आजभोली (कविता)
Posted by
purwanews
Published on
Monday, April 29, 2013
सोझी विदूषीलाई भुलेर
नक्कली सुन्दरीलाई सम्मान गर्ने समय हो यो,
खै कसरी खोजुँ आमा तिमीले भनेजस्ती बुहारी
बिच बाटोबाटै कुमारीत्व बेचिरहेको देखेर ।
समयले बगाएछ क्यारे
धर्मले बाँधेका कर्महरु
त्यसैले आज इज्जतभन्दा प्यारो
बैस छ मान्छेलाई ।
निर्दोष गर्भ तुहाएर
वैशदार यौवन साँचिरहेछन् भोलीका आमाहरु
त्यसैले होला ढल्किँदो उमेरसम्म बा बन्न नसकेका बाहरु
जन्माइरहेछ आजको समाज
अनि खस्किरहेछ आमा शब्दको महत्व
म यो भिडभन्दा टाढा निर्दोष आमाहरुको आशिर्वाद थाप्दैछु ।
उनी पैसासँग यौवन साट्दैछिन् बिच बजारमा
भोकाएको घोडालाई दाना देखाएजस्तै गरी
चाउरिएको अनुहारलाई कृत्रिम सुन्दरताले लेपेर
निर्दोष आमा र दिदीबहिनीको महत्व भुलेर ।
भो समय,
उत्ताउलो बन्न छोडिदे,
बरु खोजुँ न आइज मसँगै
हामीदेखि भागेको सभ्य संस्कार ।
कृष्ण कट्टेल, सञ्चारकर्मी
काठमाण्डौ
कृष्ण कट्टेल, सञ्चारकर्मी
काठमाण्डौ
प्रतिक्रिया दिनुहोस् >>