छ । स्वास्थ्य संस्थाले मानवीय स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी फोहोर फ्याल्नु आफैँमा गैरजिम्मेबारी हो ।”

यता, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता प्रा.डा. पशुपति चौधरीले प्रतिष्ठानको फोहोर त्यसरी सेउती खोलामा नफालिएको बताए । प्रवक्ता चौधरीले दिएको जानकारीअनुसार विपी प्रतिष्ठानबाट मेडिकल वेस्ट (अस्पतालबाट निस्कने फोहोर) र होस्टल तथा क्वाटरबाट निस्कने घरायसी फोहोर गरी दुई किसिमका फोहोरहरु निस्कने गरेको छ । त्यसमा विश्व स्वास्थ्य संगठनको नियमअनुसार विपी प्रतिष्ठानभित्र मेडिकल वेस्ट  डिस्पोज गर्नका लागि “इन्सनेटर”को व्यवस्था गरिएको छ । “मेडिकल वेस्ट बाहिर जाँदैन तर होस्टल र क्वाटरबाट निस्कने फोहोरका विषयमा, मलाई जानकारी छैन ।” चौधरी भन्छन् ।

बक्लौरी गाविसका पूर्व गाविस अध्यक्ष तथा नेकपा एमालेका स्थानीय नेता श्यामनारायण राजधामी धरानको फोहोर व्यवस्थापनका लागि धेरै पहिलेदेखि झक्झक्याएकोे बताउँछन् ।  “धरानले फोहोर व्यवस्थापन गर्नुप¥यो भन्दै बि.सं २०५४ सालमै हस्ताक्षर अभियान समेत गरी लिखित जानकारी गरायौँ ।” उनी भन्छन्, “हामीले धरानलाई बासमती धानको चामल दिन्छौँ, दूध उत्पादन गरेर दिन्छौँ, सागसब्जी दिन्छौँ धरानलाई सफासुन्दर बनाउन सहयोग गर्छौँ तर धरानले हामीलाई फोहोर उपहार दिने ?” उनी प्रश्न गर्छन् । उनी थप्छन्, “हामीले योभन्दा अघि पनि सहयोग गर्छौँ भनेकै हो । धरानको फोहोर व्यवस्थापनमा सहयोग गर्न डम्पिङ साइड पहिचान गर्न र जग्गा उपलब्ध गराउन सहयोग गर्छौँ पनि भनेकै छौं, तर धरान नगरपालिकाले यसलाई वास्तै गर्दैन ।”

इलाका स्वास्थ्य चौकी बक्लौरी प्रमुख हरिदेव ठाकुरले फोहोरकै कारण स्थानीय सर्वसाधारणमा विभिन्न संक्रमणहरु भैरहेको जानकारी दिए । “ज्वरो, झाडापखाला, पिप भएको फोखा आउने, टाइफाइट, आउ जस्ता रोगहरु देखा पर्न थालेका छन् ।” ठाकुरले भने ।

धरान नगरपालिकाका पूर्व मेयर मनोजकुमार मेन्याङ्बोले आफू मेयर हुँदा ल्याण्डफिल्ड साइडको खोजी गरेको बताए । उनका अनुसार त्यसबेला धरान, इटहरी, दुहवीलाई पनि हुने गरी संयुत्त नाममा ल्याण्डफिल्ड साइड बनाउने योजना अघि सारिएको थियो । तर पुरा हुन सकेन । अब धरानले व्यवस्थित डम्पिङ साइडको व्यवस्था गर्ने पर्छ मेन्याङ्बोले भने ।

धरान नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडा  यस विषयमा जिज्ञासा राख्दा “यस विषयमा मलाई के थाहा ? सुनिल जी सोध्नुहोस्” भन्दै पन्छिन खोजे । उनलाई पुनः जिज्ञासा राख्दा भने “त्यही फोहोर पसेको कुरा हैन, अस्ति डेलिगेशन आको सुनेको थें अरु थाहा छैन ।” भन्दै गैह्र जिम्मेवारपूर्ण जवाफ दिए । धरान नगरपालिकाका समाज कल्याण अधिकृत सुनिल नेपालले बक्लौरीवासीको समस्या जटिल रहेको भन्दै माथिल्लो तहबाट नै समाधान खोजिनु पर्ने बताउँछन् ।

स्थानीय कांग्रेस नेता रामराज महतले धरान नगरपालिकाले फोहोर व्यवस्थापन गर्नुपर्ने, फोहोरबाट प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन स्वास्थ्य उपचारको व्यवस्था मिलाउनु पर्ने लगायतका मागहरु अघि सारिएको बताए ।

(बिएसी न्युज )

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>