गत वर्ष चर्चामा

०६९ साल आशै आशाको बिचमा निराशाको पोको छोडेर हामीमाझबाट बिदा भइसकेको छ । खासगरी नयाँ संविधान बनाएर दिने अपेक्षा गरिएको यो साल संविधानसभाको विघटन, राजनीतिक अस्थिरता, दलहरुको विभाजनका कारण निराशामा परिणत भयो र अर्को वर्षका लागि थप अन्यौल बाहेक केही छैन नेपालीसँग ।
क्रिकेटमा हाँसिल गरेको अन्तर्राष्ट्रिय सफलताबाहेक यो वर्ष नेपालीले सन्तोष गर्ने खासै उपलब्धी हाँसिल हुन सकेनन् । तथापी केही व्यक्तिले गरेका केही राम्रा कामले नेपालमा पनि इमान्दार र असल र सफल व्यक्ति छन् भनेर देखाइदिएको छ भने केही व्यक्तिहरुको कारण नेपाल अन्तर्राष्ट्रिय तवरमै आलोचित बन्न पुग्यो । गत वर्ष चर्चामा आएका व्यक्तिहरुको बारेमा कान्तिपुरसाप्ताहिकले लिपिबद्ध गरेको व्यक्ति विवरणलाई केही काँटछाँट गरी प्रस्तुत गरेका छौं ।


पुष्पा बस्नेत
वर्ष २०६९ मा नेपाली समाजलाई आशा एवं विश्वास दिलाउने युवा बनिन् समाजसेवी पुष्पा बस्नेत। जेलमा रहेका बालबालिकाका लागि  आफ्नो यौवन समर्पण गरिकी पुष्पा यो वर्ष विश्वप्रसिद्ध समाचार संस्था सीएनएनबाट प्रदान गरिने हिरो उपाधिबाट विभूषित मात्र भइनन्,  करिब दुई करोड रुपैयाँको राशि पनि हात परिन्। उनलाई सीएनएनले विश्वका चर्चित १० व्यक्तिका रूपमा छनौट गरेपछि विश्वभरका ने पालीहरूले उनलाई भोट दिएर जिताए। नेपाली जनताले दिएको भोटलाई राजनीतिक नेताले संविधान नदिएर दुरुपयोग गरे पनि पुष्पाले उक्त  भोटको सदुपयोग गरेकी छिन्। पुष्पाले पुरस्कारबापत प्राप्त रकम आफूप्रति आश्रति ४० बालबालिकाको आश्रयस्थलको निर्माणमा खर्च गर्न  थालेकी छिन्। उनको कार्यले युवालाई हिम्मत नहार्न एवं आफ्नो लक्ष्य निर्धारण गर्ने सन्देश दिएको छ। अहिले सीएनएनले पुष्पाका विषयमा  दुई घन्टा लामो डकुमन्ट्री निर्माण गरिरहेको छ। यो डकुमन्ट्री सीएनएनमा प्रसारण भएपछि पुष्पालाई थप सहयोग गर्न युरोप  तथा अमेरिकाका दर्जनौं संस्था तयार हुने अनुमान गरिएको छ।

विनोद भण्डारी
विनोद भण्डारी विराटनगर घर भएका प्रहरी निरीक्षक हुन्। विनोद ५० औं हजार नेपाली प्रहरीका यस्ता प्रतिनिधि हुन्, जसले सामान्य अधिकार  भएका व्यक्तिले पनि चाह्यो भने धेरै गर्न सक्छ भनेर प्रमाणित गरिदिए। माओवादी द्वन्द्वका बेला दैलेखका पत्रकार डेकेन्द्र थापालाई केही  व्यक्तिले सोधपुछका लागि लगेका थिए। माओवादी कार्यकर्ताका रूपमा आएका ती व्यक्तिले डेकेन्द्रलाई खानेपानीका लागि आएको सरकारी  बजेटमा अनियमितता गरेको स्वीकार गर्न दबाब दिए। निडर पत्रकारको छवि बनाएका डेकेन्द्र आफूले गर्दै नगरेको अपराध स्वीकार गर्न तयार  भएनन्। उनलाई कुटपिट गरियो र जिउँदै खाल्डामा पुरियो।
एकदशकपछि जब यसको छानबिन गर्ने जिम्मा प्रहरी निरीक्षक विनोद भण्डारीको हातमा आयो, उनले माओवादी सरकारमा रहेकै बेला उसका  ज्याजतिविरुद्ध प्रमाणहरू मात्र जुटाएनन्, पत्रकारलाई जिउँदै गाड्ने अभियुक्तहरूलाई पक्राउ गरे। उनीहरूविरुद्ध मुद्दा चलाउन लाग्दा  प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत सिंगो माओवादी दल उनका विरुद्ध खनियो, तर उनी टसका मस भएनन्। अन्त्यमा उनलाई उक्त  कामबाट हटाइयो र कोसी अञ्चल प्रहरी कार्यालय सरुवा गरियो। उनले पाउन लागेको डिएसपीको बढुवा पनि रोकियो। यति हुँदाहुँदै पनि उनी  आफ्नो कामबाट विचलित भएनन्।

पारस खड्का
नेपालमा क्रिकेटको ठूलो क्रेज छ। पछिल्लो समयमा यो क्रेजलाई कायम राख्ने एवं अन्तर्राष्ट्रिय स्तरमा नेपालका नाक राख्ने काम कप्तान  पारस खड्काले गरे। पारस क्यानाडामा व्यावसायिक क्रिकेट खेल्ने एक्लो नेपाली हुन्। उनी उत्तर अमेरिकाको तेस्रो ठूलो पि्रमियर  डिभिजनअन्तर्गत पोम्मे कन्फरेन्स लिगमा ओर्टारियो क्रिकेट एकेडेमी एन्ड क्लबबाट खेलिरहेका छन्ा्। नौ टिम सम्मिलित उक्त लिगमा  विश्वभरका खेलाडी भए पनि नेपालबाट भने उनले मात्र प्रतिनिधित्व गरिरहेका छन्।
यो वर्ष नेपाली क्रिकेटले दुई ठूला ट्रफी हात पार्‍यो। गत भदौमा मलेसियामा आईसीसी वर्ड क्रिकेट लिग डिभिजन फोर र असोजमा एसिसी  ट्रफी एलिटको उपाधि नेपालले जितेको छ। सन् २००४ देखि नेपाली राष्ट्रिय क्रिकेट टिममा प्रवेश गरेका पारसको नेतृत्वमै टिमले आईसीस  वल्र्ड क्रिकेट लिग डिभिजनको तेस्रो लक्ष्य पाएको हो। सन् २०१० मा पनि अमेरिकालाई हराउँदै नेपाली टिमले आईसीसी वल्र्ड क्रिकेट लिग  डिभिजन फोरको यात्रा तय गरेको थियो। एक साताअघि सम्पन्न एसीसी ट्वान्टी-२० क्रिकेटको चौथो संस्करणमा उनले नै नेपाललाई  फाइनलसम्म पुर्‍याएका थिए। त्यति मात्र होइन, यसै वर्ष उनले अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय म्याच पूरा गरेका छन्। पारस तथा उनको  टिमका कारण नेपाल अन्तर्राष्ट्रिय क्रिकेटको मानचित्रमा देखिन थालेको छ।

विनोद चौधरी
विश्वमा नेपाल गरिवहरूको देशका रूपमा अंकित छ। विश्वका विकसित मुलुकमा लाखौं नेपाली रोजगारीको खोजीमा गएका कारण पनि  विदेशीहरूमाझ नेपालको यस्तो छवि बनेको हो। यद्यपि यो वर्ष नेपाली उद्यमी विनोद चौधरी विश्वका धनीहरूको सूचीमा परेका छन्। उनी  विश्वका १४२६ औं धनी व्यक्ति हुन्। उनको सम्पत्ति एक अर्ब डलरभन्दा बढी रहेको विश्वप्रसिद्ध पत्रिका फोब्र्सले जनाएको छ। यो पत्रिका  विश्वका धनी व्यक्तिको जीवनशैली एवं आम्दानीका विषयमा आधिकारिक जानकारी दिने प्रतिष्ठित पत्रिका हो। विनोध चौधरीको विश्वको अबर् पतिको सूचीमा प्रवेशसँगै नेपालीहरू गरिब मात्र छैनन् भन्ने सन्देश गएको छ।

भगवान कोइराला
Bhagawan Koirala during an Interview, 2012.jpgनेपालमा अनाचार र भ्रष्टाचार मात्र छैन, असल काम गर्ने मानिसहरू पनि छन्। यसको सन्देश डा. भगवान कोइरालाले दिएका छन्। शिक्षण  अस्पतालका प्रमुख भगवान कोइरालाले घाटामा गएको अस्पताललाई नाफामा मात्र पुर्‍याएनन्, ड्युटी छाडेर हिँड्ने चिकित्सक एवं कमर् चारीलाई कारबाहीसमेत गरे। अस्पतालमा हुने भ्रष्टाचार रोकेर त्यसबाट आएको आम्दानी चिकित्साशास्त्र अध्ययन गर्ने गरिब तथा जेहेन्दार  विद्यार्थीलाई दिने व्यवस्था मिलाए। उनको यो अभियानका कारण शिक्षण अस्पतालबाट व्यक्तिगत फाइदा उठाइरहेका धेरै चिकित्सक एवं कमर् चारीले उनलाई असहयोग गरे। फलस्वरूप उनले पदबाट राजीनामा दिनुपर्‍यो। यद्यपि चारैतिरबाट आएको दबाबका कारण सरकारले उनको  राजीनामा स्वीकार गरेन। बरु उल्टै उनका माग पूरा गर्दै अझ शक्तिशाली बनाएर अस्पताल फिर्ता पठाइदियो। उनको यो अभियानबाट उचित  कदम चाल्ने हो भने कसैले हल्लाउन सक्दैन भन्ने सन्देश पनि मिलेको छ।

डा. गोविन्द केसी
शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक एवं चिकित्साशास्त्रका प्राध्यापक डा. गोविन्द केसी पहिलो व्यक्ति हुन्, जसले शिक्षण अस्पतालमा  भष्ट्राचार, अनियमितता एवं राजनीतिक नियुक्तिको विरोध गरे। उनको विरोधलाई सरकारले वास्ता नगरेपछि उनी आमरण अनसनमा बसे।  उनको आमरण अनसनले देश-विदेशमा चर्चा पायो। फलस्वरूप शिक्षण अस्पतालमा राजनीतिक भागबन्डाका आधारमा माथिल्लो निकायमा  नियुक्ति गर्ने प्रचलन बन्द हुन पुग्यो। यही राजनीतिक नियुक्ति बन्द भएकै कारण डा. भगवान कोइरालाजस्ता निष्ठावान व्यक्ति शिक्षण  अस्पतालका प्रमुख हुन पुगेका हुन्। आज शिक्षण अस्पतालमा जे-जस्तो सुधार भैरहेको छ, त्यसको श्रेय डा. गोविन्द केसीलाई जान्छ। वर्ष २० ६९ मा दुई चिकित्सक डा. भगवान तथा डा. गोविन्दका कारण एउटा ठूलो संस्थामा सुधार आएपछि असल मानिस भए नेपाल बन्न बेर  लाग्दैन भन्ने कुरा सावित भएको छ।

दीपकराज गिरी तथा दीपाश्री निरौला
१० वर्षदेखि दुःखी नेपाली जनतालाई अभिनयका माध्यमबाट हाँसो र खुसी दिँदै आएका दीपकराज गिरी एवं दीपाश्री निरौलाको हास्यव्यङ्ग्य  कार्यक्रम तीतो सत्यले ५ सय भाग पूरा गरेको छ। नेपाल टेलिभिजनमा एक दशकसम्म लगातार नम्बर एक कार्यक्रम उत्पादन गर्ने दीपक- दीपाको जोडीले जस्तोसुकै परिस्थितिमा पनि काम गर्न सकिन्छ भन्ने सन्देश दिएका छन्।

डा.रामवरण यादव
पाँच वर्षदेखि विवादरहित अवस्थामा रहेका राष्ट्रपति रामवरण यादव विभिन्न कारणले चर्चामा रहे। संविधानसभा विघटन भएयता चिन्तित  रहेका राष्ट्रपतिले प्रमुख राजनीतिक दललाई लगातार भेटेर सम्झाउने, फकाउने र धम्काउनेसम्मका कार्य गरे। फलस्वरूप राष्ट्रपतिले गैरसंवै धानिक कदम चाल्ने वा सक्रिय हुन सक्ने अनुमानका कारण उनको लगातार चर्चा भैरह्यो। पछिल्लो समयमा प्रधानन्यायाधीश खिलराज रे ग्मीलाई सरकार प्रमुख बनाउने कार्यमा पनि उनको महत्वपूर्ण योगदान रह्यो। ४० वर्ष देशको प्रजातन्त्रका लागि लडेर मन्त्री हुँदै  राष्ट्रपतिसम्म भएका यादवले पछिल्लो छिमलमा गैरराजनैतिक व्यक्तिलाई कार्यकारी प्रमुख बनाउन गरेको प्रयासका कारण उनी विवादित पनि  भए।

डा. बाबुराम भट्टराई
मुस्ताङ म्याक्स चढेर प्रधानमन्त्री बनेलगत्तै चर्चामा रहेका डा. बाबुराम भट्टराई सडक फराकिलो बनाउने अभियानका कारण वर्ष २०६८ को  सुरुमै प्रशसिंत भएका थिए। जसै वर्ष ०६९ लाग्यो, उनको प्रशंसाभन्दा आलोचना बढी हुन थाल्यो। संविधानसभा विघटन भएपछि सुरु भएको  उनको आलोचना आफ्नी धर्मपत्नी एव महिला नेतृ हिसिला यमीले प्रशासनमा गरेको हस्तक्षेपका कारण उत्कर्षमा पुग्यो। त्यसमाथि दैलेखका  पत्रकार डेकेन्द्र थापाका हत्यारालाई डा. भट्टराईले बचाउन गरेको प्रयासले उनको नियतमाथि नै शंका उत्पन्न  गर्‍यो। संविधानसभा निवार् चनपछि पुष्पकमल दाहालको नेतृत्वमा गठन भएको सरकारमा अर्थमन्त्रीका रूपमा कमाएको इज्जत र प्रतिष्ठा डा. भट्टराईले प्रधानमन्त्री  भएका बखत जानी-नजानी स्वाहा पारे।

मोहन वैद्य
एकीकृत माओवादी शक्ति र सत्तामा छँदा त्यही दलको वरियताक्रमका दोस्रा नेता मोहन वैद्य किरणले पार्टी फुटाए। त्यति मात्र होइन, उनले  आफ्नो दल जनयुद्धमा पनि जान सक्ने उद्घोष गरेर सबैलाई अचम्ममा पारे। आफूले लिएको सिद्धान्तप्रति अटल यी नेता नेपाली जनता र  विश्व जनमत अर्कोतर्फ रहेको थाहा पाउँदा-पाउँदै पार्टी फुटाउने र विद्राेह गर्नेजस्ता कुरा गरेर वर्षभरि नै चर्चामा रहे।

सुशील कोइराला
निष्ठाको राजनीति गर्ने नेतामा दरिएका कांग्रेस सभापति सुशील कोइराला यसपटक माओवादी अध्यक्ष पुष्पकमल दाहालको चेपुवामा परेर  आफ्नो भित्री लोभ सार्वजनिक गरे। दाहालको आश्वासनमा प्रधानमन्त्री हुने चाहना राखेका कोइरालालाई माओवादी अध्यक्षले अरू नेता जस्तै  कोइराला पनि पदको लोभी हुन् भन्ने कुरा प्रमाणित गर्न सफल भए। थाहै नपाई माओवादी रणनीतिका सिकार भएका कोइराला पछिल्लो  समयमा कमजोर पात्रका रूपमा प्रकट भए।

लोकमान सिंह कार्की
सबै नेतालाई रिझाउन सक्ने खुबी भएका पूर्वमुख्य सचिव लोकमान सिंह कार्कीको मुखैमा आएको अख्तियार प्रमुख पद सर्वोच्च अदालतका  कारण तुहियो। चार मुख्य दललाई रिझाएर अख्तियार प्रमुख सिफारिस भएका कार्की सञ्चारमाध्यमको खबरदारीका कारण असफल हुन  पुगे।  राजतन्त्रको पक्षधर एवं अख्तियारबाट भष्ट्राचारका आरोपी कार्की जीवनमा पहिलो पटक असफल भएका हुन्।

गणेश थापा
नेपालको फुटबल टिमलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान दिलाएका एन्फा अध्यक्ष गणश थापा यो वर्ष आफू मात्र होइन, देशको इज्जत बिगार्ने  व्यक्तिका रूपमा देखापरे। बंगलादेशी नागरिक एवं प्रशिद्ध फुटबलकोच महोम्मद विन हमामसँग गणेशले फिपा अध्यक्षमा जिताउन छोरामार्फत  १ लाख डलर घूस लिएको प्रमाणित भयो। विश्वप्रशिद्ध समाचार संस्था एपीले दिएको यो समाचार विश्वव्यापी भएपछि फिफाले महोम्मद विन  हमामलाई संस्थाबाटै निष्कासन गर्‍यो। थापाले हमामलाई आफ्नो प्रभावमा राख्न राजाको शासनकालमा गोर्खा दक्षिणवाहु दिलाएकोसमेत  प्रमाणित भएको थियो।

प्रकाश दाहाल
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल यो वर्ष पटक-पटक चर्चामा आए। वर्षको सुरुमै सगरमाथा आरोहण  गरेर राम्रो छवि बनाएका प्रकाशले केही महिनापछि दोस्रो श्रीमती तथा नाबालक छोरो छाडेर बिना मगरलाई भगाए। बिना मगर पनि आफ्नो  श्रीमान् छँदै प्रकाशसँग भाग्न राजी भएकी थिइन्। उक्त घटनापछि दुवैलाई पार्टीले कारबाही गरेको थियो। कारबाहीकै बीचमा बिरामी भएका  पूर्वयुवराज पारसको मृत्यु भैसकेको भन्दै फेसबुकमा समवेदना दिएपछि प्रकाश पुनः आलोचनाको पात्र भए।

पारस शाह
युवराजको पदवी खोसिएपछि धेरैजसो समय थाइल्यान्ड र सिंगापुर बस्दै आएका पूर्वयुवराज पारसमाथि भारतीय अन्डरवर्डको निसाना रहेको  खबर सार्वजनिक भयो। त्यसलगत्तै उनी थाइल्यान्डमा लागू औषधको अपराधमा प्रहरी चौकी पुगे। नेपालका पूर्वयुवराज भएका कारण उनको  कारबाहीमा केही खुकुलोपन अपनाइए पनि भाग्यले उनलाई साथ दिएन। उनी हृदयघातको गम्भीर आक्रमणका कारण अस्पताल भर्ना भए।  करिब दुई महिना लामो उपचार पछि उनी स्वस्थ्य भएका छन्। यद्यपि उनको चर्चा सेलाएको छैन।

सुधीर बस्नेत
छोटो समयमै करोडौं कमाएका व्यवसायी सुधीर बस्नेतले जसरी कमाएका थिए, त्यसैगरी टाट पल्टिए। सहकारीमार्फत सयौं व्यक्तिलाई डुबाएर  धनी भएको र त्यो पैसा पनि डुबिसकेको थाहा भएपछि उनी जेल परे। यद्यपि पैसा डुब्नेहरूले नै कमाएर तिर्ने सर्तमा उनलाई जेल मुक्त  गराएपछि यी व्यवसायी चर्चामा आए।

पदम कुँवर  
नेपालका सबैभन्दा शक्तिशाली नेता प्रचण्डलाई सार्वजनिक स्थलमा थप्पड हानेर माओवादी कार्यकर्ता पदम कुँवर लामो समय चर्चामा रहे।  उनको थप्पडपछि सरकारले नेताहरूको सुरक्षामात्र बढाएन, सुरक्षा नीति नै परिवर्तन गर्‍यो। अहिले कुनै पनि नेताले आम जनतासँग सीधै भेट ्न नपाउने व्यवस्था मिलाइएको छ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>