एक महिने रोजाका विशेषताहरु
इस्लाम धर्मावलम्बीहरुको रमजानुल मुबारक महिनाको रोजा (उपवास) आज बिहिवार देखि नेपालमा पनि सुरु भएको छ । रमजानुल मुवारकको रोजा इस्लामी क्यालेण्डर अनुसार नवौँ महिना हो । आठौँ महिनाको अन्तिम दिन सुर्यास्त पश्चात आकाशमा चन्द्रमा देखिए पछि रमजानुल मुवारकको महिना सुरु हुन्छ । रमजानुल मुवारकको महिनाको अनेकौं विशेषताहरु छन् । जसमध्ये इस्लामका पाँच आधार स्तम्भ
हरुमध्ये एक रोजा अर्थात् उपवास पनि हो । रमजान महिना भरी विहान सुर्योदय हुनुभन्दा करिब डेढ घण्टा पहिलेदेखि साँझ सूर्यास्त नभएसम्म खानपिन पूर्ण रुपले प्रतिबन्धित हुन्छ । रोज खोल्न खजुर वा पानीलाई उत्तम मानिएको छ ।
रोजा वास्तवमा दिनभरि भोकै बस्नु नभई सम्पुर्ण गलत क्रियाकलापबाट टाढा रहनु हो । मात्र पेटको नभई शरिरको सम्पूर्ण अंगहरुलाई गलत कामबाट रोक्नु पनि रोजाको उद्देश्य मानिन्छ । जसमा आँखाबाट गलत कुरा हेर्नु, जिब्रोबाट नराम्रो बोल्नु, हातखुटा गलत काम गर्नुलगायत पर्छन् ।
रमजानुल मुवारकको महिनामा बिहान सुर्योदय हुनु अगाडि खाने खानालाई सेहरी भनिन्छ भने सेहरी आजानको आवाज सुन्नु अगाडिसम्म खान सकिन्छ । आजान पश्चात् साँझ सुर्यास्तसँगै हुने आजानको आवाजसगैँ रोजा पुर्ण गर्न खाने खानालाई अफतार भनिन्छ । रमजानुल मुवारकको महिनामा चन्द्रमा देखिएकै रात इसाको नमाजसँगै २० रिकात तराविहको नमाज महिनै भरि पढिन्छ । जसमा इस्लाम धर्मावलम्बीको पवित्र ग्रन्ध कुरआन शरिफको श्लोकहरु पढिन्छन् ।
रमजानु मुवारक महिनाको रोजा सम्पूर्ण वयस्क मुसलमान पुरुष तथा महिलालाई अनिवार्य गरिएको छ । रजश्वला भएका, गर्भवती तथा सुत्केरी महिलाहरु तथा शारीरिक एंव मानसिक रुपले अशक्त र बच्चाहरुका निम्ति भने यसमा छुट छ । तर आफु तन्दुरुस्त भइसकेपछि पुनः छुटेका रोजालाई पूर्णता दिनुपर्छ । रोजा अवधिभर धुम्रपान एवं शारीरिक सम्पर्क, झैँझगडा तथा अनावश्यक गालीगलौज समेत पूर्ण रुपले वर्जित छ । रमजानुल मुवारक अवधिलाई ३ भागमा बाँडिएको हुन्छ । प्रथम १० रातहरु रहमत (कृपा) का रातहरुको रुपमा उल्लेखित छन्, जसमा अल्लाहको असिम कृपाबाट हामी लाभान्वित हुन्छौँ भने बिचका १० रातहरु मग्फिरत (माफी) का रातहरुको रुपमा रहेका छन् । यस अनुसार हामी रमजानका २० दिनहरुमा अल्लाहको कृपाले आफ्ना सम्पुर्ण कर्महरुबाट माफी प्राप्त गर्दछौँ । यसैगरि अन्तिम १० रातहरुको स्थान अत्यन्तै उल्लेखनिय छ किनकी यिनै रातहरुमा अल्लाहले मनुष्यलाई क्षमा गर्दै नर्कबाट मोक्ष प्रदान गरेर स्वर्ग प्रवेशको अनुमति प्रदान गर्दछन् भनेर इस्लामिक ग्रन्थहरुमा सविस्तार वर्णित छन् ।
रमजानुल मुवारक महिनाका विशेषताहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
१. पवित्र कुरआनको अवतरण ः यो महिनामा नै अल्लाहले आफ्ना सन्देष्टा मुहम्मद (सल्ल.) माथी कुरआनको अवतरण प्रारम्भ गरेका थिए । पवित्र कुरआनमा उल्लेख छ, रमजानको महिना त्यो महिना हो, जसमा कुरआन अवतरित भएको हो । (कुरआन सुरह बकरह, आयात १८५)
२. यो महिना एकान्तबासको महिना हो ः इब्न उमरका अनुसार अल्लाहका सन्देष्टा मुहम्मद सल्ल. रमजानको महिनाका कमसेकम १० दिनको एकान्तबास (एतेकाफ) बस्नु हुन्थ्यो ।
३. यो महिना उदारताले भरिपुर्ण महिना हो ः गरिबलाई दान नदिएसम्म एक महिना लामो रोजा पूर्ण भएको मानिदैँन । इब्न अब्बासकाअनुसार सन्देष्टा मुहम्मद सल्ल. रमजानको महिनामा अत्यन्तै उदार हुनुहुन्थ्यो ।
४. यो महिना अनिवार्य रोजा उपवासको महिना हो । कुरआनमा उल्लेख भए अनुसार जसले पनि यो महिना प्राप्त गर्दछ उसका लागि रोजा राख्न अनिवार्य छ । कुरआन, सुरह बकरह, आयात १८५)
रमजानुल मुबारकको महिनामा प्रत्येक फर्ज नमाजको सवाब ७० गुणा बढाइदिएको हुन्छ । रमजानुल मुबारकको महिनाको अन्तिम १० रातहरु एक राज हजार रातभन्दा पनि अब्वल मानिन्छ । जसलाई सबैकदरको रात भनिन्छ । जसले सबैकदरको रात प्राप्त गरेका हुन्छ, उसका निम्ति अल्लाहले उसका सम्पुर्ण गल्तीहरु माफ गरीदिने विश्वास गरिन्छ ।
रमजानुल मुवारकको महिनाको अन्तिमसाँझ चन्द्रमा देखिएपछि अर्को दिन मुललमानहरुको महान चाड पर्व ईदुलफित्र मनाइन्छ । जसमा गरिब असहायहरुलाई पनि ईद मनाउनका निम्ति दिइने एकप्रकारको दानलाई सककतुल फित्र भनिन्छ । यसपालि सदकतुल फित्रको रकम ७५ रुपैया प्रति ब्यक्ति छुट्याइएको छ । तसर्थ अल्लाहसँग प्राथना गराँै कि हाम्रा रोजा महाप्रलयका दिन स्वर्ग प्रवेश गर्ने माध्यम बनुन् । आमीन ।
तवरेज आलम अन्सारी, काठमाडौं
प्रतिक्रिया दिनुहोस् >>