कृष्ण दासलाई चेतना भया !

बिचार 

नेपालकै ठूलो सिंचाई आयोजना सुनसरी–मोरङ सिंचाई आयोजनाको ३७ विघा जग्गा अतिक्रमणमा परेको तथ्य सार्वजनिक भएको छ। जग्गा अतिक्रमणका कारण आयोजनाको सञ्चालन र क्षमता विस्तार कार्यमा गम्भिर असर पुगेको छ। आयोजनाको चतरामा रहेको कुल ३७ विघा जग्गा मध्ये  १२ विघा जग्गा कृष्ण दास (रामानन्दचार्य सेवा पीठ) ले अतिक्रमण गरी करोडौंको स्थायी संरचना निर्माण गरेको छ। संरचनाका कारण आयोजनाको नहरमा बालुवा छान्ने ड्रेजर सञ्चालन, निरिक्षण गर्ने, पाइप पल्टाउने र नमुना संकलन गर्ने कार्यमा बाधा पुगेको छ।

सुरुमा अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्ने भनेर बसेका कृष्ण दासले आयोजनाको उक्त जग्गा पीठकै नाममा भोगचलन गर्ने प्रक्रिया थालेको दावी गरेका छन्। राजनीतिक नेतृत्वको आडमा उनले सो जग्गामा कब्जा जमाएर बसेका कारण सिंचाई आयोजनाको क्षमता विस्तार गर्न कठिनाई भएको छ। यदी उक्त आयोजनाको क्षमता विस्तारमा अवरोध भइरहने हो भने आगामी केही वर्ष भित्रमा सो आयोजनाद्वारा सिंचित ६८ हजार हेक्टर खेति योग्य जमिन मरुमूमिमा परिणत हुने निश्चित छ।

अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्ने नाममा राजनीतिक नेतृत्वको आड लिई राज्यको सम्पत्ति माथिको यो नाङगो हस्तक्षेपलाई जायज मान्न सकिन्न। राजनीतिक, सामाजिक र धार्मिक नाममा राज्यको सम्पत्ति माथि गिद्धे दृष्टि लगाउनु सर्वथा अनुचित कार्य हो। यस्ता कृयाकलापलाई कुनै पनि बहानामा प्रश्रय दिनुले राजनीतिक नेता देखि कथित समाज सेवीहरुसम्मको नियत प्रष्ट भएको छ। उता राज्यकोषबाट आफूले ब्रम्हलुट गर्नु, यता आफ्ना आसेपासेलाई राष्ट्रको सम्पत्ति माथि कब्जा जमाउन प्रश्रय दिनु कुनै पनि नैतिकवान नेताको आचरण हुन सक्दैन। आयोजनाको जग्गा अतिक्रमणबारे जल उपभोक्ता समिति, सिंचाई विभाग, प्रहरी प्रशासनलाई जग्गा खालि गराउन आग्रह गर्दा पनि सम्बन्धित निकायले आवश्यक कारवाहीको प्रक्रिया अघि नबढाउनुले उनीहरुको नियत माथि पनि आम सर्वसाधारणले प्रश्न गरिरहेका छन्।

रामानन्दचार्य सेवा पीठको नाममा कृष्ण दासले कब्जा गरेको जग्गा सम्पूर्ण नेपालीको साझा सम्पत्ति हो। राज्यको लाचारीको फाइदा उठाएर सार्वजनिक सम्पत्ति हडप्न खोज्ने कृष्ण दासको नियत सफा देखिंदैन। उनकै भनाइलाई आधार मान्दा सो जग्गा उनीद्वारा संचालित पीठकै नाममा नामसारी गर्ने
(‘माथिबाट भोग चलनको प्रक्रिया’) मा रहेको छ। अर्काे पाटो, चतरामा कृष्ण दासले निर्माण गरेको संरचनाका लागि भएको लगानीको बारेमा पनि राज्यले छानविन गर्नुपर्छ। कृष्णदासले सञ्चालन
गरेको शिविरको यथार्थ आयव्यय सार्वजनिक नगरेको जनगुनासो छ । सिंचाई आयोजनाको जग्गामा कृष्णदासले जे गरिरहेका छन्। त्यसलाई उचित मान्न सकिदैन भन्ने हाम्रो ठहर हो।

सिंचाई आयोजनाको अतिक्रमित जग्गा कृष्ण दासले नछाड्नु भनेको सनुसरी मोरङ सिंचाई आयोजना द्वारा सिंचित  भूमिको जनताको अधिकार माथिको प्रहार हो। यसले कालान्तरमा पूर्वाञ्चलको कृषि क्षेत्रलाई नै तहस नहस बनाउने कुरालाई कसैले नकार्न सक्दैन।

तसर्थ, कृष्ण दासद्वारा संचालित पीठले अहिले सम्म आफूलाई भोगचलन गर्न दिएकोमा आयोजना प्रती   कृतज्ञता व्यक्त गर्दै विना सर्त आयोजनाको जग्गा खाली गरिदिएर आयोजनाको क्षमता विस्तारमा सहयोग गर्नुपर्छ। यसैमा सबैको भलो छ। कृष्ण दासलाई चेतना भया !

-सन्जिव वाग्ले

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>