बन्दमा सर्वसाधारणलाई सास्ती : व्यवशायी र मजदुरले प्रतिकार गर्ने


सानासाना माग पुरा गराउन समेत बन्दहड्तालमा उत्रिने संस्कृतिका कारण सर्वसाधारण जनता सास्ती व्यहोर्न बाध्य भएका छन् । पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै मञ्च सम्बद्ध संघिय लिम्बुवान राज्य परिषदले आह्वान गरेको अरुण पुर्वका ९ जिल्ला बन्दको तेस्रो दिन बित्दा समेत बन्द खुलाउन सरकोरवाला निकाय जिम्मेवार नबन्दा यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।
केहि समयसम्म बन्दहड्तालका कार्यक्रमबाट मुक्त भएका पुर्व क्षेत्रका स्थानीय वासिन्दा दोस्रो संविधान सभाको चुनावको हल्ला चलेसँगै बन्दको मारमा परेका छन् । दोस्रो संविधान सभाको चुनावलाई लक्षित गर्दै नागरिकता वितरण र फोटो सहितको मतदाता नामवली संकलन गर्ने कार्यमा अवरोध पु¥याएको भन्दै प्रहरीले झापाबाट मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ता पक्राउ गरेपछि कार्यकर्ता रिहाईको माग गर्दै तीन दिनदेखि परिषद्ले अरुण पुर्वका ९ जिल्ला ठप्प पारेको छ ।
बन्दका कारण यस क्षेत्रमा लामा तथा छोटा दुरीका सवारीसाधन चल्न सकेका छैनन् । सवारीसाधन नचल्दा सर्वसाधरण यात्रु वीच बाटोमा नै अलपत्र परेका छन् । सुनसरीको इटहरी स्थित वसपार्कमा धेरै यात्रुहरु अलपत्र परेको भेटिएका छन् । उनीहरुलाई बन्द कसले र किन गरेको भन्न थाहा छैन तर, बन्दका कारणले भोगेको सास्तीले भने उनीहरु आक्रोशित भएका छन् ।
दुई दिनदेखि धरानका लागि हिँडेपनि यातायात नचल्दा अलपत्र परेर बसेका एक सर्वसाधरणले आफुलाई बन्द कसले गरेको हो भन्ने थाहा नभएको बताए । उनले बन्दका कारण आफु वीच बाटोमा नै अलपत्र परेको बताए ।
काखे बालक च्यापेर बसपार्कमा अलपत्र परेकी एक महिला यात्रु आफु पश्चिम तर्फ हिडेको भएपनि गाडी नचल्दा वीचबाटोमा नै अलपत्र परेको बताउँछिन् । त्यस्तै इटहरी बसपार्कमा नै भेटिएका अर्का यात्रु समेत अनिश्चितकालिन बन्दको हल्लाले आफुहरु थप समस्यामा परेको बताउँछन् । उनले बन्दका कारण घर कहिले पगिने टुगंो नभएकाले समेत समस्यामा परेको बताए ।
परिषद्को बन्दको प्रभाव सुनसरी, मोरङ, झापा, धनकुटा, इलाम, पाँचथर लगायतका ९ जिल्लामा परेको छ । बन्दको समयमा यी स्थानका बजार आशिंक रुपमा खुलेपनि सार्वजनिक यातायतका साधन भने चल्न सकेको छैन । बन्दको प्रभाव शैक्षिक संस्थामा समेत परेको छ । उच्च शिक्षा माध्यमिक परिषद अन्तर्गतको कक्षा १२ को परिक्षाका सहभागी विद्यार्थीहरु यसको बढी मारमा परेका छन् । बन्दका कारण विद्यार्थीहरुलाई मानसिक तनाव भएको उनीहरु बताउछन् । परिक्षा हुने हो कि नहुने हो भन्न दुविधा उनीहरुमा छ भने, परिक्षा भए पनि समयमा पुगिन्छ कि पुगिन्न भन्ने चिन्ताले पनि उनीहरुलाई सताएको छ । विद्यार्थीहरुले परिक्षालाई मध्यनजर गरेर भएपनि बन्दका कार्यक्रम फिर्ता लिनुपर्ने अनुरोध गरेका छन् ।
बन्दले पुर्व क्षेत्रका सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएपनि बन्द खुलाउन सरकारी पक्ष र आन्दोलनरत् पक्ष दुवै जिम्मेवार भएको पाइदैन । इटहरीमा आइतवार बन्दकर्ताहरुले बन्द अवज्ञा गरेको भन्दै ९ सवारी साधत तोडफोड गरेपछि यस क्षेत्रका व्यवसायीमा त्रासको वातावरण सृजना भएको छ । आइतवारसम्म आशिंक खुलेको बजार सोमवार ठप्प भयो । सवारी साधन तोडफोड गर्ने परिषदका १६ कार्यकर्तालाई आइतवार प्रहरीले पक्राउ समेत गरेको थियो ।
उमेश सुन्चेउरी, इटहरी, वैशाख २३

व्यवशायी र मजदुरले प्रतिकार गर्ने
धरान । आम जनतालाई सास्ती दिने गरी वैशाख २१ गतेदेखि जारी रहेको बन्दप्रति उद्योगी, व्यवसायी तथा यातायात सम्बद्ध मजदुर संगठनको ध्यानाकर्षण भएको आज एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् । 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी अन्चल कमिटि, सुनसरी उद्योग वाणिज्य संघ, धरान, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, नेपाल यातायात चालक संघ, अखिल नेपाल यातायात मजदुर संघ र संयुक्त परिवहन व्यवसायी समिति धरानले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा मन्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्को आव्हानमा भएको बन्दका क्रममा विभिन्न स्थानमा यातायात मजदुरहरुमाथि आक्रमण भएको, साधन तोडफोड तथा आगजनी भएको र सर्वसाधारणलाई आतंकित बनाएको भन्दै त्यसको विरोध गरेका छन् । 
तीन दिने बन्दमा लगातार साथ दिएको भन्दै अब उप्रान्त आफ्नो पेट खाली राखेर उद्दन्ड बन्दै गइरहेको बन्द हड्ताललाई साथ दिन नसक्ने जनाएको छ । संगठनहरुले भोलि बिहानदेखि सार्वजनिक सवारीका सम्पूर्ण साधन सुचारु गर्ने, बजार तथा पसलहरुसमेत खोल्ने विज्ञप्ति मार्फत जानकारी गराएको छ साथै सबैलाई सहयोग गर्न र आन्दोलनकारीको मागलाई उचित सम्बोधन गर्न पनि विज्ञप्ति मार्फत आग्रह गरेको छ ।
नवराज विष्ट, वैशाख २३


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>