सफलताका १५ वर्ष : गोरखा डिपार्टमेन्ट स्टोर
चौधवर्षअघि धरान रोडको एउटा भवनको भुईतल्लाबाट सुरु गरीएको गोरखा डिपार्टमेन्ट स्टोर आजको दिनमा पूर्वाञ्चलको सबैभन्दा ठूलो डिपार्टमेन्ट स्टोर बन्न सफल भएको छ । धेरै प्रकारका सामान पाइने स्टोर पहिलो पटक इटहरीमा खुलेपछि ग्राहकहरु आकर्षित भए ।
डिपार्टमेन्ट व्यवशायबाट राम्रो हुने देखेर इटहरीमै अन्य दुई वटा स्टोर सुरु गरिए । तर ती डिपार्टमेन्ट स्टोरहरु आफ्नो पुरानो अवस्थाबाट माथि उठ्न सकेका छैनन्, जबकी गोरखाले ६ तलाको विशाल भवनमा सवा दुई लाख प्रकारका सामानहरु समेटेको छ । १४ जना कर्मचारीबाट सुरु गरेको स्टोरमा चार सयको हाराहारीमा कर्मचारीहरु छन् । त्यतीमात्र होइन, नुनदेखि सुनसम्म र चटपटेदेखि तारे होटलमा पाइने स्वाद समेत स्टोरले पस्केको छ भने पछिल्लो समयमा बेकरी आइटम, पानीको उत्पादन समेत सुरु गरिसकेको छ । तरकारीदेखि ब्राण्डेड सामाग्रीलाई एउटै भवनबाट बेच्न सफल गोरखाका प्रमुख बलराम आचार्यले आइतबार डिपार्टमेन्ट स्टोरको १५ औं वार्षिकोत्सव पत्रकार तथा स्टोरका कर्मचारीहरुसँग मनाउँदै धरानमा समेत शाखा स्थापना गर्ने उद्घोष गरे ।
धरानमा ५ कठ्ठा १२ धुर जग्गा किनिसकेको जनाउँदै असारबाटै निर्माण सुरु गर्ने उनले जानकारी दिए । दमक, बिर्तामोड, विराटनगरमा पनि शाखा विस्तारको योजना बनाएको उनले बताए ।
प्रत्येक दिन १५ हजारसम्म ग्राहक डिपार्टमेन्ट स्टोरमा किनमेल गर्न आउने बताउँदै आचार्यले नेपालका साथै भारतबाट समेत सामान किनमेल गर्न स्टोर आउने गरेको जानकारी दिए ।
आचार्यले गोरखा जल उद्योगको नामबाट सफा पानी ब्राण्डको ड्रिङ्किङ वाटर उत्पादन गरी बिक्रि थालिएको जनाए । आचार्यकै संलग्नतामा सात जनाको समुहले इटहरीमा तीन तारे होटल समेत बनाइरहेका छ ।
आचार्यले ५० लाख बढीको भवन बनाउँदा ठेक्का लाउनुपर्ने बाध्यात्मक नियमले समस्या उत्पन्न गरेको गुनासो गरे । यस्तै ऋणको ब्याजमा पनि भ्याट तिर्नुपर्ने नियमलाई खारेज गर्न समेत माग गरे ।
प्रतिक्रिया दिनुहोस् >>

