चितवनमा मेवा खेतीबाट राम्रो आम्दानी
Posted by
purwanews
Published on
Tuesday, June 11, 2013
चितवनमा पछिल्लो समयमा मेवा खेतीगर्ने कृषकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । चितवनमा अहिले ३० जना कृषकले व्यावसायिक रूपमा मेवाखेती गरिरहेका छन् । गतवर्ष चितवनमा सात सय ५० मेटिक टन मेवा उत्पादन भएको र त्यसबाट करिब एक करोड, १२ लाखभन्दा बढीको आर्थिक कारोबार भएको जिल्ला कृषि विकास कार्यलय चितवनले जनाएको छ । विशेषगरी पूर्वी चितवनको रत्ननगर नगरपालिका र चैनपुर क्षेत्रमा गरी कुल ३० हेक्टर क्षेत्रफलमा मेवा खेती हुँदै आएको छ, चितवनमा व्यावसायिक रूपमा मेवाखेती गर्न सकिने सम्भावना धेरै छ तर मेवामा लाग्ने भाइरसको कारणले गर्दा यो खेती गर्न थप चुनौती देखिएको हो कार्यालयका बागबानी विकास अधिकृत फटकबहादुर थापाले भने ।
भाइरसको समस्याको समाधान गर्न सकियो भने चितवनका अरू क्षेत्रमा पनि व्यावसायिक रूपमा मेवाखेती गरेर चितवनलाई मेवाखेतीको नमुना जिल्लाको रूपमा चिनाउन सकिने पनि थापाले बताए । चितवनमा मेवाखेती गर्नका लागि सिँचाइको कुनै समस्या नभएको थापाको भनाइ छ । वर्षमा २ पटक उत्पादन गर्न सकिने मेवाखेतीलाई पूर्ण व्यावसायिक बनाउन नसक्दा चितवनमा भारतीय र ताइवानी मेवा आयातीत हुने गरेको कार्यालयले जनाएको छ । अहिले चितवनमा भारतको पन्तनगर भन्ने ठाउबाट फार्म सेलेक्सन एक जातको मेवा र ताइवानी रेड लेडी नामको मेवा आउने गरेको छ । मौसमअनुसार मेवा प्रति केजी १५ रुपैयाँदेखि ३० रुपैयाँसम्ममा बिक्री हुने गर्दछ । चितवनमा मेवाखेतीको विकासका लागि कृषकलाई तालिम तथा परामर्शको व्यवस्था गर्न जरुरी रहेको कृषकको भनाइ छ । चितवन मेवा व्यवसायी समितिका अध्यक्ष ठाकुर लामिछानेले मेवाखेती व्यावसायिक रूपमा गर्दा कुनै अप्ठ्यारो नहुने तर स्थानीय बजारमा हामीले उत्पादन गरेको मेवाले बजार नपाउँदा समस्या परेको बताए । जिल्ला कृषि विकास कार्यालयबाट सहयोग पाइरहेको बताउँदै लामिछानेले भने कि राज्यले अल्लि बढी चासो देखाइदिएको खण्डमा चितवनका मेवा कृषकको जीवनस्तरमा आमूल परिर्वतन आउने थियो । उनले अहिले रनपा १३ जमुनापुरमा २२ कठ्ठा जग्गामा मेवाखेती गरिरहेका छन् ।
by Rajendra Devkota
प्रतिक्रिया दिनुहोस् >>
