घाँसको बीउभित्र पैसाको पोको



घाँसको बीउभित्र पैसाको पोको 

मिलन बगाले

(‘एक घर एक रोजगार —प्रयागदत्त तेवारीको कृषिकथा ’: यो किताब  बैशाख १५ गतेबाट बजारमा पुगेको छ, एडुकेशनल इन्टरप्राइजेज, महांकाल मार्फत । बजारमा पुर्याउनुअघि कुनै कर्मकाण्ड गरिएन । बिस्तारै पाठक पाउनेछ, कृषिविदको कथा कृषिप्रधान देशले पढ्नेछ भन्ने आश गरेको छु । यसै किताबभित्रको एउटा अंश मेरो ब्लग शब्दचित्र डटकममार्फत सार्वजनिक गरेको छु । पढ्नुहुनेछ । सबैको जय होस् । ) 

जागिरे जिन्दगी र  जिरी 

२०१७ साल बैशाखमा म पुनाबाट पढाइ सकेर नेपाल फर्किएँ । भारतको अलाहावाद, पुना, बनारस आदि विश्वविद्यालयबाट कृषिमा स्तानक गरेका हामी १७ जना जागिर माग्न सोझै कृषि विभाग गयौ । पढेका मान्छेको हाहाकार थियो देशमा । कुनै प्रतियोगिता या परीक्षामा भिड्नु पर्दैनथ्यो जागिर खान । त्यतिबेला कृषिका डाइरेक्टर चन्द्रवीर गुरुङ थिए । बडा कडा मान्छे थिए यी । मिहिनेत गर्नेलाई प्रोत्साहन गर्थे, कामचोरको सातो लिन्थे ।

म चन्द्रवीरको कार्यकक्षभित्र पसे । स्थायी जागिर माग्न । मैले जागिर मागेपछि उनले सोधे

- Where do you want to go?


आफूलाई जागिर चाहिएको थियो, मैले सासै नरोकी भने ,
-       Where ever you want to send, sir!

उनले फेरि सोधे,
Are you ready to go to Jiri?

-Yes sir,  मैले ढुक्कैले जवाफ फर्काएँ ।

बाफ रे बाफ, उनी दङग परे । मलाई बडाबडा आँखाले हेरे ।

जिरी कोही जान नखोज्ने ठाउँ रहेछ । गए पनि काम नगर्ने, १ —२ महिनामा जागिर छाडेर भागिहाल्ने । एक त दुर्गम, जानै हप्तादिन हिड्नुपर्ने, त्यसमाथि स्विसहरुसँग काम गर्नुपर्ने । स्विसहरु दिनमा १८ घण्टासम्म हाई नकाढी काम गर्थे रे । त्यस्तासँग पढेको कुनचाहिं नेपालीले काम गर्ने ?  त्यहाँ बस्ने स्विस प्राविधिकहरुले आत्मसुरक्षाको लागि आफूसँग पेस्तोल राख्ने गर्थे रे । कति जना त त्यै पेस्तोल देखेर पनि भागेछन् । सबैजना भाग्ने ठाममा जान म ढुक्कले टक्रिएको देखेर डाइरेक्टर तीनछक्क परेका रैछन् । उनले मलाई चारपटक ‘जिरी जाने हो’? भनेर सोधे । मैले हो भनें । ‘ठिक छ त्यसोभए’ , उनले नियुक्तिपत्र लेखिदिए । लौ म त कृषिको स्थायी अधिकृत पो भएँ । ठूलै मान्छे भएँ भन्ठानें । मनमा कुरा खेलेर रातभर सुत्नै सकिन।

जागिर पाएपछि म हाजिर हुन जिरी हिंडें । साथमा भाइ किरण, फुपूको छोरा नृपराज अधिकारी र एग्रोनोमी विभागका प्रमुख नेत्रबहादुर बस्नेत पनि थिए । नेत्रबहादुरको घर चरिकोटको नजिक मकैबारी भन्ने ठाउँमा थियो । त्यहाँ दुई दिन बस्यौ  । नेत्रबहादुरको घरमा पुग्दा रेडियोमा समाचार बजिरहेको थियो । समाचारले मेरो नाम पनि फुक्यो । ‘आज प्रयागदत्त तेवारी जिरीको कृषि फार्ममा अधिकृतको रुपमा हाजिर हुन जाँदै हुनुहुन्छ’ भन्यो समाचारले । मलाई हाँसो उठ्यो । भाइचाहिं मख्ख पर्यो ।

काठमाडौबाट हिंडेको एक हप्तामा जिरी पुगियो । मेरो काम जिरीमा कृषि फार्म स्थापना गर्नु थियो । त्यहाँ SATA (SWISS AGENCY FOR TECHNICAL ASSISTANCE)  का प्राविधिक ग्यान मोन्च  र उनका सहयोगी फुतार्के शेर्पा मात्र थिए । म पुग्दा त्यहाँ गतिलो भवन केही थिएन । एकाध गोठ र खोरहरु मात्र।

सुँगुरको खोरमा डेरा

म जिरी पुग्दा ग्यान मोन्च र एकजना स्विस इन्जिनियर सुँगुरको खोर बनाउँदै थिए । निर्माण पूरा भइसकेको थिएन । मेरो डेराको अत्तोपत्तो थिएन, गाईगोठको पराल राख्ने माथिल्लो कोठामा बसेको थिएँ । सुँगुर ल्याउन १—२ महिना लाग्ने भएपछि मेरो भागमा त्यै गुरको खोर पर्यो । भाइहरु र म त्यै खोरमा बस्न थाल्यौं । खोरमा छानासमेत हालिएको थिएन । बसेको अलि दिनपछि काठको छाना हालियो ।

कृषि विभागले मलाई क्वार्टर बनाउन अलिकता पैसा दिएको थियो । मैले
SATA का आर्किटेक्ट रोबर्ट वाइजेलाई क्वार्टरको नक्सा बनाइदिन अनुरोध गर्दै पत्र लेखें । उनले नक्सा बनाएर पठाइदिए । अलि महिनापछि एकतले क्वार्टर तयार भयो । बस्ने ब्यवस्था मिलेपछि मैले धमाधम काम थालें । कृषि फार्मको जग्गा स्थानीय बासिन्दाले अतिक्रमण गर्न थालेकाले सर्बप्रथम मैले पर्खाल लगाएर जमिन घेर्ने काम थालें । त्यसमा थुप्रो पैसा खर्च भयो । मेरो काममा शुरुशुरुमा मोन्चले चासै दिएन, सहयोग पनि गरेन । कुनचाहिं नयाँ ठग आयो भन्ठान्यो अलिदिनसम्म । ऊ सीप जानेको मान्छे, मलाई त केही थाहै थिएन । उसले धेरैथरी काम जानेको भए पनि स्थानीय बासिन्दासग पटक्कै घुलमिल थिएन । भाषाको पनि समस्या थियो । मोन्च र मैले मिलेर काम गर्यौ  भने गज्जब हुने अनुमान गरें । एकदिन फार्म डुल्दै गर्दा मैले उसलाई  मिलेर काम गर्ने प्रस्ताव राखें । उसले मान्यो र हामी दुवैजना कृषि विभागका डाइरेक्टरलाई भेटन काठमाडौ आयौं ।

डाईरेक्टर जानुकीप्रसाद प्रधान थिए । उनले प्रोजेक्ट कसरी चलाउँछौ ? भनेर सोधे । मोन्चलाई म्यानेजर र मलाई असिस्टेन्ट म्यानेजर बनाउने प्रस्ताव मैले राखें । सरकारी बजेट, नीतिनियम र अन्य काम सञ्चालनको जिम्मा मैले पाएँ, स्विस सरकार र साटामार्फत हुने काम सम्हाल्ने जिम्मा मोन्चको । यो प्रोजेक्टलाई पैसा ‘अमेरिकन एड’ ले दिएको थियो । मोन्च र मेरो रसायन खुब मिल्यो । मजाले काम थालियो ।

घाँसको बीउभित्र पैसाको पोको  

म जिरीमा हाजिर हुन जाँदा विभागले अलिकति पैसो दिएर पठाएको थियो । त्यो पैसोले क्वार्टर बनाएँ, यसोउसो गरें, सक्कियो । त्यसपछि लामो समयसम्म बजेटै आएन । पुसमा हाजिर भएको म । असार मसान्त आउन लागिसक्यो, बजेटै आउँदैन । कतिपटक पत्र पठाए विभागमा, क्यै जवाफ आएन । भएन, किम्बुरेल जिरेललाई साथमा लिएर म काठमाडौ हान्निएँ । साथमा कागतीको धुलो सर्वत र सातु बोकेका थियौं । जहाँजहाँ पानी भेटिन्छ, त्यै कागतीको धुलो सर्वत घोल्दै सातु खाँदै बाटो काटियो । नाम्दुको उकालोमा भोकप्यासले मर्न आटेर प्याकप्याक परेको एकजना पर्यटक भेट्यौं । सातु र कागती खाने हो ? मैले सोधें । बिचरो दङ्ग प¥यो । हुन्छ हुन्छ भन्यो । त्यति खान पाएपछि त्यसको अनुहार प्राणदान पाएको मान्छेको जस्तो देखियो । निगाले, बनेपा आदि ठाउँमा बास बस्दै तेस्रो दिन सिहदरबार आइपुगें र सबैकुरो एकैसासमा सुनाएँ । सुनाउनासाथ चेक तयार पारिदिए । मेरो चिठीलाई बास्तै नगरी बसेका रहेछन् । कस्ताहरु । अनकन्टार ठाउको गुनासोलाई वास्तै नगर्ने ।

बसन्तपुरमा राष्ट्र बैकको अफिस थियो । त्यहाँ गएर चेक साटें । हातमा १० हजारको मुठो पर्यो । यत्रोविधि पैसो त्यस्तो डरलाग्दो बाटोबाट कसरी लैजानु रु मुटु ढक्क फुल्यो । मेरो पालो टन्न घाँसको बीउ किने र त्यै पोकोभित्र पैसा पनि हुलें । ‘लौ किम्बुरेल, यो घाँसको बीउ हो । जतनले बोक है’ भनें । ‘हस्’ भन्यो उल्ले । बिचरोलाई घासको बीउभित्र पैसाको भारी उम्रेको थाहै भएन । कतै लुटिएला कि ! भन्ने डरले म पूरै यात्राभरि पानीपानी भएको थिएँ । त्यतिबेला १० हजार रुपियाँ भनेको निकै ठूलो रकम थियो । चरिकोट पुगेपछि धेरैजसो पैसो पछि लाने सर्तमा त्यहाँको मालअड्डामा राखे र दुई हजारमात्रै लिएर जिरी पुगें  । हनुमन्ते पुल पुग्न आट्दा कालो घोडा चढेको, कालै लुगा लगाएको एउटा डरलाग्दो मान्छे हान्निएर हामीतिर आयो । लौ डाँका आयो भन्ठानेर म त लल्याकलुलुक भएँ । धन्न, डाँका रैनछ त्यो । स्थानीय जम्दार रैछ । ‘हजुरलाई देखेर भेटन आको’ भन्यो । बाघले म्याउ १ गरेजस्तो पो लाग्यो मलाई । ढुक्क भएँ ।

जिरीमा स्कुल स्थापना

जिरी बसेको अलि महिना भइसकेको थियो । त्यतातिर लेखपढको चलन रैनछ । यो कुराले मलाई खुब पोल्यो । म सानैमा बाको पछि लागेर सिन्धुली, धादिङ, बाग्लुङ आदि ठाउँमा पुगेको थिएँ । ती सबै ठाउँमा लेखपढको चलन थियो । औपचारिक पाठशाला नभएपछि पण्डित राखेर पढाउने चलन थियो सबैतिर । मेरो घर, मामाघरतिर पनि पण्डित राखेर पढाउँथे । जिरीको सेरोफेरोमा कतै अक्षर चिन्ने चलन छैन बा । भएन, स्कुल एउटा खोल्नैप¥यो भन्ने अठोट बोकेर काठमाडौ हान्निए ।

बालसखा श्यामसुन्दर गुभाजु शिक्षा विभागमा काम गर्नुहुन्थ्यो । उहाँलाई भनेर मैले सानो पाठशाला चलाउने सरकारी अनुमति लिएँ । जिरी फर्केर एउटा घर बहालमा लिएँ । स्थानीय पण्डित खोजेर मास्टरमा नियुक्ति गरें । मान्छेहरु फाट्टफुट्ट पढन आउन थाले । मलाई दिउँसो फुर्सद हुदैनथ्यो, रातिराति क्वाटर नामको आफ्नै ‘दाउरे कटेरो’ मा लाल्टिन बालेर पढाउन थालें । जिरी फार्ममा काम गर्ने धेरै हली र गोठालाहरुलाई पनि मैले रातिराति पढाउन थालें । फुतार्के शेर्पालाई पनि पढाएँ । त्यतिबेला एउटा जर्मन टिम पुतलीको अध्ययनको लागि जिरी आएको थियो । मैले पिलपिले लाल्टिन बालेर पढाएको देखेर उनीहरुलाई टीठ लागेछ क्यार ! आफूसँग भएको दुइटा पेट्रोम्याक्स (मइन्टोल) दिए । राति मइन्टोल बाल्दा जिरी पूरै झलमल्ल भएझैं भयो । के रमिता यो ! भन्दै सारा मान्छे उल्टिएर हेर्न आए । त्यै पेट्रोम्याक्सको प्रतापले विद्यार्थी फालाफाल भए । खोज्न घरघरै धाउन परेन ।

मैले रातिराति पढाएको देखेपछि मोन्चले शिक्षक खोजेर ल्याउने जिम्मा लिए तलब साटाबाट मिलाइदिन्छु भने । बडा राम्रो प्रस्ताव आयो । म शिक्षक खोज्न काठमाडौ गएँ । श्यामसुन्दर गुभाजुजीलाई भेटेर समस्या सुनाएँ । उहाँले आफ्ना साला बलराम मानन्धर र उनकी श्रीमती गङ्गालाई लैजान भन्नुभयो । बलरामले बिए पास गरेका थिए, उनकी श्रीमतीले आइए । दुबै जान तयार भए । स्विसहरुले भवन बनाउन पनि पैसा दिए । लामो काइदाको टहरो तयार भयो । काठमाडौबाट पढेलेखेका शिक्षक आएपछि फेरि विद्यार्थीको ओइरो पस्यो जिरी स्कुलमा । शिक्षक पुगेन । बलरामकी साली पनि पढेलेखेकी रैछिन्, उनी पनि आइन् । शिक्षक तीन जना भए । पढाउन थालेको एक बर्षपछि उनकी श्रीमती टाउकाको बेथाले बितिन्, तर बलराम बिचलित भएनन् । उनले निकै बर्ष जिरीमा पढाए । मैले दुखले खोलेको र बलराम दम्पतीले दुखले पढाएको त्यो स्कुल पछि जिरी हाइस्कुल बन्यो । त्यो अँध्यारो ठाउँमा शिक्षाको उज्यालो बाँड्न पाएकोमा मलाई अहिले पनि सन्तोष लाग्छ ।

अस्पताल स्थापना

बलराम दम्पतीले ज्ञानको उज्यालो बाँडेझै  ग्यान मोन्चले त्यो भेगका मान्छेलाई धेरैथरी  सीप सिकाएको थियो । उसले नजानेको काम केही थिएन । सिकर्मी, डकर्मी, प्लम्बिङ, खेतीकिसानी, वायरिङ, लेखपढ, नक्साङ्कन, सानोतिनो औषधीमूलो सबै । सिकर्मी, डकर्मी, प्लम्बिङका काम उसले धेरै स्थानीय कामदारलाई सिकाएको थियो ।

मोन्च स्थानीय किसानका गाईभैसीको सानोतिनो उपचार गरिदिन्थ्यो, उनीहरुकै गोठमा पुगेर । गाईभैसीलाई औषधी खुवाएको देखेर उनीहरु उसलाई ‘डाक्टरसाप’ भन्न थाले । हाम्रो जिरी फार्ममा ‘डाक्टरसाप बिरामी भएँ, औषधि चाहियो’, ‘डाक्टरसाप लडेर खुट्टा भाँच्चियो, उपचार गरिदिनु पर्यो’ भन्दै दिनदिनै मान्छे आउन थाले । मोन्चलाई टेन्सन भयो । गाईभैसीलाई औषधि खुवाएको फल यस्तो निस्केको देखेर ऊ तीनछक्क पर्यो । यसपछि उसले जिरीमा एकजना नर्स पठाइदिन साटालाई अनुरोध गर्यो । साटाले Judith Baungarther  
नामकी एक नर्स पठाइदियो । यिनी बडा अनुभवी थिइन् । उनका दाजुले स्विट्जरलैण्डको सिवा कम्पनीमा धेरै बर्ष काम गरेका थिए । उक्त कम्पनीले थुप्रो औषधि पठाइदियो ।

Judith  फार्म हाउस परिसरमा पाल टाँगेर बसिन् र काम थालिन् । हुलका हुल बिरामी आउन थाले । उनले सकेको उपचार गर्न थालिन् । कृषिमा भन्दा शिक्षा र स्वास्थ्यमा जिरीबासीले बढी चासो लिएपछि मैले कृषिको पैसा बचाएर शिक्षा र स्वास्थ्यमा धमाधम लगानी गर्न थालें । शिक्षा र स्वास्थ्य सेवाबाट उनीहरु पूरै बन्चित थिए । कृषि र पशुपालन गर्न त हामीले जानेकै छौ नि, हामीलाई अर्थोक चाहियो भन्थे उनीहरु ।  मैले कृषि फार्म मात्रै चलाउनुसट्टा यसैअन्तर्गत शिक्षा, स्वास्थ्य,पूर्वाधार पनि समेटेर समेटेर  ‘Jiri Multipurpose Development project’ बनाउने प्रस्ताव पठाएँ । पछि ठ्याक्कै त्यही भयो  । हाइस्कुलले पूर्ण स्वीकृति पाएको केही बर्षपछि जिरीमा सुविधासम्पन्न अस्पताल बन्यो ।

मैले फार्म हाउसको पर्खाल घेर्ने काम, स्कुल चलाउने काम, औषधोपचारको ब्यवस्था आदि कामहरु कृषिको बजेटबाट बचाएर गरेको थिएँ । यी कामका लागि विभागबाट स्वीकृति पनि लिएको थिइन । लेखापरीक्षण गर्नेबेलामा मलाई बजेट स्वीकृत नगरी किन काम गरेको ? भनेर विभागबाट आएको लेखापालले समात्यो । मैले डाइरेक्टर जानुकीप्रसाद प्रधानलाई भेटेर स्पष्टीकरण दिएँ । मेरो कुरा सुनेर प्रभावित भएका उनी आफै काम हेर्न जिरी आए । मैले त्यस्तरी काम गरेको देखेर उनी ज्यादै खुशी भए र बधाई दिए । अनि लेखापालको झ्याउलो तेस्सै सल्टियो । यसलाई त अब्बल प्रोजेक्ट पो भन्न थाले । साटाले केरलामा प्रोजेक्ट थाल्दा यसैलाई ‘रोल मोडल प्रोजेक्ट’ मानेर काम थाल्यो ।
(मिलन बगालेको नयाँ पुस्तक 'एक घर एक रोजगारबाट')

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>