Posted by
purwanews
Published on
Tuesday, April 30, 2013
सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थको तत्वावधानमा सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम केन्द्र ककनीमा संचालित सि.सं.११ गुल्मपति तथा स्टाफ (सीसीएससी) तालिमको सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा बैशाख १७ गते आयोजित कार्यक्रममा समापन गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक वन्तले त्यसअवसरमा तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमध्वज शाहलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक वन्तले त्यसअवसरमा पेशागत जिम्मेवारी निर्वाहमा उच्च मनोवलका साथ क्रियाशिल रहदै व्यावसायीक कौशल प्रयोग गर्दै कार्यक्षेत्रमा समर्पित रहन निर्देशन दिनुभयो ।
बलका राष्ट्रसेवकहरु व्यावसायीक ज्ञानमा निपूर्ण रहदै प्रचलित कानूनको स्पष्ट ज्ञान एवं मानवअधिकार तथा नागरिकको नैसर्गिक हक अधिकारको बारेमा पूर्णरुपमा जानकार रहनुपर्ने उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक वन्तले बलका राष्ट्रसेवकहरुले कार्यक्षेत्रमा जिम्मेवारी निर्वाह गर्दा संगठनको नीतिअनुरुप परिचालित हुन तथा मानवअधिकारको पूर्णरुपमा रक्षा गर्दै परिणाममुखी कार्यसम्पादनमा क्रियाशिल रहन निर्देशन दिनुभयो ।
उहाँले समयसँगै कार्यक्षेत्रका चुनौतीहरुमा समेत परिवर्तन आइरहने चर्चा गर्नुहुँदै आइपर्ने नविन चुनौतीलाई सामना गर्न सुरक्षाकर्मीहरु शारिरिक तथा मानसिक रुपले सधैं तयार रहनुपर्ने उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक वन्तले भन्नुभयो–‘चुनौतीलाई सामना गर्न व्यावसायीक कुशलताका साथै उच्च मनोवल र हौसला तथा सोही अनुरुपको सोच एवं समयानुकूल व्यावसायीक ज्ञान अपरिहार्य रहन्छ ।’
मानवअधिकारको सम्मान तथा सम्बद्र्धनतर्फ सधैं सचेत रहिरहन निर्देशन दिनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक वन्तले कार्यक्षेत्रमा निर्दिष्ट लक्ष्य प्राप्तीमा सधैं सफल रहन पेशागत ज्ञान, सामूहिक भावना तथा पवित्र सोच एवं संगठनप्रतिको निष्ठा महत्वपूर्ण कुरा रहने चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो–‘नागरिकले सशस्त्र प्रहरी बलप्रति गरेको अपेक्षालाई आत्मसात गर्दै जनचाहना अनुरुपको कार्यशैली अपनाएर कार्यक्षेत्रमा समर्पित रहिरहेमा आगामी दिनहरुमा समेत कार्य सफलतामा सघाउ पुग्ने छ ।’
कार्यक्रममा तालिमका प्रमुख शिक्षक सशस्त्र प्रहरी उपरीक्षक शम्भु सुवेदीले तालिम सम्बन्धी प्रतिवेदन पस्तुत गर्नुहुँदै कमाण्डर तहको भूमिकालाई कार्यकुशलताका साथ पुरागर्न सक्ने क्षमता र पेशागत दक्षता अभिबृद्धिका लागि प्रशिक्षार्थीहरुलाई तालिमको दौरानमा सैद्धान्ति एवं व्यवहारिक प्रशिक्षण दिइएको कुरा उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक वन्तले सोही अवसरमा तालिमका प्रमुख शिक्षक सशस्त्र प्रहरी उपरीक्षक शम्भु सुवेदी तथा प्रशिक्षकहरु सशस्त्र प्रहरी नायव उपरीक्षकत्रय बिष्णुप्रसाद भट्ट, दिपेन्द्र कुवँर र पुरनचन्द्र भट्टलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
तीन महिना अवधिको सो तालिममा कूल २५ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु ठाकुरमोहन श्रेष्ठ, दुर्जकुमार राई, ऋषभदेव भट्टराई, जीवनकुमार थापा, कृष्णकुमार तामाङ र शुशिलकुमार श्रेष्ठ लगाएत बरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् >>