स्वास्थ्य क्षेत्रमा पारो निषेध

सरकारी र निजी क्षेत्रका चिकित्सकले पारो (मर्करी) र पारोयुक्त उपकरण प्रयोग नगर्ने भएका छन् । मर्करीको अनियन्त्रित उपयोग रोक्न स्वास्थ्य मन्त्रालयले पहल गरेपछि यसको प्रयोग नहुने भएको हो । सरकारी र निजी क्षेत्रलाई पारोयुक्त उपकरण प्रयोग नगर्न अनुरोध गरिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतको निकायमा पारोयुक्त उपकरणको खरिद र उपयोग बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग र आयुर्वेद विभागलाई पत्र पठाएर आर्थिक वर्ष ७०/७१ देखि मर्करीयुक्त उपकरणको आयात बन्द गर्न निर्देशन दिएको हो ।

स्वास्थ्य क्षेत्रको थर्ममिटर, रक्तचाप नाप्ने मेसिनलगायत उपकरणमा पारो उपयोग हुन्छ । 'सरकारी निकाय मात्र नभई निजी क्षेत्रलाईसमेत मर्करीयुक्त उपकरण खरिद र उपयोग नगर्न अनुरोध गरिएको छ,' उपसचिव कविराज खनालले भने, 'हामीले सम्बद्घ निकायमा निर्देशन पठाइसकेका छौं ।' विशेषज्ञहरूले सरकारी वा निजी अस्पतालमा पारोलाई उचित प्रबन्धन नगरिने अवस्था औंल्याउँदै यसले वातावरणीयसँगै मानव स्वास्थ्यमा जोखिम थपेको बताउँदै आएका थिए । 
सधंै ज्वरो नाप्न उपयोग गरिने थर्ममिटरसमेत पारो प्रदूषणको जिम्मेवार मानिंदै आएको थियो । यो सबैको पहँुचमा छ । 
विशेषज्ञका अनुसार थर्ममिटर टुट्दा पारो हावामा फैलिन्छ । हावामा फैलिँदा यो मिथाइल मर्करीमा परिणत हुन्छ,जो सामान्य मर्करीभन्दा पनि बढी खतरनाक हुन्छ । पारो एउटा गह्रौं घातु हो, यो सामान्य तापक्रममा तरल अवस्थामा रहन्छ । यो सजिलै वाष्पीकृतसमेत हुन्छ । वातावरणमा घोलिएपछि पारो लामो समयसम्म त्यहाँ रही नै रहन्छ । यो हावा, पानी, जमिन र जीवजन्तुमा घुल्छ । मनुष्यसम्म पुग्दा यसले घातक असर देखाउँछ । विश्व स्वास्थ्य संगठन -डब्लूएचओ) का अनुसार स्वास्थ्यका लागि यो धेरै खतरनाक हुन्छ । गर्भका भ्रूण र बच्चालाई यसबाट सबैभन्दा बढी खतरा हुन्छ । सासबाट शरीरमा पुगेपछि स्नायु प्रणाली, पाचन प्रणाली, रोग प्रतिरोधक क्षमता, मृगौला र फोक्सोलाई नोक्सान पुर्‍याउँछ । यसले ज्यानसमेत लिन सक्छ । आधुनिक जीवनशैलीमा उपयोग हुने उपकरणमा यसको उपयोग हुन्छ । 
चिकित्सा उपकरण, बैटरी, स्फाइगोमोमैनोमिटर, प्लास्टिक, ट्युबलाइट, ब्यारोमिटर, फलोरोसेन्ट लाइट, पेन्ट, कास्टिक सोडा, कागत, कीटनाशक, ट्युबलाइट र ऊर्जा बचाउने सीएफएल लाइट लगायतमा पारोको उपयोग हुन्छ । इलेक्ट्रोनिक्स उपकरणमा उपयोग हुने ब्याट्रीदेखि लिएर सुनको विभिन्न उत्पादनमा समेत पारोको उपयोग हुने गर्छ । विभिन्न प्रतिवेदनका अनुसार विश्वमा पारोले हुने कुल प्रदूषणमा करिब आधा योगदान एसियाली मुलुकको छ । बर्सेनि दुई हजार टन पारो मानवीय वातावरणको भाग बनिरहेको छ । यसको प्रत्यक्ष नराम्रा असर आमव्यक्तिको जीवन देख्न थालिएको चेतावनी विशेषज्ञहरूले दिंदै आएका छन् ।
काठमाडौ, वैशाख २४

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>