डाक्टरसाहेब, कहाँगयो इथिक्स ?
Posted by
purwanews
Published on
Saturday, July 13, 2013
-स्वास्थ्य क्षेत्रमा भित्रिएका धेरै विकृतिमा अहिले कुनै न कुनै रुपमा चिकित्सकहरू मुछिन थालेका छन् । कतिपय चिकित्सकलाई त पैसाका लागि ‘मृत्यु भइसकेको मन्छेको समेत शल्य क्रिया गर्छन्’ भन्ने आरोप लाग्ने गर्छ ।
-पछिल्लो समयमा इथिक्समा रहेर प्रतिष्ठालाई पहिलो प्राथमिकतामा राख्ने चिकित्सक पाउन मुस्किल हुँदै गएको छ । कतिपय बरिष्ठ चिकित्सकहरू पनि ‘अनइथिकल प्राक्टिस’ र महँगो हुँदै गएको मेडिकल शिक्षाका कारण बदनाम बन्दै गएको विज्ञहरू बताउँछन् ।
डाक्टरले लिने शुल्क के आधारमा निर्धारण होला ? नाम चलेका डाक्टरलाई महिनौं कुरेर भेट्न पाएको पालोमा चिकित्सकको शुल्क सुन्दा विरामी भाग्नुपर्ने अवस्था आयो भने के होला ? नेपालका कतिपय नाम चलेका चिकित्सकले यस्तै अवस्थाको सिर्जना गरेका छन्।
शुल्क त उदाहरण मात्रै हो । स्वास्थ्य क्षेत्रमा भित्रिएका धेरै विकृतिमा अहिले कुनै न कुनै रुपमा चिकित्सकहरू मुछिन थालेका छन् । कतिपय चिकित्सकलाई त पैसाका लागि ‘मृत्यु भइसकेको मन्छेको समेत शल्य क्रिया गर्छन्’ भन्ने आरोप लाग्ने गर्छ । कम्पनीको प्रलोभनमा जथाभावी औषधि लेख्ने, कमिसन कै भरमा प्रयोगशाला र अन्य परीक्षणको सिफारिस गर्ने, अनावश्यक शल्यक्रिया गराएर पैसा कमाउने आरोप नलागेका चिकित्सक भेट्न नै गाह्रो पर्छ । त्यति मात्रै होइन, सरकारी अस्पतालमा समय नदिएर क्लिनिक धाउने, अस्पतालमा आएका बिरामीलाई निजीमा बोलाएर कमिसन लिने चिकित्सकको पनि कमी छैन।
पछिल्लो समयमा इथिक्समा रहेर प्रतिष्ठालाई पहिलो प्राथमिकतामा राख्ने चिकित्सक पाउन मुस्किल हुँदै गएको छ । कतिपय बरिष्ठ चिकित्सकहरू पनि ‘अनइथिकल प्राक्टिस’ र महँगो हुँदै गएको मेडिकल शिक्षाका कारण बदनाम बन्दै गएको विज्ञहरू बताउँछन् । बरिष्ठ शल्य चिकित्सक डा. महेश खकुरेल आचारसंहिता विपरीतका प्रवृत्तिले चिकित्सा पेशा र चिकित्सकको इज्जत दुबैमा कमी आएको बताउँछन् । ‘खराब काम गर्ने पहिला पनि थिए ।’ खकुरेलले भने, ‘अहिले विभिन्न परिस्थितिले वातारण झनै बिगा¥यो ।’
झण्डै चार दशक लामो चिकित्सकीय जीवन विताएका अर्का बरिष्ठ चिकित्सक डा. भोलाराज जोशी पनि तुलनात्मक रुपमा डाक्टरको शाख घट्दै गएको स्वीकार गर्छन् । ‘सोच र ज्ञानका हिसाबले अब्बल नयाँ पुस्तामा पनि सेवा प्रतिको इमान्दारी घट्दैगयो’, उनले भने। ‘म एमबिबिएस सकेपछि पनि दाइको पुरानो साइकल चढेर अस्पताल जान्थें’, डा. खकुरेल सम्झन्छन्, ‘अहिले डाक्टरहरू एमबिबिएस सकिना साथ सेन्ट्रो खोज्छन् । यस्तो प्रवृत्तिले डाक्टरको इथिक्सको पाटो कमजोर हुँदै गएको कि भन्ने डर छ।’
उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले सम्मानित पेशा अँगाल्ने चिकित्सक जनताप्रति अनुत्तरदायी बन्दै गएको आरोप लगाए । ‘सरकार निशुल्क स्वास्थ्य सेवा भन्ने, त्यही डाक्टर सरकारीमा काम छाडेर निजी क्लिनिक र ल्याबबाट कमिसन खाने चलन छ।’ उनले थपे, ‘चिकित्सक र अस्पतालको अधिकतम शुल्क तोकेर व्यवस्थित गर्नुपर्छ ।’
बरिष्ठको मनपर्दी शुल्क
अधिकतम शुल्क लिने नेपाली चिकित्सकको सूचीमा हाडजोर्नी विशेषज्ञ डा. अशोक बज्राचार्यको नाम पहिलो नम्बरमा आउँछ । बज्राचार्यले एकपटक विरामी छोएको शुल्क एकहजार रुपैयाँ लिन्छन्, त्यो पनि एक पैसा कर नबुझाइ । बज्राचार्यको विशेष शुल्कमा विरामी जाँच गर्ने तरिका पनि विशेष नै छ । एउटा कागजको टुक्रा लिएर भित्र गएको बिरामी सँग न कुनै बिल हुन्छ, न अस्पताल सँग वैधानिक रेकर्ड नै । यस बिषयमा डा. बज्राचार्यसँग जिज्ञासा राख्दा उनी सम्वाददातालाई यी सबैकुराको जवाफ किन चाहियो भन्दै फोन सम्पर्कबाट अलग भए ।
दोस्रो महँगा मानिएका बिएण्डबी अस्पतालका प्रमुख लगानीकर्ता डा. अशोक बाँस्कोटाको विशेष क्लिनिकमा देखाउन ९ सय ६८ रूपैयाँ शुल्क तिर्नुपर्छ । उनको हप्तामा दुई दिन चल्ने ओपिडीको शुल्क ४ सय ५० पर्छ । ओपिडीमा उनी १५ जना विरामी मात्रै हेर्छन र विशेष क्लिनिकमा संख्याको सीमा छैन । बरिष्ठ न्यूरो सर्जन डा। उप्रेन्द्र देबकोटाले एकजना बिरामीबाट ६ सय ७५ रुपैयाँ शुल्क लिन्छन् । देवकोटा नेपालमै नभएको अवस्थामा पनि उनको नाममा टिकट काटिन्छ र जाँच पनि हुन्छ ।
नर्भिक अस्पतालमा कार्यरत चिकित्सकहरूको शुल्कमा समेत एकरूपता छैन । नर्भिकका नाम चलेका तीन चिकित्सक मध्ये बरिष्ठ छातीरोग विशेषज्ञ डा. रमेश चोखानीले एकपटक जाँच गरेको शुल्क ५ सय ५० लिन्छन् । चोखानीले नर्भिकमा दैनिक ५० जना बिरामी हेर्छन् । उनको नाममा ४ बजेदेखि आउने भनी टिकट काटिए पनि उनी भने घाम नअस्ताइ अस्पताल छिर्दैनन् । उनका नाममा पनि बिरामी हेर्ने अरुनै चिकित्सक हुन्छन् । नर्भिक आउनु अघि घरमै पनि उनले दैनिक २० जना बिरामी हेर्न भ्याउँछन् । उनले हेरेका बिरामीको पनि न अस्पतालमा रेकर्ड हुन्छ, न बिरामीले वैधानिक बिलनै पाउँछन् । अचम्मको कुरा के छ भने डा. चोखानीको घरमा दिइने र नर्भिकमा दिइने शुल्कको स्लिप एउटै हुन्छ ।
उनले औषधि कम्पनीले उपलब्ध गराएको स्याम्पल औषधि समेत गरीब बिरामीलाई दिँदैनन्, एक्सपायर भएर जान्छ । स्रोतका अनुसार, डा. चोखानीले भारतीय सिप्ला कम्पनीको बाहेक अरु कम्पनीको औषधि नै लेख्दैनन् । सिप्ला कम्पनीले नै नर्भिक अस्पतालमा उनको ओपिडीमा एक जना प्रतिनिधि नै खटाएको छ ।
त्यसैगरी नर्भिकका मुटु रोग विशेषज्ञ डा. भारत रावत र फिजिसियन डा. मधु घिमिरेको शुल्क ४ सय ५० रुपैयाँ छ । चिकित्सकीय क्षमताका आधारमा नेपालकै अब्बलमा गनिने डा. घिमिरे लाई पनि जथाभावी परीक्षण गराउने गरेको आरोप छ । डा. रावत लाई भने फोन गरेरै घरबाटै बिरामी बोलाउने गरेको आरोप छ ।
त्यसैगरी सर्वाङ्ग अस्पतालकी बरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सानुमैयाँ दलीले ५ सय २५, काठमाडौं अस्पतालका फिजिसियन डा. आइ एल आचार्यले ४ सय ७५, हर्मन रोग विशेषज्ञ डा. ज्योती भट्टराईको शुल्क ५ सय २५ रुपैयाँ छ । क्यापिटल अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. लता बज्राचार्यले ३ सय ५०, छालारोग विशेषज्ञ डा. अनिल झा ले ४ सय, बयोधा अस्पतालका डा. राजीव पाण्डेले ३ सय ४०, नशा रोग विशेषज्ञ डा. वसन्त पन्तले ३ सय १५ र मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले ३ सय ५० रुपैयाँ शुल्क लिन्छन् । बरिष्ठ चिकित्सकले लिने शुल्क ३ सय ५० रुपैयाँ सम्म नैतिक हिसाबले जायज मानिए पनि महँगो शुल्क लिनुले चिकित्सक पनि व्यापारमुखी हुँदै गएको देखाउँछ ।
समय कति दिन्छन ?
महँगो शुल्क लिने चिकित्सकले बिरामीलाई आवश्यक समय नदिने मात्र होइन, कतिपयले त आफ्नो नाममा टिकट कटाएर जुनियारबाट समेत विरामी जाँच गराउँछन् । नेपालका अधिकांश चिकित्सकले विरामीलाई पर्याप्त समय नदिने गरेको चिकित्सकहरू नै स्वीकार गर्छन् । महँगा चिकित्सकहरू शुल्क पनि बढी लिन्छन् बिरामी पनि बढी हेर्छन् । यसले बिरामी र चिकित्सक बीच सम्बन्ध पनि चिसिँदै गएको छ ।
अन्तर्राष्ट्रिय मान्यता अनुसार अभ्यासका लागि चिकित्सकले एकजना विरामीका लागि १५ देखि २० मिनेट समय दिनुपर्छ । यो समय पाँच मिनेट भन्दा कम हुनु नै हुँदैन । नेपालमा चिकित्सा संहिताको राम्रो अनुगमन नभएका कारण चिकित्सकले विरामीलाई दिने समय निकै थोरै हुने गरेको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, नेशनल सेन्टर फर हेल्थ प्रोफेसनल्स एजुकेशनका कार्यकारी निर्देशक डा. जगदिश प्रसाद अग्रवालको भनाइ छ । ‘अध्ययनले चिकित्सक सँगको सञ्चारबाट अधिकांश विरामी सन्तुष्ट नभएको र ५० प्रतिशत चिकित्सक विरामीको तनावको कारण सम्म पनि पुग्न नसकेको देखिएको छ ।’ डा. अग्रवालले बताए ।
चिकित्सक संघका अध्यक्ष डा. किरण श्रेष्ठले नेपालमा अधिकांश विशेषज्ञ चिकित्सकले जुनियर ले भन्दा पनि कम समय दिने गुनासो रहेको बताए । डा. श्रेष्ठका अनुसार, नेपालमा विशेषज्ञ चिकित्सकको संख्या थोरै भएकोले उनीहरू बढी चापमा छन् ।
सामान्य आधारमा अधिकांश विरामीनै चिकित्सकको नामको पछाडि दौडिने प्रवृत्ति छ । समय थोरै भएपछि चिकित्सकले विरामी र आफन्त सँग राम्रोसँग कुरागर्न नभ्याउने र पूर्ण जानकारी पनि दिन नसक्ने विज्ञहरु बताउँछन् । समय थोरै भएका चिकित्सकहरुमा विरामी पक्षले जानकारी माग्दा ‘तपार्इं डाक्टर कि म रु’ भनेर हप्काउने गरेको समेत पाइएको छ । यस्ता व्यबहारले बिरामी पक्षमा चिकित्सक प्रतिको सम्मान पनि घट्दै गएको छ ।
विरामीलाई उचित समय दिने कुरामा निजी र सरकारी दुबै अस्पतालका चिकित्सक चुकेका छन् । निजी अस्पतालमा धेरै विरामी हेरेर धेरै पैसा कमाउने चलन छ भने सरकारी अस्पतालमा विरामीको चापले नै चिकित्सकलाई भ्याइ नभ्याइ हुन्छ । धेरै चिकित्सकले त लोकप्रियतालाई प्रभावकारी सेवा भन्दा पैसा असुल्ने बाटो मात्र बनाएका छन् । सरकारी अस्पतालमा कनिष्ठ डाक्टरलाई जिम्मेवारी दिएर पन्छिने चिकित्सकहरु निजी अस्पतालमा फेला पर्छन् ।
सरकारी अधिकारीहरू अनुगमन भन्दा पनि आचारसंहिता अनुशरण नगर्ने बानीले यस्तो अवस्था आएको बताउँछन् । सामान्यतया, चिकित्सकले दैनिक २५ देखि ३० जना विरामीलाई मात्र प्रभावकारी ढंगले परामर्श र सल्लाह दिन सक्छन् । तर, नेपालमा अधिकांश नाम चलेका चिकित्सक दुई सिफ्ट सम्म ओपिडी गर्ने र दिउँसोको समयमा शल्यक्रिया र अध्यापन समेत भ्याउँछन् ।
सामान्यतयाः स्वस्थ मान्छेको कार्यक्षमता ८ घण्टामात्र हुन्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । तर, नेपालमा चिकित्सकहरुले १६ घण्टासम्म काम गर्ने भएकोले विरामीले उपचारबाट सन्तुष्टी पाएको देखिँदैन । यसको असर बिरामीले पाउने सल्लाह, प्रेसक्रिप्सन र शल्यक्रियामा समेत पर्छ । हाल नेपालमा नाम चलेका डाक्टरले एक सिफ्टमा औषत ५० देखि ७० जनाको हाराहारीमा विरामी हेर्ने गरेका छन् ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेलले चिकित्सकले चार्मका आधारमा पैसा लिने गरेको भन्दै काउन्सिलले यति समय दिने र यति पैसा लिने भन्ने कुरालाई नियन्त्रण गर्न नसक्ने बताए । ‘अभ्यासका क्रममा त्रुटी भए मात्रै हामी त्यस्ता मुद्दा हेर्छौं, राम्रो परिणाम आइरहेसम्म चिकित्सकलाई शुल्ककै आधारमा नियन्त्रण गर्न सक्ने प्राबधान छैन’, उनले भने । राजाको सक्रिय शासनको समयका स्वास्थ्य मन्त्री डा. उपेन्द्र देवकोटाले शुल्क व्यवस्थित गर्न विशेषज्ञ चिकित्सकले प्रति विरामी अधिकतम ३ सय रुपैयाँ मात्र लिन पाउने नियम बनाएका थिए । अहिले त्यो नियम अधिकांश चिकित्सकले उल्लंघन गरेका छन् ।
पदलोलुपता उस्तै
सबैभन्दा बढी शुल्क लिने चिकित्सक अशोक बज्राचार्य निजी र सरकारी गरी तीनवटा संस्थामा प्रमुख छन् । बज्राचार्यको क्यापिटल नामको निजी अस्पताल छ । त्यसका उनी निर्देशक हुन् । उनी वीर अस्पतालका हाडजोर्नी विभागका प्रमुख र सञ्चालन हुन नसकेको ट्रमा सेन्टरका कार्यकारी निर्देशक समेत हुन् । वीर अस्पतालको जिम्मेवारीबाट समय छल्दै उनले निजी अस्पताल पनि चलाएका छन् । वीर अस्पतालमा शल्यक्रिया गर्न लामो समय कुर्नुपर्ने भन्दै बिरामीलाई अत्याएर आफ्नो निजी अस्पतालमा लगेर शल्यक्रिया गर्न भ्याउँछन् ।
वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठ अस्पतालको प्रत्यारोपण युनिट प्रमुख हुन् ।उनी भक्तपुर स्थित मानव अंग प्रत्यारोपण अस्पतालका समेत निर्देशक बनेका छन् । कुपन्डोल स्थित आरोग्य फाउण्डेसनका प्रमुख पनि यिनै हुन् । यी त पदलोलुपताका केही उदाहरण मात्र हुन् । चिकित्सकहरूको इथिक्सको अनुगमन गर्ने संस्था मेडिकल काउन्सिलका अधिकांश सदस्य नै कुनै न कुनै संस्थामा संलग्न छन् । आफू कार्यरत सरकारी अस्पतालकै कार्यालय समयमा निजी अस्पताल धाउने चिकित्सक पनि वीर अस्पतालमै बढी छन् । पाएका जति अवसर नछोडी स्वार्थ पूरा गर्ने चिकित्सकको पनि कमी छैन । राजधानीका नाम चलेका अधिकांश निजी अस्पतालत वीर, टिचिङ, कान्ति र प्रसूति गृहकै चिकित्सककै भरमा चलेका छन् । ‘पाएको जिम्मेवारी राम्रोसँग निर्वाह नगर्ने र पाउने अवसर जति आफंै लिनुपर्छ भन्ने धारणाले पनि चिकित्सकलाई गलत बाटोमा लगाइरहेको छ ।’ काउन्सिलका एक सदस्यले भने ।
औषधि कम्पनीसँग कमिसन
औषधि उद्योगका सञ्चालकहरु नै डाक्टरले अधिकारको दुरुपयोग गर्दै विरामीलाई औषधि लेखे बापत् आफ्ना औषधि कम्पनीसँग बार्गेनिङ्गर्ने गरेको स्वीकार गर्छन् । एक बरिष्ठ चिकित्सकले भने, ‘छोरा छोरी वा कतिपयले थप अध्ययनका लागि भन्दै पढाई खर्च माग्छन्, घरायसी सुविधा देखि सौखका सामग्री माग गर्नेको संख्या पनि ठूलो छ ।’ चिकित्सककै कारण गुणस्तरहीन औषधिको व्यापार फस्टाउने मौका पाएको जानकारहरु बताउँछन् ।
केही चिकित्सकले औषधि कम्पनीसँग पे्रस्क्राइब गरे वापत वार्षिक रुपमै एउटा औषधिका लागि दुई देखि चार लाख रुपैयाँ सम्म नगद असुल्ने गरेको औषधि उत्पादकहरु नै बताउँछन् । यस बाहेक विदेश भ्रमण देखि घरका सामग्री, श्रीमतीका लागि सपिङ्, घरको रङ रोगन र छोरा छोरी पढाउन पनि औषधि कम्पनीलाई नै गुहार्छन् । ‘क्लिनिकमा जेनेरेटर, टिभि राख्न लगाउने, विदेशी रक्सी र गाडी खरिद गरी दिनका लागि दवाव मिश्रित आग्रह गर्नेको संख्या पनि निकै ठूलो छ ।’ एक उद्योगीले भने ।
डाक्टर सम्म प्रयोगशाला कमिसन
ठूला अस्पताल र ठूला ल्याबले त डाक्टर हरुलाई कमिसन नै दिएर प्रयोगशाला लाई आम्दानीको स्रोत बनाएका छन् । यसले गर्दा सही रिपोर्ट दिन नसक्ने ल्याबमा पनि कमिशनको लोभले अनावश्यक परीक्षण गराउन बाध्य पार्ने चिकित्सकको जमात पनि ठूलै छ । ल्याब स्रोतका अनुसार, हरेक परीक्षण वापत् चिकित्सकले २५ देखि ४० प्रतिशत सम्म कमिशन लिने गर्छन् । नेपालका नाम चलेका ठूला ल्याब र अस्पतालले त परीक्षणका लागि सिफारिस गर्ने डाक्टरका नाममा बैंक खाता नै खोलिदिएका हुन्छन् । कतिपय डाक्टरले सही रिपोर्टलाई पनि कमिशन पाउने ल्याबमा पुनः परीक्षण गर्न बिरामी पक्षलाई दबाव दिन्छन् ।
(स्वास्थ्यखबरपत्रिका )
प्रतिक्रिया दिनुहोस् >>