नेपालबाट १५५ जना नर्वे गए
Posted by
purwanews
Published on
Saturday, June 1, 2013
‘एफके नर्वे’ कार्यक्रम सञ्चालनको ५० वर्ष पुरा भएको अवसरमा काठमाडौंमा स्वर्ण जयन्ती मनाइएको छ । नेपाल नर्वे एल्मुनाई एसोसियसन, नर्वेजीयन राजदूतावासको सहयोगमा गरिएको कार्यक्रममा नेपालमा दिगो उर्जा विकासका लागि नर्वेको सहयोगका विषयमा छलफल गरिएको थियो ।
विकास सहजीकरणका लागि विश्वब्यापी स्वयंसेवक आदानप्रदान गर्ने उक्त कार्यक्रमको स्वर्ण जयन्तीमा बोल्दै ‘एफके नर्वे’की महानिर्देशक निता कपुरले ‘एफके नर्वे’ले नेपालको विकासको लागि महत्वपूर्ण काम गर्दै आएको बताइन् । उनले नेपालमा काम गर्न सुरु गरेयता १ सय ५५ जना स्वयम्सेवक नर्वे गएर काम गरिसकेको जानकारी दिइन् ।
यस्तै नेपाल नर्वे एल्मुनाई एसोसियसनका अध्यक्ष डा. दुर्गा प्रसाद संग्रौलाले भिन्न भिन्न देशका नागरिकहरुबीच सहकार्य र समन्वय गर्दै विकास सहजीकरणको काम गर्दा दुई देशको बीचमा भातृत्वको भावना जागृत भएको भन्दै खुसी प्रकट गरे । नर्वे सरकारको राष्ट्रिय बजेटबाट सञ्चालित यो कार्यक्रम एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा सन् १९६३ देखि चलिरहेको समेत उनले जानकारी दिए ।
नर्वेजीयन राजदूत अल्फ आर्न राम्सलियनले नेपालमा नर्वेको प्राथमिकता तथा कार्यनीतिको बारेमा धारणा राखेका थिए । लामो समयदेखि दुइ देश बीचको सम्बन्ध थप मजबुत बनाउन एफकेको कार्यक्रममले सहयोग गरेको भन्दै प्रशंसा समेत गरे । उर्जा विकासको क्षेत्रमा प्रगति गर्न कठिन नभएको भन्दै उहाँले त्यसको लागि राजनीतिक स्थिरता कायम हुनुपर्ने बताए । नेपालका लगानी गर्ने धेरै ठाउँ भइरहेको भन्दै निर्वाचनमार्फत राजनीतिक स्थिरता कायम गरी उर्जा विकासको काममा लाग्नुपर्ने बताए ।
यसैगरी वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. गोविन्द पोखरेलले नेपालको सार्वजनिक र नीजि दुबै क्षेत्रमा नर्वेले सहयोग गरिरहेको बताउँदै आउँदा दिनमा पनि सहयोग जारी रहने विश्वास व्यक्त गरे ।
नर्वेले नवीकरणीय उर्जा प्रवद्धनको लागि मात्र सन् १९९९ देखि २००७ सम्म ३५.५ मिलीयन बराबरको आर्थिक सहयोग गरेको थियो । त्यो सहयोग बढाएर सन् २००७ देखि २०१२ सम्म १६५.६ मिलीयन पुर्याइयो । नर्वेले नवीकरणीय उर्जा प्रवद्र्धनको क्षेत्रमा गर्दै आएको कार्यक्रमका कारण स्थानीय स्तरमा करिब ३०००० जनाले रोजगार प्राप्त गरेको जनाइएको छ ।
हाइड्रो ल्याव प्रा. लिका महाप्रबन्धक डा. मेघबहादुर विश्वकर्माले नेपालमा जलविद्युत उत्पादनको लागि प्रशस्त सम्भावना रहेको भएपनि दक्ष प्राविधिक जनशक्तिको अभावका कारण फाइदा लिन नसकेको बताए । हाइड्रोपावर शिक्षा, अनुसन्धान तथा विकासको लागि नर्वेले नेपालको उर्जा मन्त्रालय, जल तथा उर्जा आयोगको सचिवालय, वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र लगायतका संघ संस्थासँग सहकार्य गरी काम गर्दै आएको छ । बुटवल टेक्नीकल इन्स्ट्च्यिुट, बुटवल पावर कम्पनी, हिमाल हाइड्रो लगायतमा नर्वेको सहभागिता छ ।
कार्यक्रममा हाइड्रो कन्सल्ट इन्जिनियरीङ्गका मनोहर श्रेष्ठ, एफके नेपाल प्रतिनिधि सचा जोतिसलीकोन कार्यक्रम सल्लाहकार दलिना प्रसेरट्श्री, नेपाल नर्वे एल्मुनाई एसोसियसनका प्रतिनिधिले लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले बोलेका थिए ।
काठमाडौं, जेठ १८
प्रतिक्रिया दिनुहोस् >>