मेडिकल कलेजका साठी प्रतिशत विद्यार्थी कुलतमा
Posted by
purwanews
Published on
Monday, June 10, 2013
‘क्षमता नभएपनि धनीहरुले इज्जतकालागि छोराछोरीलाई डाक्टर बनाउन चाहन्छन् भने केही परिवार दाइजोकै लागि मात्र पनि मेडिकल शिक्षामा आकर्षित हुन्छन्’, एक चिकित्सक भन्छन्, ‘क्षमता र रुची नभएका मान्छेलाई पढ्नै पर्ने बनाइउपछि तिनीहरू कुलतमा लाग्छन् ।’
– लुम्बिनी मेडिकल कलेज तथा शिÔण अस्पताल पाल्पामा एमबिबिएस दोस्रो बर्षमा अध्यनरत प्रदीप भुसाल गत मंसिर १७ मा मृत अवस्थामा भेटिए । प्रहरीले आत्महत्याको आशंका ग¥यो । तर परिवार आत्महत्यामा सहमत छैन ।
–नेपालगञ्ज मेडिकल कलेजमा अध्ययरत एक विद्यार्थी लागू औषधको कुलतमा थिए । उनले सिरिन्जको प्रयोग गर्ने बानीले एचआइभी संक्रमणको अवस्थामा पु¥यायो । सिरिन्ज साटासाट गर्ने क्रममा उनी संक्रमित भए ।
– नोबल मेडिकल कलेज विराटनगरमा एमबिबिएस दोस्रो वर्षमा अध्यनरत सुधिर भट्टराईले केही वर्षअघि आत्महत्या गरे । परीक्षाको मुखमा शुल्कको बिषयलाई लिएर कलेजले दबाब दिएपछि उनले आत्महत्या गरेको सहपाठीहरुको भनाई छ ।
माथिका तीन प्रसंगले नेपालमा मेडिकल कलेजमा रहेका विकृति र विसंगति झल्काउँछन् । पैसाका भरमा पढ्न पाउने र बाबुआमाले पनि छोराछोरीको इच्छाविपरीत पढाउनाले मेडिकल शिक्षामा विकृति बढ्न लागेको विज्ञहरुको भनाइ छ ।
नेपालका अधिकांश मेडिकल कलेज र तिनका छात्रावास बिस्तारै लागू औषध प्रयोग गरिने सुरक्षित ठाउँ बन्न पुगेका छन् । मेडिकल शिक्षामा भित्रिएको अस्वस्थ प्रतिस्पर्धा र पैसा भएपछि डाक्टरी पढ्न सकिने भएकाले यस्ता विकृति मौलाएको बरिष्ठ चिकित्सकहरु बताउँछन् ।
महँगो शुल्कका कारण क्षमतावान विद्यार्थीले पढ्न नपाउने तर पैसा खर्च गर्नसक्ने अभिभावकले जति खर्च गरेर भएपनि सन्तानलाई डाक्टर बनाउनै पर्ने सोचले यस्तो अवस्था आएको हो । ‘क्षमता नभएपनि धनीहरुले इज्जतकालागि छोराछोरीलाई डाक्टर बनाउन चाहन्छन् भने केही परिवार दाइजोकै लागि मात्र पनि मेडिकल शिक्षामा आकर्षित हुन्छन्’, एक चिकित्सक भन्छन्, ‘क्षमता र रुची नभएका मान्छेलाई पढ्नै पर्ने बनाइउपछि तिनीहरू कुलतमा लाग्छन् ।’ प्राध्यापकसमेत रहेका ती चिकित्सक इच्छाबिपरीत पढ्नुपर्दा विद्यार्थीहरू कुलतमा फस्ने गरेको बताउँछन् । यसले गर्दा मेडिकल शिक्षा दिने काममा मात्र नभएर धेरै कलेजका विद्यार्थीको मानसिकतासमेत विकृति बढ्दै गएको उनको भनाइ छ ।
पढ्ने क्षमता नहुने र पैसा बढी हुने यस्ता विद्यार्थी क्यासिनो, डान्सबार र लागू पदार्थका अखडामा रम्ने गरेको पाइएको छ । ‘मदिरा सेवन गरेर छात्रावासमै हुने झगडा त दैनिक जसो नै देखिन्छन्’, मेडिकल कलेजका एक सञ्चालक भन्छन् । ती सञ्चालकका अनुसार एमबिबिएस पढ्ने ४० प्रतिशत विद्यार्थी धूमपानका अम्मली छन् । ‘हरेक मेडिकल कलेज र छात्रावासको सेरोफेरोमा गर्लफ्रेन्ड र व्वाइफ्रेन्डका नाममा जोडी बनेर बसेका देखिन्छन्’ ती सञ्चालक भन्छन् ‘सामाजिक विकृति निम्त्याएको भन्दै स्थानीयवासीले गर्ने उजुरी त सामान्यजस्तै भइसक्यो ।’
नेपाल चिकित्सक संघको जर्नलमा केही समयअघि प्रकाशित एक अध्ययन प्रतिवेदनमा आधारित लेखले समेत विद्यार्थीमा बढ्दो विकृतिको उजागर गरेको छ । सो आलेखमा उद्धृृत गरिएको तथ्य अनुसार मेडिकल कलेजका ६० दशमलव ३ प्रतिशत विद्यार्थीले लागूपदार्थ प्रयोग गर्ने गरेका छन् । जसमा ५७ दशमलव ६ प्रतिशतले रक्सीजन्य पदार्थ, २७ दशमलव ५८ प्रतिशतले सूर्तिजन्य पदार्थ र १२ दशमलव ८ प्रतिशतले गाँजा र भाङ प्रयोग गर्ने गरेको देखाइएको छ ।
यो अध्ययन चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान महाराजगन्ज, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेज धुलिखेलमा भएको थियो । अध्ययनले प्रथम बर्षमा अध्ययनरत ५५ दशमलव ७८ र अन्तिम बर्षमा अध्ययनरत ६५ दशमलव ८६ प्रतिशतले लागूपदार्थ प्रयोग गर्ने गरेको देखाएको छ ।
त्यसैगरी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अप्रिल २०१० मा प्रकाशित अध्ययनले पनि झण्डै ५० प्रतिशत विद्यार्थी लागू पदार्थको कुलतमा रहेको देखाएको छ । डा. निवश बुढाथोकीले ५ सय १० विद्यार्थीमा सो अध्ययन गरेका थिए । एमबिबिएस र बिडिएस तेस्रो बर्षमा अध्ययनरत आठ मेडिकल तथा एक डेन्टल कलेजका ५ सय १० विद्यार्थीमा अध्ययन गरिएको थियो ।
अध्ययनले कूल ४९ दशमलव ६ प्रतिशतले लागूपदार्थ प्रयोग गर्ने गरेकोमा ५२ दशमलव ३ प्रतिशतले रक्सीजन्य पदार्थ, ५५ प्रतिशतले सूर्तिजन्य पदार्थ, ६५ दशमलव ७ प्रतिशतले लागूऔषध प्रयोग गर्ने गरेको देखाएको छ । विद्यार्थीले पढाइबाट दिक्दार भएर तथा साथीको दबाब र रमाइलोका लागि प्रयोग लागू पदार्थ प्रयोग गर्ने बताएका छन् ।
डाक्टर बन्न लागेका विद्यार्थीका यस्ता क्रियाकलापलाई नजिकबाट नियालिरहेकाहरुले त यस्ता पनि डाक्टर हुन्छन् भनेर चिकित्सा पेशाप्रतिको विश्वाससमेत कम गराएको विज्ञहरु बताउँछन् । ‘रक्सी खाएर जथाभावी हल्ला गर्ने र खुला रुपमा जोडी बनेर बसेको देखेपछि त्यस्ताले कसरी डाक्टरको काम गर्लान् भन्दै अस्पताल जान नमान्ने क्रम पनि बढिरहेको छ’, काउन्सिलका एक अधिकारीको प्रतिक्रिया छ ।
मेडिकल कलेजहरुमा अघिल्लो ब्याचको विद्यार्थीले कनिष्ठलाई आपत्तिजनक ढंगले ¥याक गर्ने, चुरोट र गाँजा खान दवाव दिने र धम्क्याउने प्रवृत्ति पनि बढेर गएको छ । कतिपय मेडिकल कलेजमा त विद्यार्थी समूहबीच ‘ग्याङ फाइट’समेत हुने गरेको छ । मेडिकल कलेजका यस्ता विकृतिले अब्बल छात्रछात्रा भने जहिले पनि मारमा पर्ने गरेका छन् । यस्तो विकृतितर्फ कलेज प्रशासनको ध्यान नजाने हो भने मेडिकल शिक्षा शैक्षिक प्रमाण पत्रकालागि मात्र सीमित हुने खतरा पनि बढ्न थालेको छ ।
(- स्वास्थ्य खबरपत्रिका)
(- स्वास्थ्य खबरपत्रिका)
प्रतिक्रिया दिनुहोस् >>
.jpg)