बेपत्ता परिवारमा माओवादीसँग रुष्ठ : नयाँ आन्दोलन थाल्नुपर्नेमा जोड
युद्धका क्रममा प्रतिद्वन्दीलाई मार्ने, बेपत्ता पार्ने लगायतका गतिविधि हुने गर्छन् । संसारभरकै युद्धमा यस्ता अभ्यास हुन्छन् । तर युद्धमा मर्नेको परिवारलाई जस्तै बेपत्ता परिवारलाई पनि शोक पर्छ र जीवनभर परि नै रहन्छ । वेपत्ता परिवारले आफ्ना सदस्य मरे, बाँचेको खबर लामो समयसम्म नपाउँदा जस्तो पीडा अरु के नै होला र ? न बाँचेको भनेर खुसी मनाउनु, न त मरेको भनेर किरिया गर्नु, इटहरीमा विहीबार आयोजित कार्यक्रममा बेपत्ता परिवार र सरोकारवालाहरुले यस्तै पीडा पोखेका छन् ।
दशवर्षे जनयुद्धताका नेपालमा राज्यको तर्फबाट एक हजार ९५ जना बेपत्ता पारिएको राज्यद्वारा बेपत्ता योद्धाका परीवार समाज नेपाल कोचिला राज्य समितिले जानकारी दिएको छ । विहीबार आयोजित बेपत्ता योद्धाका सपना र सार्वजनिकिकरणको प्रश्न विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै बेपत्ता परिवारले राज्यले बेपत्ता नागरिकलाई खोज्न चासो नदिएको गुनासो गरे । साथै सत्तामा पुगेको एमाओवादीप्रति पनि तीव्र आक्रोश पोखे ।
झापाका बेपत्ता परिवार गोपाल पोख्रेलले एक जनाले नै संविधानसभा अवरुद्ध गरेको अवस्थामा बेपत्ता परिवारका आठ जना सभासद् हुँदा पनि बेवास्ता गरेको गुनासो गरे । ‘एक जनाले संसद अवरुद्ध गर्दा हुन्थ्यो, तर हाम्रा आठ जना प्रतिनिधि भएर पनि केही गरेनन् ।’ उनले भने । उनले राज्य वा विद्रोहीबाट बेपत्ता पारीएका भनेर नछुट्याउन समेत आग्रह गरे ।
कार्यक्रममा बोल्दै अभियान नेपालका अध्यक्ष तथा बेपत्ता परिवारका सदस्य केशव दाहालले जनतालाई क्रान्तिको सपना देखाएर भ्रमको खेती गरी बेपत्ता गराइएको आरोप लगाए । उनले भने, ‘नायक नै बेकम्मा भएपछि कसलाई के भनौं र ?’ उनले बेपत्ताहरुको खोजी र राहतका लागि नयाँ तरिकाले आन्दोलत थाल्नुपर्ने समेत बताए ।
यस्तै मोहन तिम्सिनाले नेपाली इतिहासमा सबै पार्टीहरुले आफ्ना बेपत्ता नेता कार्यकर्ताको खोजी नगरेको बताए । ७ सालको आन्दोलनपछि काँग्रेस, ४६ सालको आन्दोलनपछि एमाले र माओवादी जनयुद्धपछि माओवादी सरकारमा पुगेपनि आफ्नै बेपत्ता कार्यकर्ताको खोजीमा उदासिन बनेको बताए । उनले नयाँ तरिकाको राजनीतिक आन्दोलन थाल्नुपर्नेमा जोड दिए ।
राज्यको तर्फबाट झापामा १२, मोरंगमा १७, सुनसरीमा १५, तेह्रथुममा १, भोजपुरमा ४, खोटाङमा ५, पाँचथरमा ३, इलाममा २, संखुवासभामा ५, सप्तरीमा ८, सिरहामा ३९, उदयपुरमा १०, सोलुखुम्बुमा १, ताप्लेजुङमा ४, ओखलढुंगामा १२ जना बेपत्ता गराइएको तथ्यांक सार्वजनिक गरीएको छ । सबैभन्दा बढी बेपत्ता २०५८ र ५९ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री र खुमबहादुर खड्का गृहमन्त्री भएको बेला पारिएको तथ्यांक दिइएको छ । त्यो समयमा ३६२ जना बेपत्ता पारीएको जनाइएको छ ।
सुनसरी, जेठ २, photo: internet
प्रतिक्रिया दिनुहोस् >>