नयाँ डाक्टर देखी साबधान !! नाजुक छ मेडिकल कलेजको पढाई

निजी क्षेत्रका कतिपय मेडिकल कलेजको परिणाम हेर्ने हो भने लाग्दछ यहाँका विद्यार्थी पढाईले होइन, केवल भाग्यले मात्रै पास हुन्छन् । यस्तो दयनीय हालत हुँदा पनि विद्यार्थी, अभिभावक, कलेज सञ्चालक र विज्ञले समेत चासो दिएका छैनन् । मेडिकल कलेजको पढाई कति नाजुक छ भन्ने हेर्न केही दिनअघि मात्रै सार्वजनिक भएको काठमाडौ विश्वविद्यालय अन्र्तगतका मेडिकल कलेजको प्रथम बर्षको नतिजा मात्रै हेरे पुग्छ । सो नतिजाअनुसार सबैभन्दा बढी विद्यार्थी राजधानीको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा फेल भए  ।



कोही डाक्टरी पढ्दैछ भने सामान्यतयाः उसलाई पढाई कस्तो छ भनेर सोधिँदैन ? सोचिन्छ, कमजोर भए के डाक्टरी पढ्थ्यो र ? नेपालमा चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीमाझ अब सोध्नै पर्ने नयाँ प्रश्न थपिएको
छ, ‘पास भयौ त ?’ त्रिभुवन विश्वविद्यालयका मानविकी र शिक्षा संकायमा भन्दा बढी प्रतिशत विद्यार्थी चिकित्साशास्त्रमा फेल हुन थालेपछि नेपालको चिकित्साशास्त्रको अध्ययन र अध्ययनरत विद्यार्थीको क्षमतामाथि नै प्रश्न उठ्न थालेको छ ।


निजी क्षेत्रका कतिपय मेडिकल कलेजको परिणाम हेर्ने हो भने लाग्दछ यहाँका विद्यार्थी पढाईले होइन, केवल भाग्यले मात्रै पास हुन्छन् । यस्तो दयनीय हालत हुँदा पनि विद्यार्थी, अभिभावक, कलेज सञ्चालक र विज्ञले समेत चासो दिएका छैनन् । मेडिकल शिक्षाको गुणस्तरलाई लिएर खुल्न चाहने थोरै मात्रै विज्ञहरुले विद्यार्थी अनुत्तीर्ण हुनुको कारण समग्र मेडिकल शिक्षाको क्षेत्रमा व्याप्त विकृतिसँग जोडेर हेर्नुपर्ने बताउँछन् ।


नेपालमा त्रिभुवन विश्वविद्यालय अन्र्तगत ९ वटा र काठमाडौं विश्वविद्यालय अन्र्तगतका ८ वटा मेडिकल कलेजमा झण्डै दुई हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । यो संख्या हेर्दा प्रत्येक वर्ष औसतमा ४० प्रतिशतको हाराहारी मात्रै विद्यार्थी पास हुने गरेका छन् । कलेज अनुसार हेर्ने हो भने २५ प्रतिशत भन्दा बढी विद्यार्थी पास गराउन नसक्ने कलेजको संख्या धेरै छ ।


कसरी आयो यस्तो नतिजा ?

मेडिकल कलेजको पढाई कति नाजुक छ भन्ने हेर्न केही दिनअघि मात्रै सार्वजनिक भएको काठमाडौ विश्वविद्यालय अन्र्तगतका मेडिकल कलेजको प्रथम बर्षको नतिजा मात्रै हेरे पुग्छ । सो नतिजाअनुसार सबैभन्दा बढी विद्यार्थी राजधानीको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा फेल भए  । सो कलेजबाट १ सय ५० जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा १ सय ७ जना फेल भएका थिए । विराटनगरस्थित नोबल मेडिकल कलेजबाट परीक्षा दिएका एक सय ५० मध्ये ४८ जना मात्रै पास भए । पाल्पाको लुम्बिनी मेडिकल कलेजका सय विद्यार्थी परीक्षामा सहभागी भएकोमा ६९ जना फेल भए । त्यसैगरी काठमाडौं मेडिकल कलेजका ६९,  कलेज अफ मेडिकल साइन्सेस भरतपुरका ४१ , मणिपाल मेडिकल कलेजका ४३, नेपालगन्ज मेडिकल कलेजका ८३ र केयुका ११ जना विद्यार्थी फेल भएका छन् ।
तीमध्ये नेपाल मेडिकल कलेजका ६४, नोबलका ४१, लुम्बिनी पाल्पाका २७, केएमसीका ४१, भरतपुरका ३७, मणिपाल मेडिकल कलेजका २६, नेपालगन्जका ६४ र केयुका १० विद्यार्थी दुई भन्दा बढी विषयमा फेल भएका छन् । दुई भन्दा बढी विषयमा फेल भएकाहरुले ‘ मौका परीक्षा’ समेत दिन पाउँदैनन् । यस्ता विद्यार्थी अन्य वर्षमा लगातार पास भए पनि पढाई एक वर्ष ढिलो सकिन्छ ।
एमबिबिए दोस्रो वर्षको परीक्षाफल पनि झण्डै उस्तै छ । दोस्रो बर्षको परीक्षामा नेपालगञ्ज मेडिकल कलेजबाट सबैभन्दा बढी ५२ विद्यार्थी फेल भएका छन् । त्यसैगरी बढी फेल हुनेमा मणिपाल मेडिकल कलेज पोखराका ३९, लुम्बिनी मेडिकलका २१, काठमाडौं मेडिकल कलेजका १६, नोबल मेडिकल कलेज विराटनगरका ८, कलेज अफ मेडिकल साइन्सेस भरतपुरका ८ र नेपाल मेडिकल कलेज काठमाडौंका ३ जना विद्यार्थी फेल भएका छन् ।
तुलनात्मक रूपमा हेर्दा समग्र नतिजा काठमाडौं विश्व विद्यालयतर्फ भन्दा त्रिभुवन विश्वविद्यालय अन्र्तगतका कलेजहरु अगाडि भए पनि कतिपय  सो विश्वविद्यालय अन्तर्गतको केही कलेजको नतिजा अवस्था झन् नाजुक छ । अघिल्लो वर्ष मंसिर/पुष महिनामा सञ्चालित नतिजाअनुसार महाराजगञ्जका ७२ मध्ये १६ विद्यार्थी फेल भएका थिए । निजी मेडिकल कलेजतर्फ ९ सय ३५ उपस्थित भएकोमा ३ सय ४५ मात्रै पास भएका थिए ।
दोस्रो वर्षको परीक्षामा महाराजगञ्ज क्याम्पसका ७० उपस्थित भएकामध्ये ४९ जना मात्रै पास भएका थिए । त्रिविअन्तर्गतका मेडिकल कलेजका ६० प्रतिशत विद्यार्थी फेल भएका थिए । दोस्रो वर्षतर्फ ५६ प्रतिशत विद्यार्थी पास भएका थिए । दोस्रो वर्षमा निजीतर्फ ६ सय ८४ विद्यार्थी उपस्थित भएकोमा ३ सय ७७ मात्रै पास भएका थिए । त्रिविअन्तर्गत महाराजगञ्जपछि किस्टको नतिजा राम्रो छ । किस्टमा पहिलो वर्षमा ६५ प्रतिशत र दोस्रो वर्षमा ८० प्रतिशत विद्यार्थी पास भएका थिए ।
त्रिवितर्फ नेशनल मेडिकल कलेजको अवस्था सबैभन्दा नाजुक छ । जसमा २५ प्रतिशत विद्यार्थी मात्रै पास भएका थिए । त्यसैगरी कमजोर नतिजा देखिएकामध्ये अन्यमा जानकी मेडिकल कलेजका २७ प्रतिशत र भैरहवास्थित युनिभर्सलका ३५ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए । दोस्रो वर्षमा भने यी कलेजका ५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

विद्यार्थी छनोट नै गलत

नेपालमा मेडिकल कलेजलाई जथाभावी सम्बन्धन दिने र ती कलेजले कोटा बढाउन प्रत्येक निकायमा गर्ने ‘माल प्राक्टिस’ले मेडिकल शिक्षालाई निकै महँगो बनाएको छ । छात्रवृत्ति बाहेकका कोटाहरू कलेजहरुले मोलतोलमा बेच्छन् । बिक्रीका आधार तोकिएभन्दा बढी शुल्क दिने र एकमुष्ट बुझाउन सक्ने विद्यार्थी मात्र कलेजको पहिलो रोजाईमा पर्छन् । ‘पहिलो चरणमा एकमुष्ट पैसा दिएपछि जस्ता विद्यार्थी पनि लिन्छन्, अनि कोटा बाँकी रहेपछि आर्थिक रूपमा कमजोर विद्यार्थी फेरि थोरै पैसामा लिन्छन् ’ मेडिकल काउन्सिलका एक सदस्य भन्छन् ‘ विद्यार्थी छनौटमै आर्थिक कुरालाई प्राथमितामा राखेर कमाउने काम शुरु गरेपछि कहाँ इथिक्स र मूल्य मान्यताको कुरा लागु हुन्छ ?’
मेडिकल अध्ययनकालागि तोकिएका आधारभूत प्रावधान सहज छन् । नियमअनुसार १२ कक्षामा विज्ञान, अंग्रजी र गणित विषयमा कम्तिमा ५०/५० अंक र कुलमा ५० प्रतिशत अंक ल्याएपछि कुनै पनि विद्यार्थी मेडिकल पढ्न योग्य हुन्छ । त्यही आधारमा विद्यार्थीले विश्वविद्यालयमा प्रवेश परीक्षा दिन पाउँछन् । काठमाडौ विश्वविद्यालयमा त झण्डै एक हजार कोटाका लागि २ हजार जति विद्यार्थीलाई प्रवेश परीक्षामा पास गराइन्छ । पैसालाई प्राथमिकतामा राखेर यसरी विद्यार्थी छनोट गर्ने प्रवृित्तले पनि नतिजा खस्काउँदै लगेको विज्ञहरुको भनाइ छ । ‘एसएलसीमा सबैभन्दा राम्रो नतिजा ल्याएका विद्यार्थीलाई आफ्नो कलेजमा ल्याउन उच्च माविले प्रतिस्पर्धा गरेको सुनिन्छ । तर मेडिकल कलेजले यस्तो गरेको कहिल्यै सुनिदैन’ अर्का एक विज्ञ भन्छन् ।


नेशनल सेन्टर फर हेल्थ प्रोफेसन्स एजुकेशन सेन्टरका कार्यकारी निर्देशक डा.जगदिशप्रसाद अग्रवाल राम्रो नतिजाका लागि अब्बल विद्यार्थी छनोट पहिलो सर्त भएको बताउँछन् । ‘पहिला विद्यार्थी नै राम्रो चाहियो, अनि अन्य कुरा आउँछन्’ डा.अग्रवालले भन्छन्, ‘नेपालमा आइओएमबाहेकका कलेजले यसमा ध्यान दिएको पाइँदैन ।’
स्रोतका अनुसार केयूमा त प्रवेश परीक्षामा नाम निकाल्नकालागि समेत दलाल परिचालन हुने गरेका छन् । कतिपय अवस्थामा शैक्षिक परामर्शका नाममा खुलेका संस्थाहरुले मध्यस्थता गरेर सबै चाँजोपाँजो मिलाइ दिन्छन् । प्रवेश परीक्षामा राम्रा विद्यार्थीसँगै बसाएर भए पनि पास गराएर डाक्टर पढ्ने वातावरण कन्सल्ट्यान्सीले बनाइदिन्छन् । जानकारहरू हरेक मेडिकल कलेजमा करिब ४० प्रतिशत विद्यार्थी सामान्य क्षमताका भए पनि पैसा र शक्तिकै भरमा भर्ना हुने गरेको बताइन्छ । केयूअन्तर्गत प्रवेश परीक्षामा एक नम्बरमा नाम निस्किएको विद्यार्थीसमेत कलेजबाट दिने परीक्षामा फेल भएको विश्वविद्यालय स्रोतको भनाई छ ।

बाबुआमाको लहड  


जानिफकारहरुका अनुसार नेपालका मेडिकल कलेजमा अध्ययन गर्न आउने ५० प्रतिशत विद्यार्थीले मात्र आफ्नो व्यक्तिगत रुची र हुटहुटीका कारण यो विषय छनौट गर्छन् । अधिकांश विद्यार्थी अविभावक एवं समाजिक मनोविज्ञानका ‘लोकाचार’ र अपेक्षा पूरा गर्न  डाक्टरी पढ्न बाध्य छन् । ‘एकातिर नचाहेरै पढ्नुपर्छ, अर्कोतिर विषय पनि अप्ठेरै हुन्छ ’ काउन्सिलका ती सदस्य भन्छन् ‘अनि विद्यार्थी फेल भएपछि झन् लाजमर्दो स्थिति आउँछ, तनाब छल्न मदिरा खान्छ, गाँजा खान्छ र झन् पढाई विग्रिन्छ ।’


अधिकांश विद्यार्थी सम्पन्न परिवारका भएकोले पनि विद्यार्थीलाई आर्थिक अभाव हुँदैन । यसले पनि विद्यार्थी बिग्रिने संभवना निकै हुने नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक एवं निजी मेडिकल तथा डेन्टल कलेज एसोशियसनका अध्यक्ष डा.सुरेशकुमार कनौडिया बताउँछन् । भित्री इच्छाले नपढेपछि विद्यार्थीहरु अनुशासनहीन समेत हुने र शिक्षकलाई नटेर्ने हुन्छन् । महाराजगञ्ज मेडिकल कलेजका पूर्व क्याम्पस प्रमुख डा।रामप्रसाद उप्रेतीका अनुसार कतिपय विद्यार्थीले आमाबुबाको करले पढेको हुनाले आफैं पास हुन नसक्ने बताउँछन् । भन्छन् ‘विद्यार्थी नै भन्छन् हामी बरु बिरामी छुदैनांै, पास गराइदिनुप¥यो ।’
(- स्वास्थ्य खबरपत्रिका )

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>