बैङ्गलोरमा नर्सिङ : ठगिदैछन विद्यार्थी

- "बैङ्गलोरमा नर्सिङ पढ्न आउने अधिकांशको पैसा  र समय त बर्बाद हुन्छ हुन्छ, भविष्य पनि डामाडोल हुने खतरा छ।"


-"त्यहाँ बिरामी छुन पाइँदैन।  अस्पतालको बेड मिलाउने र बिरामीले पिसाब गरेको ट्रे सफा गर्ने काममात्र लगाउँछ। कलेजमा पढाइ पनि हुँदैन, सबै आफैँले पढ्नुपर्छ। राम्रा शिक्षक पनि पाइँदैनन्। कलेजलाई व्यापारका रूपमा मात्र हेर्छन्। मलाई यहाँ आएकोमा पछुतो लागेकोछ ।"


-"नेपालमा पढाइ महँगो भएर बैङ्लोर पढ्न आएको योग्यता, ज्ञान र सीप होइन कागजको खोस्टो बोकेर फर्किनु पर्ने भयो । नेमले त्यहाँ भनेका ८० प्रतिशत भन्दा बढी कुरा झुटो रहेछ । यस्तो बेइमानी ढंगले विद्यार्थीलाई फँसाएर कन्सल्टेन्सीहरूले पैसा कमाइरहेका छन् ।"


बैङ्गलोरको नर्सिङ शिक्षा सम्बन्धी स्थलगत रिर्पोटिङका क्रममा हामी १५ वटा कलेजमा एजेन्ट बनी पुगेका थियौं र पत्रकारका रूपमा तीकलेजमा अध्यनरत विद्यार्थीलाई भेटेका थियौं । भेटघाटका क्रममा विद्यार्थीले साटेको अनुभव हामीले जस्ताको तस्तै यहाँ प्रस्तुत गरेका हौं। केही विद्यार्थीले वास्तविक नाम नराखिदिन आग्रह गरेकाले उनीहरूको नाम परिवर्तन गरिएको छ।

अभिभावक पनि दोषी

प्रतिभा गजुरेल
नर्सिङविद्यार्थी, बैङ्गलोर


बैङ्गलोरमा नर्सिङ पढ्ने नेपालीको संख्या धेरै छ। अधिकांश विद्यार्थी नराम्रो कलेजमै भर्ना भएका छन्। नेपाली विद्यार्थी पहिला ठगिने भनेको नेपालकै कन्सल्टेन्सी बाट हो। उनीहरूले झुटो कुरा सुनाएर विद्यार्थीलाई फसाउँछन्। कति विद्यार्थी यहाँ आएपछि पनि ठगिएका छन्।
म पनि कन्सल्टेन्सी बाटै ठगिएँ। मैले बैङ्गलोरमा कलेज फेर्नु प¥यो। कलेज फेर्दापनि धेरै दुःख पाएँ। यहाँ राम्रा कलेज पनि छन्। तर, राम्रा कलेजमा नेपाली विद्यार्थी कमैले मात्र पढ्छन्। कन्सलटेन्सीले कमिसनको लोभमा राम्रा कलेजको जानकारी नगराएको हुनुपर्छ। कतिले राम्रा कलेजको नाम बेचेर झुर कलेजमा विद्यार्थी पठाउँछन्। धेरै नर्सिङ कलेज त नेपाली विद्यार्थीको भरमा चलेका छन्। यस्ता कलेजमा पढाइ गुणस्तरीय हँुदैन र खाने–बस्ने व्यवस्थापनि राम्रो हुँदैन ।

दोष कलेजलाई मात्र दिएर हुन्न। पहिलो दोषी कन्सल्टेन्सी वा एजेन्ट र दोस्रो अभिभावक हुन्। नराम्रा एजेन्टले तल्लो स्तरका कलेजमा ल्याएर विद्यार्थी थुपार्छन, फर्किएर पनि आउँदैनन्। विद्यार्थीलाई थोरै पैसाको लोभ र गलत जानकारी दिएर एजेन्टले झुक्याउँछन्। अभिभावकले पनि कलेजबारे बुझ्दै नबुझी एजेन्टको भरमा विद्यार्थी पठाउनाले समस्या भएकोछ। कति विद्यार्थी त यहाँ आए पछि मानसिक बिरामी समेत हुन्छन्। कलेजले एउटै कोठामा विद्यार्थी थुनेर राख्छ। कति कलेजले त विद्यार्थीलाई बाहिर निस्कन समेत दिँदैनन् ।
म पनि ठगिएको हुनाले के भन्न चाहन्छु भने, अभिभावक आफैँ यहाँ आएर कलेजबारे राम्रोसँग बुझेर मात्र आफ्ना छोरीलाई पढ्न पठाउनुहोस्। यहाँ विद्यार्थीले चारवर्ष बिताउनु पर्ने भएकाले तपाईंले चारदिन यहाँ आएर कलेजबारे बुझ्दा उसको भविष्य सुनौलो बन्न सक्छ। छोरीलाई नर्सिङ पढाउन पाँच–सात लाख रुपैयाँ भन्दा बढी पैसा खर्च गर्न सक्ने अभिभावकले अरू ३०–४० हजार रुपैयाँ खर्च  गरेर बैङ्गलोरमै आएर कलेज, पढाइ, होस्टेल, अस्पताल आदिबारे सम्पूर्ण कुरा बुझेर निर्णय गरिदिए धेरै दिदी बहिनीले रुनुपर्ने थिएन।
मेरो बिन्ती यहाँ नआउनोस्

प्रतिमा  (नामपरिवर्तन)
के आर कलेज अफ नर्सिङ, बैङ्गलोर


ग्लोबल एजुकेसनल कन्सल्टेन्सी, पुतली सडकबाट बीएस्सी नर्सिङ गर्न यहाँ आएकी हुँ। कन्सल्टेन्सीले नेपालमा भनेका सबै कुरा यहाँ आउँदा झुटो साबित भयो। नर्सिङ पढ्न बैङ्लोर आउनु मुर्खता रहेछ। हाम्रो कलेजको आफ्नो अस्पताल छ, तर त्यहाँ बिरामी छुन पाइँदैन। विद्यार्थी सिकारु हुने भएकाले अस्पतालले जोखिम लिन चाहँदैन। अस्पतालको बेड मिलाउने र बिरामीले पिसाब गरेको ट्रे सफा गर्ने काममात्र लगाउँछ। कलेजमा पढाइ पनि हुँदैन, सबै आफैँले पढ्नुपर्छ। यहाँ धेरै कलेज भएकाले राम्रा शिक्षक पनि पाइँदैनन्। कलेजलाई व्यापारका रूपमा मात्र हेर्छन्। मलाई यहाँ आएकोमा पछुतो लागेकोछ ।

कन्सल्टेन्सीले ‘छात्रावासमा स्विमिङपुल छ, राम्रो पढाइ हुन्छ, एकजनालाई एउटा कोठामा राख्छ’ भन्यो। तर यहाँ १२ जना एउटै कोठामा खाँदिएर बस्नुपरेकोछ। कति साथी त मानसिक तनाबका कारण घर फर्किएका छन्। हामी सँगैकी एकजना साथीले दिक्क भएर आत्महत्याको प्रयास समेतगरेकी थिइन्। कन्सल्टेन्सीले प्याकेजमा चारलाख रुपैयाँ लाग्छ अरूपैसा खर्च हँुदैन भनेको थियो। यहाँ भने घरभाडामा बसेजस्तो पानी र बिजुलीको अलग पैसा तिर्नुपर्छ । खाना पनि राम्रो हुँदैन । जति कम्प्लेन गरेपनि सुन्ने होइनन् ।
चिट चोराएर पास गराउँछु भन्दै पैसा माग्छन् । पैसा नदिए हल्ला गरे परीक्षामा लेख्नै दिँदैनन् । यो कलेजमा त नेपालबाट परीक्षामात्र दिन आउने विद्यार्थी पनि धेरै छन्। पैसा दिए जे पनि हुन्छ यहाँ । उनीहरूले भनेको नमाने इन्टरनल नम्बर कम दिएर फेल गराइ दिन्छन् । प्याकेज फि पनि विद्यार्थी अनुसार फरक छ। यो कलेजमा ६५ जना नेपाली विद्यार्थी छौं । सबैको भविष्य अन्धकार जस्तै भएको छ । मेरो बिन्ती यहाँ नआउनोस् ।

पहिलो वर्ष रोएरै बिताइयो

रोशनी (नामपरिवर्तन)
इन्डियन एकेडेमी कलेजअफ नर्सिङ, बैङ्गलोर


पुतली सडकको इन्डोवर्ड कन्सल्टेन्सी बाट हामी ४४ जना विद्यार्थी एकै पटक आएका हौँ। दुई जना फर्किएका छन् । यो कलेजमा अहिले ८४ जना नेपाली विद्यार्थीले नर्सिङ पढिरहेका छन्। इन्डो वर्डले कलेजको भवन पनि अर्कै देखाएर हामीलाई झुक्यायो। पहिलो र दास्रो वर्षमा त बिरामी पनि मुस्किलले देख्न पाइन्थ्यो । पहिलो वर्ष त रोएरै बिताइयो । भाषा समस्याका कारण पढाएको पनि बुझिँदैन । चार वर्षमा चार वटा हस्टेल परिवर्तन भयो । यहाँ पढ्न आउनु भनेको पछुताउनु मात्र हो । नेपाल पर्केर के गर्ने भन्ने चिन्ताले सताइ रहेको छ । इन्डोवर्डले ८० प्रतिशत झुट कुरा गरेर हामीलाई फँसायो ।

सम्बन्धन नै नपाएको कलेजमा भर्ना

सिता गुरुङ (नाम परिवर्तन)
विद्यार्थी, एम एस्सी नर्सिङ
सम्भरम कलेज अफ नर्सिङ, बैङ्गलोर


म सन् २००४ मा पुतली सडक स्थित एक कन्सल्टेन्सीबाट बीएस्सी नर्सिङ पढ्न यहाँ आएको थिएँ । हामी १५ जना थियौँ । सुरुमा होटलमा १५ दिन राख्यो । बैङ्गलोरमा पढाउने भनेर ल्याए पनि हामी १० जनालाई कोलार भन्ने ठाउँमा पु¥यायो । अर्कै डेन्टल कलेजको भवन देखाएर ‘यही हो कलेज’ भन्दै भर्ना गरायो । म सँग आउनु भएको बुबा डेन्टल कलेजको भवन देखेर खुसी हुँदै फर्कनु भएको थियो । त्यो कलेज त दर्ता नै भएको रहेनछ । एक महिना सम्म पढाइ पनि भएन । शिक्षक पनि दुई जना मात्र थिए । प्रिन्सिपल पनि झुटो देखाएको रहेछ । कलेजलाई काउन्सिलले सम्बन्धन पनि दिएको रहेनछ ।
सबै कुरा थाहा पाएपछि हामीले ‘पढ्दैनौँ नेपाल फर्कन्छौ भनेर पैसा फिर्ता माग्यौँ । दुईलाख ४० हजार नेपाली बुझाइसकेका थियौँ । कलेजले पैसा फिर्ता गर्न मानेन । छाडेर जान पनि मिलेन । कलेजले केही समय पर्ख पढाइ हुन्छ भन्यो । करिब तीन महिना पछि पढाइ सुरु भयो ।भाग्यले साथ दिएर होला, दास्रो वर्षमा कलेजले बल्ल सम्बन्धन पायो ।
कन्सल्टेन्सीले पहिलानै सक्कली प्रमाणपत्र मागेर अप्ठ्यारोमा पारेको थियो। जसले गर्दा कलेज चेन्ज गर्न पनि मिलेन । यहाँ आउनु अघि कलेजबारे राम्रोसँग बुझेर मात्र आउनुपर्छ । अहिले म राम्रो कलेज खोजेर एम एस्सी नर्सिङ पढिरहेकी छु । मैले जस्तो दुःख अरूले नपाउन् ।

कन्सल्टेन्सीको बदमासी

रुबिना (नाम परिवर्तन)
आचार्य कलेज अफ नर्सिङ, बैङ्गलोर


म नेम इन्स्टिच्युटको बदमासीका कारण फस्न पुगेँ । नेपालमा पढाइ महँगो भएर बैङ्लोर पढ्न आएको योग्यता, ज्ञान र सीप होइन कागजको खोस्टो बोकेर फर्किनु पर्ने भयो । नेमले त्यहाँ भनेका ८० प्रतिशत भन्दा बढी कुरा झुटो रहेछ । यस्तो बेइमानी ढंगले विद्यार्थीलाई फँसाएर कन्सल्टेन्सीहरूले पैसा कमाइरहेका छन् । नेमले पढ्न जति खर्च लाग्छ भनेर दाबी गरेको थियो, त्यो भन्दा बढी लाग्यो । त्यो खर्चले त नेपालमै पढ्न पुग्ने रहेछ । दैनिक भारतीय चार सय रुपैयाँ तिरेर प्राक्टिकल गर्नुपर्छ । यो अस्पतालले लिने भन्दा दोब्बर शुल्क हो । गुनासो ग¥यो भने उल्टै नम्बर दिँदैनौँ भनेर थर्काउँछन् । कन्सल्टेन्सीले चार पटक खाना खुवाउँछ र नेपालीले पकाएको नेपाली खानानै खुवाउँछ भन्थ्यो । यहाँ त खाजा पनि आफ्नै पैसाले खानुपर्छ । कलेजको आफ्नो अस्पताल पनि छैन । नेमले नराम्रो सँग फँसायो । कलेजको एउटा मात्र भवन छ । पढाउँदा पनि बच्चालाई जस्तो व्यवहार गर्छन् । शिक्षक पनि दक्ष छैनन् । केही साथी त आजित भएर बीचमै पढाइ छाडेर पनि फर्किन्छन् । झुटो कुरा र आश्वासन बाँडेर सयौँ नेपाली चेलीलाई पढ्न पठाउने बहानामा यस्तो अलपत्र बनाउन जिम्मेवार कन्सल्टेन्सीलाई सरकारले कारबाही गरोस्।

भविष्यै डामाडोल हुने खतरा

रमिला (नाम परिवर्तन)
इन्डो एसियन एकेडेमी, बैङ्गलोर


शान्ति नगर स्थित इन्डो एसियन कन्सल्टेन्सी बाट म बैङ्लोर आएकी हुँ । कन्सल्टेन्सीले कलेजको आफ्नै अस्पताल छ भन्यो तर रहेन छ । नेपालमा एक वर्ष लस हुन्छ भनेर यहाँ आएको तर यहाँ त चार वर्षको पढाइनै लस होला जस्तो छ ।ब्याज खाने चुत्थो साउँ पनि फुत्क्यो भने जस्तै छ । वर्षमा एक महिना अस्पताल लान्छ, त्यो पनि घुम्यो, फर्कियो । बिरामी छुन पाउने त चान्सै छैन । मलाई लाग्छ, कलेज थपेरै भए पनि यहाँ आउने विद्यार्थीलाई नेपालमै नर्सिङ पढ्ने व्यवस्था मिलाउनुपर्छ । नेपाल सरकारले नर्सिङमा विद्यार्थी कोटा बढाउने हो भने पनि धेरै विद्यार्थी यहाँ आएर ठगिन पर्ने थिएन । म नर्सिङ विद्यार्थीलाई सके सम्म नेपालमै पढ्न पनि आग्रह गर्छु ।

बैङ्गलोर मा प्राक्टिस गर्न पनि नेपालमा जस्तो सजिलो छैन । निजी कलेजले बिरामी छुन दिँदैनन्भने सरकारी कलेजमा भाषाको समस्या हुन्छ । राम्रो नर्स बनेर बिरामीको सेवा गर्छु भनेर यति टाढा पढ्न आइयो, तर आफैँ बिरामी हुने अवस्था आइसक्यो । बैङ्लोरमा नर्सिङ बढेकाले नेपालमा जागिर पनि पाउँदैनन्भन्ने सुन्छु । के सपना बोकेर आइयो अब के हुने हो भन्न सक्ने अवस्था छैन । मेरो अनुभवमा बैङ्गलोरमा नर्सिक पढ्न आउने अधिकांशको पैसा  र समय त बर्बाद हुन्छ हुन्छ, भविष्य पनि डामाडोल हुने खतरा छ।


(स्वास्थ्यखबरपत्रिका)

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>