अपडेटसहित : पश्चिम नेपालमा बाढी र पहिरो (भिडियोसहित)
Posted by
purwanews
Published on
Monday, June 17, 2013
बाग्लुङ- वर्षाको समयमा कम पानी पर्ने मुस्ताङमा भिषण वर्षापछि धनजनको क्षति भएको छ। वर्षासँगै आएको भेलले बगाएर धादिङ घर भइ मुस्ताङमा ज्यालादारी गर्ने नाम नखुलेका एक जना बेपत्ता भएका छन्।
कागवेनी-९ तिरी खोलामा आएको भेलले दुई घर र २६ गोठ बगाएको मुस्ताङका प्रहरी निरीक्षक चुरा बहादुर कार्कीले बताए। गोठ बगाउँदा २४ गाई र ८ गधा मरेको प्रारम्भिक विवरण आएको आएको उनले बताए। 'दुई घर बगाएको भएपनि मानवीय क्षति भएको छैन,' उनले भने, ' आठ घरमा बाढीले असर पुगेकोछ।'
निरन्तर वर्षा भएकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले बताए। खोला बढेर मार्फा गाउँ र कागबेनीको पिरी गाउँडुबानको खतरामा परेको छ। घटनास्थलमा नेपाली सेना, सशस्त्र, जनपद खटाएर उद्दारको काम भैरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी लक्ष्मीराज शर्मा गौतमले बताए।
वर्षाले दुईदिन देखि बेनी-जोमसोम सडक अबरुद्ध हुँदा मुस्ताङ जाने र फर्कने पर्यटकको विचल्ली भएको छ। प्रतिकुल मौसमका कारण पोखरा-जोमसोम रुटमा जहाज चलेका छैनन्।
बाढीकै कारण म्याग्दीको घतानमा चार घर भत्किएका छन्। घतान–८ का पदमबहादुर चोखाल, चन्द्रबहादुर चोखाल, फौदबहादुर चोखाल र तोरे नेपालीका घर भत्किएको प्रहरीले जनाएको छ। त्यस्तै सिंगा—३ सुर्केमेलामा रहेको शिवालय प्राबिको भवन नदी कटानका कारण जोखिममा परेपछि पठनपाठन बन्द गरिएको छ।
वर्षाले मध्य पहाडीको बाग्लुङ बजारदेखि बुर्तिवाङ सडक खण्डमा सवारी नचल्दा सयौँ यात्रु बाग्लुङमा अलपत्र परेका छन्। बजारदेखि रिजाल चोकसम्म गाडि पुगेपछि त्यस उता सबै अबरुद्ध छ। विभिन्न ठाउँमा पहिरा गएपछि जिल्लाका कुनैपनि ग्रामिण सडकमा सवारी संचालन गर्न नसकेको धौलागिरी जिप व्यवसायी समितिका सचिब विष्णु अधिकारीले बताए। पर्वतका ग्रामिण क्षेत्रमा चल्ने सबै सवारी रोकिएका छन्।
चितवन -४ असार: सिंचाइका लागि भारतको उत्तर प्रदेश र बिहार पानी लैजान बनाइएको गण्डक बाँध कारण नेपाली गाउँ डुबानको खतरामा परेका छन्। नारायणी पारिको सुस्ता र वारिका डेढ सय गाउँ डुबानको खताराले त्रसित छन्। बाढी आएसँगै गण्डकबाँध हुँदै भारत जाने पानी नहरमा नपठाई बाँधका ढोका खोलिएका छन्।
बेगले बगेको नारायणीले नेपाली गाउँमा कटान थालेको छ। नदी छोएका केही गाउँका खेतबारी बगाइसकेको छ भने अरुतिरका स्थानीय बाढी पस्ने त्रासमा छन्।
गण्डकबाँध भत्किए विग्रिए भारतले बनाउने सहमतीमा उल्लेख छ। तर ठाउँ ठाउँमा भत्किएका ठोकर र बाँध समयमै मर्मत नहुँदा स्थिति भयावह बनेको हो।
'गएको वर्ष एकसय ६३ मिटरको १२ नम्बरको ठोकर बाढीले भत्काएर सोमबारसम्म ५३ मिटर बनायो स्थानीय प्रेमचन्द गुप्ता भन्छन्- 'मंगरबार बिहान थप दशमिटर बढी भत्काएर ४० मिटरमा ठोकर खुम्चिसक्यो।' १२ नम्बर जस्तै ११ र १३ नम्बरका ठोकर गाउँ जोगाउन नदी तटमा निर्माण गरिएका हुन। तर अविरल वर्षापछिको बाढीको बेग थेग्न नसकेपछि ती ठोकरहरु गाउँतिरै खुम्चिदै गएका छन्।
'वर्षदिन अघि तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई आएर तत्काल बनाउन पहल गर्छु भन्नुभयो त्यसको एकवर्षमा पनि भत्केका ठोकर निर्माण भएनन्], उनी भन्छन्- 'परिणाम नारायणीको वेग गाउँतिर सोझिदैछ।'
सुर्खेत-४ असार: सान्नीगाड खोलामा बाढी आउँदा कालीकोटमा १९ व्यक्ति हराएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी जगत बस्नेतका अनुसार सदरमुकाम मान्मदेखि एक दिन पैदल टाढा पर्ने मुम्रा र सिपखानाको बीचमा पर्ने खोलामा राति करिब ३ बजे आएको बाढीले स्थानीयका २० वटा घरसमेत बगाएको छ।
बाढीमा परेर कालीकोट जिल्ला विकास समितिका ओभरसियर कृष्ण न्यौपाने, सवओभरसियर टक्कबहादुर बम, हेल्भेटासका इन्जिनियर करण धामीलगायत बेपत्ता छन्। दुईजनाको शव भेटिए पनि विस्तृत जानकारी आउन नसकेको प्रजिअ बस्नेतले बताए।
उनका अनुसार घटनास्थल नेपाली सेना र प्रहरीको टोली गएको छ। सञ्चार सम्पर्क नहुँदा यसबारे विस्तृत जानकारी आउन नसकेको प्रजिअ बस्नेतले बताए।
४ असार, दैलेख । अविरल बर्षापछि आएको पहिरोमा पुरिएर दैलेख र बैतडीमा १२ जनाको मृत्यु भएको छ । दैलेखको मालिका- ७ का ३० बर्षीय मोहन कुमालको घर पुरिँदा कुमाल सहित उनकी श्रीमती २७ बर्षीया तुलसा कुमाल, छोराहरू ११ वर्षीया गणेश कुमाल, ७ बर्षीया खगेन्द्र कुमाल, ६ बर्षीया नगेन्द्र कुमाल तथा छोरीहरू ३ बर्षीया विष्णा कुमाल र २ बर्षीया सुन्तली कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकामबाट टाढा पर्ने भएकाले उद्दारका केही ढिलार्इ भएको प्रहरीले जनाएको छ ।
यस्तै दैलेखकै तल्लो डुंगेश्वरबजार नजिक रहेको लोहोरे खोलामा आएको वाढीले खोला किनारमै रहेका बादी समूदायका २५ वटा घर बगाएको छ । यसैगरी सात तला-१ रामाघाट बजारमा रहेका ५ वटा घर रामाघाट खोलाले बगाएको प्रहरीले जनाएको छ । वर्षाकै कारण सडकमा पहिरो खसेपछि सुर्खेत-दैलेख सडकखण्ड तथा कर्णाली राजमार्ग अबरुद्ध भएको छ । ठाउँ ठाउँमा पहिरो खसेकाले बाटो अबरुद्ध भएको प्रहरीले जनाएको छ ।
यसैवीच राससका अनुसार बैतडीको सिद्धेश्वर-९ मा गएको पहिरोमा पुरिएर एकै घरका पाँचजनाको ज्यान गएको छ । अविरल वर्षापछि आएको गएराति आएको पहिरोले घर पुरिदा सिद्धेश्वर-९ का रामसिंह ऐरको परिवार पहिरोमा परेको हो । पहिरोमा परी २६ वर्षीया सीता ऐर, निजका एक वर्षीय नाबालक छोरा अर्जुन तथा तीन वर्षीया छोरी विन्देश्वरी, ३४ वर्षीया कलावती र उनका १२ वर्षीया छोरा परमेश्वर रहेको प्रहरीले जनाएको छ । पहिरोमा परेकाहरूको स्थानीय खोड्पे प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पाटनबाट गएको टोलीले उद्धार कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख मनोज शाहीले बताउनुभयो ।
उहाँका अनुसार पहिरोमा परेको घरबाट चारजनाको लास प्रहरी र स्थानीय बासिन्दाले निकालिसकेका छन् भने १२ वर्षीया परमेश्वरको लास पुरिएकै अवस्थामा रहेको छ । भिरालो ठाउँमा रहेको घरको दुवैतर्फबाट राति पहिरो गएकाले मृतकहरूले उम्किने मौकासमेत नपाएको प्रहरीले जनाएको छ । सातजनाको ऐर परिवारमध्ये करन र उनका बुवा रामसिंह स्थानीय खोड्पे बजारमा व्यापार गरी बस्ने गरेका थिए । उनीहरू दुवै बाबुछोरा राति पसलमै बसेकाले बाँच्न सफल भएको प्रहरीले बताएको छ । पहिरोमा परी १० वटा, बाख्रा, एक राँगो र दुईवटा गाईसमेत पुरिएको प्रहरीले जनाएको छ ।
धाप ५ की सरस्वती रैखोला बेपत्ता भएकी छिन् । नदीमा दाउरा खोज्न गएका बेला बाढीले बगाएको हो । शैक्षिक तालिम केन्द्र, जिल्ला बन कार्यालय, स्वास्थ्य कार्यालयको शव गृह, गल्फैका ६ घर र एक क्लिनिक पनि बगाएको छ । छापरीमा तातोपानी मन्दिर र ४ वटा पसल बगाएको छ । ब्रहृमदेव कालागाड खोलाको लघु जलबिद्युत योजनाको पावर हाउस बगाएको छ । जिल्ला अस्पताल छेउसम्म नदी पुगेकाले बिरामीलाई अन्यत्र सारेको दार्चुलाका प्रहरी नायब उपरीक्षक कुबेर कडायतले बताए । भूसंरक्षण कार्यालय, जिविस, खुलामञ्च लगायतका क्षेत्र उच्च जोखिममा छन् ।
आईतबार राती खलंगा ५ बागाबगड, रिगनेताल क्षेत्रका ३० घरटहरा बगाएको थियो । सदरमुकामका बासिन्दा घरछाडेर डाडा तिर उक्लिएका छन् । प्रहरी, सेना र स्थानीय उद्घारमा खटिएपनि लगातारको वर्षाले समस्या भएको प्रहरीले जनाएको छ । सीमा पारीको भारतीय बजार धार्चुलामा २० घर बढी बगाएको छ ।
यस्तै, महाकालीमा बहाव बढेपछि बैतडी प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहनन सूचना गरेको छ । बैतडीका सेरा, जुलाघाट लगायतका क्षेत्र जोखिममा छन् ।
महेन्द्रनगर - दार्चुलामा बाढी हेर्न गएकी एक महिलालाई महाकालीले बगाएको छ। आज बिहान बाढी हेर्न गएकी धाप गाविस–५ की ३० वर्षीया सरस्वती रैखोलालाई महाकालीले बगाएको हो। उनि बाढी हेर्न घर नजिकैको महाकाली नदी किनार पुगेकी थिइन्। बाढीले बगाएकी रैखोलाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
तीन दिनको लगातारको वर्षाका कारण महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकाम नजिकैको एउटा बस्ती नै बगाएको छ। बाढीले दार्चुला सदरमुकाम खलंगा–४ स्थित दलित बस्ती बगाएको हो।
बाग्लुङ - तीन दिनदेखिको अविरल वर्षाले बेनी—जोमसोम सडक अबरुद्ध बनेको छ। सो सडक खण्डको म्याग्दी भिरकाटेमा कालीगण्डकीमा पानीको बहाब बढेपछि आज बिहानदेखि सवारी आवतजावत गर्न सकेका छैनन्। प्रतिकुल मौसमका कारण जोमसोम— पोखरा हवाई सेवा समेत सञ्चालनमा नआएकोले सडक मार्ग बन्द भएपछि पर्यटक अलपत्र परेका छन्।
पाल्पा - सिद्धार्थ राजामार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्ड वर्षातका कारण पहिरो खसेर ठाउँ ठाउँमा अवरुद्ध भएको छ। गए रातिदेखि सडक अवरुद्ध भएको हो।
भारी वर्षाका कारण पाल्पाका ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन्। पाल्पा बुटवल सडक खण्डको २४ माइल, वर्तुङ र कालीमाटीमा पहिरो खसेको छ। लगातारको पानीकै कारण हिजो पाल्पाको देउरालीमा दुई बच्चाको वर्षाले जमेको पानीमा डुबेर मृत्यु भएको छ।
यहाँको अन्न भण्डार भनेर चिनिने माडीफाँट डुवानमा परेको छ। पाल्पाकै डुम्रेमा बनेको डेढ करोड लागतको निर्माणाधिन पुल खोलाले बगाएको छ।
महेन्द्रनगर - तीन दिनको लगातारको वर्षापछि महाकाली नदीमा पानीको वहाव बढेको छ। महाकालीमा बाढी आउँदा दार्चुला सदरमुकाम खलंगामा रहेको एउटा बस्ती नै बगेको छ। बाढीले खलंगा–४ स्थित दलित वस्ती बगाएको हो। आइतवार रातभर प्रहरी र स्थानीयले उक्त वस्तीका वासिन्दालाई सुरक्षित स्थानमा लगिरहे।
दशकौंयताकै उच्च बाढी आएपछि दार्चुला सदरमुकाम खलंगा यतिवेला जोखिममा छ। स्थानीय पत्रकार भोजराज जोशीले जानकारी दिए अनुसार नेपाल–भारत जोड्ने सीमा पुल खतरामा छ। बाढी पुलसम्म पुगेपछि उक्त पुल भएर आउ–जाउ बन्द गरिएको छ। खलंगाको वाँगावगडदेखि गल्फैसम्मका नदी किनारका घरहरु जोखिममा छन्। बाढीले घर बगाउने क्रम जारी छ। 'कति घर बगायो भन्ने एकिन तथ्याङ्क छैन,' पत्रकार जोशीले फोनमा भने, 'मैले देखेको महाकालीमा ३० वर्षयताकै बढी बाढी आएको छ।'
बाढीले अहिले गल्फैस्थित जिल्ला वन कार्यालय र भु संरक्षण कार्यालय बगाइरहेको छ। लगातार बाढीले कटान गरिरहेको छ। प्रहरी, सेना र स्थानियले नदी किनारका वासिन्दालाई सुरक्षित स्थातर्फ लगिरहेका छन्।
यता कञ्चनपुरमा महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ। पहाडी जिल्लामा लगातारको बर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको हो। सोमवार बिहान ६ बजे गरिएको मापन अनुसार महाकालीमा पानीको बहाव १ लाख ६१ हजार २ सय ७८ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आइतबार रातिसम्म पानीको बहाव १ लाख २२ हजार क्युसेक पुगेको थियो।
आइतबार साझँदेखि महाकाली नदीको बीच टापुमा सवारीसाधनसहित थुनिएका सर्वसाधारणहरुको उद्धार कार्य जारी रहेको छ। पानी बढेपछि ढुंगा, गिट्टी र बालुवा लिन गएका २३ जना सर्वसाधारण टापुमा थुनिएका थिए। उनीहरुलाई उद्धार गर्न नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी लागि परेपनि पानीको बहाव बढिरहका कारण उद्धार गर्न सकिरहेको छैन्।
अहिले स्थानीयले ट्युवको मद्यतमा टापुमा थुनिएकाहरुको उद्धार गरिरहेको छ। अहिलेसम्म नौ जनाको उद्धार गरिएको छ। अझै १४ जनाको उद्धार हुन वाँकी छ। 'उद्धार कार्य जारी छ,' टापुवाट उद्धार गरिएका नवराज पन्तले फोनमा भने। यसरी बग्यो दार्चुलामा घर:
video by : mahendranagar, nepal
प्रतिक्रिया दिनुहोस् >>