धरानमा क्षेत्रीय पर्यटन मेला सुरु
पर्यटन विकासको लागि मन्त्रीले मागे सुझाव
क्षेत्रीय विकासका लागि पर्यटन भन्ने नाराका साथ शुक्रबारदेखि सुनसरीको धरानमा दोस्रो पूर्वाञ्चल क्षेत्रीय पर्यटन मेला सुरु भएको छ । मेलाको उद्घाटन गर्दै पर्यटन तथा नागरिक उड्ययन मन्त्री रामकुमार श्रेष्ठले पर्यटन व्यवसायमा लगानी गर्न सरकार तयार रहेको बताए । उनले पर्यटन व्यवसायीहरुको राय सुझावअनुसार सरकार अघि बढ्ने समेत प्रतिबद्धता जनाए ।
सरकार आफै विज्ञ नभएका कारण पर्यटन व्यवसायीहरुले एक्सपर्ट कमिटि निर्माण गरी सरकारलाई राय सुझाव पेश गर्नुपर्ने मन्त्री श्रेष्ठले आग्रह गरे । मेलामा पूर्वाञ्चलमा विद्यमान पर्यटकीय गन्तव्यहरुको फोटो प्रदर्शनी, विविध जातीय पहिचान झल्काउने साँस्कृतिक प्रदर्शन र पर्यटकीय गन्तव्यहरुको वृत्तचित्र, पर्यटन सेवा प्रदायक संस्थाहरुको स्टल र आन्तरिक तथा बाह्य पर्यटन प्याकेजको व्यवस्थासमेत रहेको मेलाका स्थानीय संयोजक महेन्द्र प्रधानले जानकारी दिए ।
मन्त्री श्रेष्ठले विमान सेवाको विस्तार नभई पर्यटन विकास नहुने भन्दै सन २०१५ फेब्रुअरीसम्ममा २ वटा एयरबस नेपाल भित्राउने बताए । त्यतिन्जेल सम्मका लागि ५÷६ महिनाभित्रै दुई ठूला जहाज भाडामा लिने तयारी भइरहेको र आन्तरिक उडानका लागि पनि तीन वटा विमान थप्ने योजना रहेको बताए । पोखरा, भैरहवामा एडिबीको लगानीमा र निजगढमा अन्तराष्ट्रिय विमानस्थल निर्माण गरिने प्रकृया अघि बढेको समेत उनले जानकारी दिए ।
नवराज विष्ट । धरान, वैशाख २०
प्रतिक्रिया दिनुहोस् >>