पत्रकारीतामा शुद्धिकरणको माग : महासंघलाई सबै संगठनको साथ
सुनसरीका पत्रकारहरुले पत्रकारितामा शुद्धिकरणको माग गरेका छन् । सुनसरीमा पत्रकारहरु चन्दा उठाउने, ठेक्का लिने, पत्रकारितालाई हतियार बनाएर आर्थिक लाभ लिने लगायतका काममा सक्रिय रहेको भन्दै शुद्धिकरणको माग गरेका हुन् ।
सुनसरीको धरानमा शुक्रबार भएको विभिन्न संगठनका प्रतिनिधि तथा जिल्लाका सक्रिय पत्रकारहरुको भेलाले पत्रकारितालाई स्वच्छ बनाउन नसके पत्रकारिता पेशा र पत्रकार महासंघकै बद्नामी हुने भन्दै महासंघलाई सक्रिय हुन आग्रह गरेका छन् । पत्रकार महासंघ सुनसरी, प्रेस चौतारी, प्रेस युनियन, क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संघ, अनिजलगायत संगठनका अध्यक्ष, सचीव, पुर्व अध्यक्ष र सभासद् तथा सक्रिय पत्रकारहरुको भेलाले पत्रकारितामा शुद्धिकरणको लागि पत्रकार महासंघ सुनसरीले गर्ने हरेक कदममा साथ दिने प्रतिबद्धता समेत जनाएका छन् ।
कार्यक्रममा प्रेस चौतारी सुनसरीका अध्यक्ष देवेन्द्र कार्की, सचीव शेखर ढकाल, प्रेस युनियन सुनसरीका अध्यक्ष वासुदेव बराल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष श्रीशीसा राई, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष पीवी दियाली, अनिजका भैरव आङ्ला, पुर्व अध्यक्ष हर्ष सुब्बा, आनन्द श्रेष्ठ, पार्षद्हरु बाबुराम सुवेदी, भुवन सुवेदी, सीता मादेम्बालगायत सक्रिय पत्रकारहरु रोहित राई, भोजराज श्रेष्ठ, सन्तोष काफ्लेलगायतले पत्रकारहरुको आचरणमा सुधार ल्याउन प्रेरित गर्न पत्रकार महासंघलाई अनुरोध गर्दै आफ्नो साथसहयोग रहेको प्रतिबद्धता समेत जनाएका थिए ।
साथै भेलाले सुनसरीका पत्रकार सोमनाथ बाँस्तोलालाई महासंघको साधारण सदस्यसमेत नरहने गरी तीन वर्षका लागि निलम्बन गर्न पत्रकार महासंघ केन्द्रिय समितिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
पत्रकारितालाई प्रयोग गरेर आर्थिक लाभ लिएको, पत्रकार महासंघको मानमर्दन गरेकोलगायतका आरोप लगाउँदै बाँस्तोलालाई कारवाही गर्न भेलाले सहमती जनाएको हो ।
प्रतिक्रिया दिनुहोस् >>