भारतले गुमाउँदैछ दक्षिण एशियाको अन्तिम मित्र !!
Posted by
purwanews
Published on
Thursday, July 11, 2013
विश्लेषण :
दक्षिण एसियाको शत्रुवत् तथा सुख्खा वातावरणमा पनि भारत र हिमालय अधिराज्य भुटानबीचको सम्बन्ध लामो समयदेखि रसिलो देखिएको थियो । दक्षिण एसियामा भारतका अरु छिमेकीको भारतसँगको सम्बन्ध प्रतिकुल रहेको र भारतमाथि अन्य छिमेकीले ‘ठूल्दाइ’ को आरोप लगाइरहेका बेला भुटानसँगको सम्बन्धमा भने कुनै प्रतिकुलता आएन ।
तर, दक्षिण एसियाको आफ्नो ‘अन्तिम मित्र’ भुटानमा आफ्नो मिचाहा वाणिज्य कुटनीतिलाई अझै विस्तार गर्ने भारतको यो नीति नै भुटानसँगको उसको लामो स्थिर सम्बन्धमा खलल पूराउने कारक बन्ने देखिएको छ । थिम्पुमा आफ्नो कुटनीतिक प्रभाव विस्तार गर्न हात फैलाएर कुरेर बसिरहेको चिनिया दाउ यसमा उत्प्रेरक बनिरहेको छ ।
चीनका १४ वटा छिमेकीमध्ये भुटानमात्र यस्तो देश हो, जोसँग चीनको कुटनीतिक सम्बन्ध स्थापित भएको छैन । त्यसैले भूटानलाई भारतीय कक्षबाट बाहिर निकालेर आफ्नो बाहुपासमा पार्ने ध्येय चीनको रहेको प्रष्टै छ ।
यो महिनाको सुरुमा भारतले भुटानलाई दिँदै आएको खाना पकाउने ग्यास र मट्टतिेलमाथिको सहुलियत फिर्ता लियो, जसका कारण भुटानमा मट्टीतेल र खाना पकाउने ग्यासको भाउ चुलिन थालेको छ र जुलाई १३ मा हुनै लागेको आम चुनाव सम्म ग्यास र तेलको भाउ अझै आकासिने पक्का छ । यसले भुटानभित्रै विरोधका स्वर उठ्न थालेका छन् जुन भारतले भुटानमा चाहेको छ र जसको कारण चुनावको नतिजामा समेत असर पुगोस् भन्ने भित्री चाहना उसको छ । कतिपय भुटानी विश्लेषकहरुले समेत यसलाई भुटानको आन्तरिक मामिलामा भारतीय हस्तक्षेपको रुपमा व्याख्या गर्न थालिसकेका छन् ।
भारत र भुटानबीचको सम्बन्धमा तनाव आउनुमा यो तत्कालिक कारण हो । तर भारतीय कुटनीतिज्ञहरुले भने दुइ देशीय सम्बन्धमा चिसोपना ल्याउने विभिन्न घटनाक्रमको सिलसिलाको रुपमा यो पछिल्लो खण्ड मात्र भएको बताएका छन् ।
भारतीय अधिकारीहरु भने भुटानलाई दिइँदै आएको ग्यास तथा मट्टतिेलको सहुलियत कटौतीको विषय पूर्ण रुपमा व्यापारिक विषय रहेको र यो कुनै राजनीनिक विषय नभएको दाबी गर्छन् । आफ्नो देशका जनतालाई दिइँदै आएको सहुलियत समेत घटाउने अवस्था आएको र जनताबाटै विरोध हुने सम्भावना बढेको अवस्थामा विकाश सहायताको नाममा छिमेकीलाई ‘ब्ल्यांक चेक’ सहुलियत दिनु उचित नभएकाले त्यसलाई कटौती गरिएको जिकिर उनीहरुको छ । उनीहरुका अनुसार अहिले भारतले अफगानिस्तानबाहेकका सबै दक्षिण एसियाली छिमेकीलाई विभिन्न स्वरुपमा दिँदै आएको अनुदान कि त कटौती गर्न थालेको छ, कि त सुस्त बनाउँदैछ ।
भारतको यस्तो दाबीमा सत्यता होला नहोला तर भुटानप्रतिको भारतीय नियतमाथि भने आशंका गर्ने केही आधारहरु छन् । भुटानी प्रधानमन्त्रीले भुटानको विदेशी नीतिलाई चीनप्रति ढल्काउन लागेको जवाफ स्वरुप भारतले पछिल्लो कदम चालेको कुरा सहजै अनुमान लगाउन सकिन्छ ।
भारतका लागि भुटानी राजदुतले आफ्नो देशलाई दिइँदै आएको सहुलियत कटौती गर्ने भारतको कदमका विषयमा भारतीय विदेश मन्त्रीलाई सलमान खुर्सिदलाई पत्र लेखेर त्यस्तो निर्णयमा पुनर्विचार गर्न आग्रह नगरेका होइनन् तर यसप्रति भारतीय विदेश मन्त्रीले कुनै प्रतिक्रिया जनाएका छैनन् ।
हरेक सन्दर्भमा भारतीय अधिकारीहरुले भुटानको थिन्ले सरकारले भुटानको विदेश नीतिलाई भारतबाट टाढा चीनतर्फ डोर्याइरहेका विभिन्नखाले संकेतहरुलाई आश्चर्यजनक किसिमले औंल्याइरहेका छन् । अघिल्लो वर्ष ब्राजिलको रियो द जेनेरियोमा चिनिया प्रधानमन्त्रीसँग भुटानी प्रधानमन्त्री थिन्लेले भेट गरेसँगै भुटानले चीनबाट बस किन्ने निर्णय गर्यो र २० वटा चिनिया बस खरीद गर्यो । यसलाई भारतलाई छाडेर भुटानले चीनसँगको व्यापारिक सम्बन्ध मजबुत बनाउन गरेको प्रयासका रुपमा लिइएको छ ।
भुटानका राजनीतिक टिप्पणीकारहरुले देशको आन्तरिक मामिलामा भारतले लाद्न खोज्ने प्रभुत्वलाई मन पराएका छैनन् । राजनीतिक विश्लेषक वाङचा साङगलेले आफ्नो ब्लगमा लेखेका छन्, ‘चीनसँग खतरारहित सम्बन्ध विस्तार गर्ने भुटानको प्रयासलाई लिएर किन भारतीय राजनीतिज्ञ तथा मिडियाहरुले भुटानलाई नपुंशक बनाउन खोजिरहेका छन् रु अर्को दिन नै मैले हल्ला सुनेँ कि भारतीय कर्मचारीतन्त्रले भुटानी नेतृत्वमाथि इमान्दर नभएको आरोप लगायो । आखिर के भन्न खोजिएको हो यो रु कुनचाहिँ राष्ट्रिय नेताले अर्को देशका खातिर आफ्नो आत्मालाई नांगो बनाउँछ रु हामी खरीद गरिएका यौनकर्मी होइनौँ ता कि हामीले हाम्रा परेली झिम्क्याएको तथा जिउ ढल्काएको कुरा मालिकलाई जानकारी दिनु परोस् ।’
उनी अगाडि लेख्छन्, ‘भुटानसँग मित्रवत व्यवहार गर चेसमा आफुखुसी चाल्ने गोटीको रुपमा होइन‘‘।हामीलाई मनलाग्दा काटेर खानका लागि खोरमा पालिएका भेँडाका बथानजस्तो व्यवहार नगर ।’
यसैबीचमा भुटानले पनि चुखा जलविद्युत आयोजनाबाट उत्पादित विजुलीको महसूलमा गरिएको वृद्धि स्वीकार गर्न भारतमाथि दबाब दिइरहेको छ । भारतमा निर्यात भैरहेको उक्त आयोजनाको बिजुलीको महसुल एक्कासी असामान्यरुपमा पूर्वसूचनाविना बढाइएको भारतले बताउँदै आएको छ ।
यद्यपि भारतीय कुटनीतिका कमजोरी तथा द्धिपक्षीय सम्बन्धमा आउन थालेको दरारका बीच भुटानमा भारतका भित्र नभएका होइनन् । हालै भुटानी सरकारी पत्रिका क्यून्सेलमा प्रकाशित एक लेखमा लेखक दोर्जीले भनेका छन् कि भुटानमा भारतका विरोधीले भनेजस्तो सार्वभौमसत्ता अमूर्ततामा सम्भव छैन र त्यो दैनिक जीवनमा झल्किनुपर्छ । भुटान र भारतबीच पारस्परिक तथा दुबैलाई फाइदा पुग्ने सिम्बायोटिक सम्बन्ध छ जसका कारण भारतसँगको सम्बन्धको विषयमा भुटान चतुर तथा सतर्क हुनुपर्छ । उनका अनुसार भारतसँगको सम्बन्धका विषयमा भुटान दिग्भ्रमित हुनु हुँदैन । भारतसँग निकट सम्बन्ध राख्नु भुटानको हितमा रहेको र भुटानका लागि चीनसँग नजिकिनुभन्दा भारतसँग नजिकिनु फाइदाजनक रहेको उनको दाबी छ । त्यस्तै भुटानलाई आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्नुमा पनि भारतको हित लुकेको छ ।
तर, भुटानभित्र आफ्ना यस्ता शुभचिन्तक हुँदाहुँदै पनि भारतले अनौठो कुटनीतिक आत्मघाती गोल गर्दैछ, जसका कारण आफ्नो अन्तिम दक्षिण एसियाली मित्रसमेत उसको अक्षबाट फुत्किँदैछ ।
(भारतीय अनलाइन फष्टपोष्ट डटकममा जुलाई ९ मा प्रकाशित विश्लेषण ,अनलाइन खबर बाट)
प्रतिक्रिया दिनुहोस् >>