परिक्षाबाट बच्न शिक्षकलाई विष


परिक्षाको भुतले सबैलाई सताउने गर्छ । परिक्षामा राम्रो अंक ल्याउन चिट चोरेको, घुस ख्वाएको, प्रश्नपत्र चोरेको घटना त हामीले सुनेकै छौं । तर परिक्षाबाट बच्नको लागि आफ्नै शिक्षकलाई विष खुवाइयो भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।
कुरा अमेरिकाको भर्जिनिया प्रान्तको हो । हिन्स मिल्स स्कुलमा गणितको कक्षा जाँचबाट बच्नलाई विद्यार्थीहरूले विषय शिक्षिकाको चियामा विष मिलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
एबीसी न्युजका अनुसार गणितको रिभ्यूबाट बच्नलाई १३ वर्षे दुई छात्रले गुरुआमा ६६ वर्षे जेन मिलरको चियामा दुईपटक ह्यान्ड सेनिटाइजर ९हात धुने लिक्विड साबुन० मिसाए । यसबाट शिक्षिका बिरामी भएपछि गणितको जाँचबाट सहजै बच्न सक्ने ती अबोध बालकहरूले सोचेका थिए ।
चिया पिएर स्वास्थ्य बिग्रेकी मिलरलाई अस्पताल पुर्‍याउनुपरेको थियो । चिकित्सकीय जाँचमा उनको पेटमा उक्त हात धुने रसायन फेला पर्‍यो । प्रहरीले खबर गरेपछि जाँच अधिकृतहरूको एक टिम सोधपुछका लागि विद्यालय पुगेका थिए । अनुसन्धानका क्रममा ती दुई छात्रको बदमासी पत्ता लाग्यो । कडा सोधपुछपछि उनीहरूले विद्यालय व्यवस्थापनसामु अपराध स्वीकारेका थिए ।
गुरुआमा मिलरले केही विद्यार्थी गणित जाँचका लागि मानसिक रूपले तयार नरहेको आफूलाई जानकारी भएको बताइन् । तर, उनीहरूको यो गतिविधिबारे आफू अनभिज्ञ रहेको उनले बताइन् ।
ती दुवै छात्रलाई विद्यालयबाट निकाला गरिएको छ । कम्युनिटी स्कुलबाट उनीहरूको पढाइ जारी छ । प्रहरीले उनीहरूमाथि षड्यन्त्र रचेको र विष खुवाएको आरोपमा उजुरी दर्ता गरेको छ । अभियोग प्रमाणित भएमा उनीहरूलाई पाँच वर्ष कैद र एक लाख डलर जरिवाना हुनेछ ।
source : ekantipur

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>