प्याकेट दुधमा जिवाणु फेला : डिडिसीकै दूध पनि खान अयोग्य

काठमाडौं - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सरकारी स्वामित्वको दुग्ध विकास संस्थानबाट उत्पादित दूधमा अत्यधिक कोलिफर्म फेला पारेको छ। विभागले संस्थानद्वारा उत्पादित डिडिसी ब्रान्ड दूधको ल्याब परीक्षण गर्दा दिसामा पाइने जीवाणु 'कोलिफर्म' फेला परेको छ। संस्थानको दूधमा कोलिफर्म फेला पारे पनि विभागले अन्य डेरीमा जस्तो संस्थानमा सिलबन्दी गरेको छैन।
विभागकी महानिर्देशक जीवनप्रभा लामाले डिडिसीद्वारा उत्पादित नीलो निलो प्याकेटको दूधमा कोलिफर्म फेला परेको पुष्टि गरिन्। डिडिसीको हरियो प्याकेट दूधमा भने कुनै समस्या देखिएको छैन। डिडिसीको दूधमा कोलिफर्मको मात्रा शून्य हुनुपर्नेमा निकै बढी फेला परेको पुष्टि हुँदा पनि निजी उद्योगलाई झैं कारबाही नगरेको विषयमा सोध्दा उनी केही बोल्न चाहिनन्।
'दूध दूषित फेला परेको पक्का हो। तर उसलाई के कारवाही गर्ने अहिले भन्न सकिन्न,' उनले भनिन्।
विभागका प्रवक्ता प्रमोद कोइरालाले सबै डेरीको दूधमा समस्या फेला परेकाले उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर उत्पादकलाई गर्ने कारबाहीको टुंगो लगाउने बताए।
'जुन उत्पादकको दूधमा  पनि समस्या छ,' उनले भने, 'त्यसकारण सबैलाई लागू हुने गरी कारबाही गर्न प्रमुख जिल्ला अधिकारीको सुझाव लिनेछौं।'
बजारमा बिक्री भइरहेका विभिन्न ब्रान्डका दूध अनुगमनका क्रममा संस्थानद्वारा उत्पादितमा समेत कोलिफर्म फेला परेको हो। चिकित्सकका अनुसार कोलिफर्मले मानिसलाई झाडापखाला, आउँ, हैंजा, टाइफाइड, हेपाटाइटिस–ए, जन्डिस तथा पेटमा समस्या उत्पन्न गराउँछ। विभागले यसअघि अनुगमनका क्रममा अत्यधिक कोलिफर्म भेटिएको पाँच ब्रान्डका दूध उपभोगमा रोक लगाइसकेको छ।
विभागले सोमबार डिडिसी दूधमा झैं कोलिफर्म फेला परेको भक्तपुरको खरिपाटी डेरी, कमलविनायकको सैंजू डेरी, भक्तपुर डेरी, सूर्य विनायकको सञ्जीवनी डेरी र काठमाडौं बालाजुको आधुनिक डेरीका उत्पादनमा रोक लगाएको थियो। बजारमा खरिपाटीको गायत्री, सैंजूको अमृत र कान्तिपुर, भक्तपुरको बिडिपिएल, सञ्जीवनीको सञ्जीवनी र आधुनिकको एडिपी ब्रान्ड दूध बिक्री भइरहेका छन्। विभागले उस्तै समस्या रहेको डिडिसीको दूध उत्पादनमा भने रोक लगाएको छैन।
विभागले सरकारी स्वामित्वको दूग्ध विकास संस्थानको दूध गुणस्तरहीन भएको ठहर गर्दै गत वर्ष पनि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको थियो। विभागले डिडिसीको दूध र पानी उस्तैउस्तै भएपछि प्रशासन कार्यालयमा मुद्दा हालेको थियो। डिडिसीले निलो रंगको पोलिथिनमा प्याक गरेको दूधमा न्यूनतम मात्रामा हुनुपर्ने चिल्लो पदार्थ र दुग्ध ठोस पदार्थ कम भएको निष्कर्ष निकालेको थियो। चिल्लो र ठोस नभएको दूध पानी बराबर हुने विभागका प्रवक्ता कोइरालाको भनाई छ। उक्त मुद्दामा डिडिसिले १० हजार जरिवाना तिरेको थियो।
विभागले निजी क्षेत्रको सीताराम गोकुल मिल्क र नेपाल डेरीका दूधसमेत निम्न गुणस्तरको फेला पारेको छ। विभागले गरेको परीक्षणमा सीताराम दुधमा मापदण्ड अनुसार हुनुपर्ने दुग्ध ठोस पदार्थको मात्रा कम र नेपाल डेरीको उत्पादनमा चिल्लो पदार्थ कम पाएको छ।
विभागका अनुसार दूधमा चिल्लो पदार्थ ३ प्रतिशत र दुग्ध ठोस पदार्थ ८ प्रतिशत हुनुपर्छ। तर, विभागका खाद्य निरीक्षकले परीक्षण गर्दा सीताराममा दुग्ध ठोस पदार्थ ८ प्रतिशतभन्दा कम पाइएको छ। यस्तै नेपाल डेरीको दूधमा चिल्लो पदार्थको मात्रा ३ प्रतिशतभन्दा कम पाइएको छ। विभागका अनुसार दुवैको दूधमा फ्याट, भिटामिन र खनिज पनि कम छ।
विभागले सीताराम र नेपाल डेरीलाई पनि प्रशासनको सुझावका आधारमा कारबाही गर्ने बताएको छ। ती सबैलाई खाद्य ऐनअनुसार कारबाही तयारी गरेको विभागका प्रवक्ता कोइरालाले जानकारी दिए। asar 5


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>