तराईका दर्जन भूमिगत समूहबीच एकता
जनकपुर - तराईमा सशस्त्र आपराधिक क्रियाकलापमा सक्रिय एक दर्जन भूमिगत समूहबीच एकीकरण भएको छ। भारतको बिहारमा एक सातासम्म चलेको गोप्य छलफलपछि जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाबाहेकका १२ वटा संगठनबीच एकता भएको हो।
स्रोतका अनुसार गोइत नेतृत्वको मोर्चा, राजन मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा, नागराज नेतृत्वको तराई कोब्रा, प्रशान्त नेतृत्वको तराई राष्ट्रिय मुक्ति मोर्चा, जीवन नेतृत्वको तराई–मधेस मुक्ति टाइगर र भाष्कर मुक्ति नेतृत्वको तराई कम्युनिस्ट पार्टीलगायत १३ वटा समूह छलफलमा सहभागी थिए।
गोइत आफूले अघि सारेका दुवै प्रस्ताव अस्वीकृत भएपछि छलफलबाट बाहिरिएका हुन्। उनले सुरुमा आफ्नो नेतृत्वमा एकता गर्न प्रस्ताव राखेका थिए। त्यसमा सहमति जुटाउन नसकेपछि उनले कार्यगत एकताको प्रस्ताव राखेको र त्यो पनि अस्वीकृत भएको स्रोतले बतायो।
बुधबार दिउँसो आठबुँदे सहमति गर्दै बैठक सकिएको छ। एकीकृत संगठनको नाम जनतान्त्रिक तराई मुक्ति मोर्चा नै राख्ने र अध्यक्ष राजन मुक्तिलाई दिने सहमति भएको छ। मोर्चाले मंसिर ४ गतेको दोस्रो संविधानसभा चुनाव विथोल्ने निर्णय गर्दै उपेन्द्र यादव, विजय गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, अनिल झा र राजकिशोर यादवलगायतलाई मधेसका गद्दार घोषणा गरेको छ। उनीहरुका पार्टी कार्यालय तत्काल खालि गर्न पनि समूहले चेतावनी दिएको छ।
बैठकले मधेसका प्रहरी चौकी तथा सशस्त्र प्रहरी शिविर १५ दिनभित्र खालि गर्न र चौकीको दुई सय मिटर वरिपरिका बस्ती १० दिनभित्र छाड्न चेतावनी दिएको छ। १५ दिनपछि तराईमा सशस्त्र गतिविधि तीव्र बनाइने निर्णय भएको मुक्तिले फोनमा बताए। nagariknews, asar 20
प्रतिक्रिया दिनुहोस् >>