उधारोमा साक्षर अभियान
सरकारी काम, कहिले जाला घाम भन्ने उक्ति नेपालका सरकारी कर्मचारीहरुको प्रवृत्तीबाट वाक्क भएका सेवाग्राहीहरुले बनाएका हुन् । जुन सार्थक पनि छ । तलब चाहिँ खाने, अनि काम गर्नै नपरे हुन्थ्यो भनेझै गर्ने कर्मचारीहरुका कारण नेपालको सरकारी सेवा छिटो छरितो र प्रभावकारी हुन नसकेको गुनासो सबैतिरबाट आउने गर्छ, तर त्यही सरकारी सेवामा रहेर रचनात्मक काम गर्न चाहेमा राम्रा काम पनि गर्न सकिन्छ भन्ने उदाहरण सुनसरीका स्थानिय विकास अधिकारी र जिल्ला शिक्षा अधिकारीले दिएका छन् ।
सन् २०१५ सम्ममा नेपाललाई निरक्षर मुक्त बनाउने सरकारी अभियान छ । त्यसको लागि सुनसरी जिल्लामा पनि नौ सय २५ वटा कक्षा सञ्चालन गरेर पढाउने तयारी भइरहँदा सुनसरीका सुनसरीका स्थानिय विकास अधिकारी राजेन्द्रदेव पाण्डे र जिल्ला शिक्षा अधिकारी बिरबहादुर खड्काले भने जाँगर चलाएरै अलि फरक तरिकाले कार्ययोजना बनाएका छन् ।
साक्षरता अभियानलाई अलि वृहत् कार्यक्रम बनाएर लागु गर्ने सोँच बनाएका उनीहरुले 'इचवन-टिचवन' नामक नयाँ अभियान सुरु गरेका हुन् । अभियानका लागि विभागबाट मौखिक सहमती पाएपनि आर्थिक सहयोग पाएका छैनन् । ‘छपाइ, तथ्यांक संकलन लगायत २५ लाख बराबरको काम भइसकेको छ, सबै उधारोमा गरेका छौं,’ पाण्डेले पूर्वन्युजसँग भने ।
इचवन टिचवन नारालाई अघि बढाउँदै जिल्लाका ९५ हजार निरक्षरलाई लेखपढ गर्नसक्ने बनाउन लागेका हुन् । एकजनाले एकजनालाई पढाउँदै निरक्षर मुक्त बनाउने यो अभियान नेपालमै पहिलोपटक थालिएको हो ।
सरकारले बनाएको नीति नियम र योजना कार्यान्वयन गर्न स्थानिय अधिकारीहरु उदासिन हुने गरेको अवस्थामा सुनसरीमा भने योजनालाई बृहत् बनाएर लागु गर्ने जाँगर देखाएका उनले अभियानका लागि अढाइ करोड रकम लाग्ने अनुमान गरी केन्द्रमा प्रस्ताव पेश गरिसकिएको बताए । अभियान लागुसँगै साक्षरता अभियानको लागि सरकारले जिल्ला शिक्षा कार्यालयलाई छुट्याएको ८० लाख रकम पनि प्रयोग गरिनेछ । अभियान सञ्चालनको लागि स्थानिय व्यवशायी तथा समाजसेवी, नगरपालिका, गाविसको समेत सहयोग जुटाइने पाण्डेले बताए ।
वैशाख ४ गते उद्घाटन गरिने अभियानअन्तर्गत निरक्षरहरुको तथ्यांक संकलन, विभिन्न गाविसमा समिति गठन, व्यक्तिगत सिकाइका लागि पाठ्यक्रम तयारी र छपाइ, स्वयंसेवक तालिमलगायतका आधारभुत तयारीहरु सकिसकेको जनाइएको छ । असारसम्ममा निरक्षर मुक्त बनाउने लक्ष्य भएपनि लक्ष्य अनुसार काम नभए २०७० सालभरी नै अभियान सञ्चालन गरिने जनाइएको छ ।
अभियानअन्तर्गत पढाउने मात्र नभइ सरसफाइ, चर्पी प्रयोगलगायतका विषयमा पनि जानकारी दिने भएकोले अभियान बहुउपयोगि हुने विश्वास गरिएको छ ।
सुनसरी, वैशाख १
प्रतिक्रिया दिनुहोस् >>