आइसिसि बिजेता टोलीलाई सशस्त्र द्वारा सम्मान
Posted by
purwanews
Published on
Wednesday, May 15, 2013
सशस्त्र प्रहरी बलले आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको विजेता टोलीलाई सम्मान गरेको छ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको विजेता नेपाली टीमका १५ जना खेलाडीलाई जनही २० हजार रुपैयाँ नगदसहित फुलमालाले सम्मान गर्नुभयो ।
यही अप्रिल २८ देखि मे ५ सम्म बर्मुडामा भएको उक्त प्रतियोगितामा विभिन्न पाँच देशको सहभागिता रहेको थियो ।
उक्त प्रतियोगितामा सहभागी १५ जना खेलाडीहरु मध्ये एपीएफ क्लबका नौ जना खेलाडीहरु सहभागी थिए ।महानिरीक्षक वन्तले १५ जना खेलाडीहरुलाई
सम्मान गर्नुको साथै टिम म्यानेजर तारणीविक्रम शाह, टेक्निकल एनालाइसिष्ट रमण शिवाकोटी र फिजियो थेरापिष्ट डा. सुप्रमन्यम विरास्वामीलाई मायाको चिनो प्रदान गर्नु का साथै खेलाडीहरुले गरेको मेहनत तथा खेलप्रतिको लगनशीलताले नेपाल र नेपालीको शीर उच्च भएको बताउनुभयो ।
उहाँले संगठनमा आवद्ध खेलाडीहरुले स्वदेश तथा विदेशमा हुने विभिन्न प्रतियोगितामा सफलता हासिल गरेको तथा विभिन्न विधाहरुमा पदक समेत हाँसिल गर्न सफल भएको चर्चा गर्नुहुँदै खेलकुदको क्षेत्रलाई बढावा दिने उद्देश्यले केही समय अगाडी क्रिकेटलाई पनि समावेश गरेको उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक वन्तले खेलकुदलाई बढावा दिन तथा यसप्रतिको लगानीलाई अझ सुदृढ बनाउनको लागि सशस्त्र प्रहरी बलले यसै वर्षदेखि तीन करोडको अक्षयकोष स्थापना गरी आगामी दिनमा सवै विधाका खेलहरुलाई अझ उच्च प्राथमिकतामा राखेर अगाडी बढाउने उद्देश्य रहेको कुरा बताउनुभयो ।
सम्मानित हुनेहरुमा टीम क्याप्टेन पारस खड्का तथा खेलाडीहरु बसन्त रेग्मी , संजम रेग्मी, ज्ञानेन्द्र मल्ल , शरद भेषवाकर, सुवास खकुरेल, अमृत भट्टराई, शक्ति गौचन, पृथु बास्कोटा, प्रदिप ऐरी, विनोद भण्डारी, चन्द्र साउद, राहुल वि.क., नरेश बुढा ऐर र अनिल मण्डल छन् ।
सम्मान कार्यक्रममा सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरु लगायत प्रशिक्षक वर्ग तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् >>