सत्तामा पुगेपछि मधेसी दलले मधेस बिर्सन्छन्

धेरै मधेसीहरुलाई चुनावबाट बाहिर राख्ने षड्यन्त्र भएको छ । चुनाव अघि मधेसीहरुले नागरिकता पाउनुपर्यो । 
चुनाव हुने वा नहुने अन्यौलको अवस्था भएपनि राजनीतिक दलहरु गाउँ गाउँमा चुनावी अभियान लिएर हिडिसकेका छन् । एमाले, काँग्रेस, माओवादी लगायतका ठूला राजनीतिक दल हुन् वा भर्खरै गठित संघिय समाजवादी पार्टी, सबैका चुनावी रणनीतिहरु बनिसकेका छन् । सोही क्रममा मधेसी जनाधिकार फोरम गणतान्त्रिकले समेत चुनावलाई केन्द्रित गर्दै आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेको छ । यसै मेसोमा फोरम गणतान्त्रिकका सुनसरी जिल्ला सचीव उमेश शाहसँग छोटो कुराकानी गरेका छौं ।
१६ वर्षको उमेरमै मोरंगको बेलबारीस्थित भगवती स्कुलमा नेविसंघ इकाइ समितिको सचीव बनेका उनी ०६४ सालमा फोरममा प्रवेश गरी पकली गाउँ कमिटिको अध्यक्ष भए । ६६ सालमा जिल्ला सदस्य हुँदै ०६८ सालमा फोरम फुटिसकेपछि गणतान्त्रिक फोरममा प्रवेश गरी जिल्ला सचिवको रुपमा काम गरिरहेका छन् । उनीसँग गरिएको छोटो कुराकानी :
तपाइको पार्टी अहिले के गर्दैछ ?
हाम्रो पार्टी मधेसमा चुनावको रणनीति बनाउँदैछ । चुनावमा कोसँग मिलेर जाने भन्ने कुरा निर्णय भइसकेको छैन तर हामी गाउँ गाउँसम्म चुनावी माहौललाई आफ्नो पक्षमा पार्न जुटिसकेका छौं । मधेसका नेता भनिने महन्थ ठाकुर, विजय गच्छदार, राजेन्द्र महतो सबै गद्दार हुन् । मधेसको मुद्धालाई उनीहरुले बेचेर खाए । त्यसैले अब मधेसीहरुको आशा र विश्वासलाई कायम राख्न हामी चुनावमा शशक्त दावेदारी दिँदैछौं । सुनसरीको क्षेत्रनम्बर ३, ४ र ५ मा हाम्रो शशक्त उपस्थिती छ, ती ठाउँहरुबाट हामी चुनाव जित्छौं ।
चुनाव हुन्छ र ?
सत्तारुढ दलहरुबाटै सरकारको विरोध भइरहेको छ । पछिल्लो समयमा असारमा चुनाव सम्भव छैन भनेर बोल्न थालिसकेका छन् । असारमा चुनाव हुनै सक्दैन । जन्मसिद्ध नागरिकता भएकाहरुलाई वंशजको नागरिकता दिनुपर्नेमा अवरोध छ । धेरै मधेसीहरुलाई चुनावबाट बाहिर राख्ने षड्यन्त्र भएको छ । चुनाव अघि मधेसीहरुले नागरिकता पाउनुपर्यो । यी सबै बाधा व्यवधानका बिचमा राष्ट्रिय सहमतीको सरकार नभएको अवस्थामा मंसिरमा पनि चुनाव हुन नसक्ने अवस्था छ ।
तपाइको पार्टी अलि निष्क्रिय भएको हो ?
निष्क्रिय छैन । मधेसी संगठनहरुको एउटा प्रवृत्ती के नराम्रो छ भने, सत्ता बाहिर बारम्बार कार्यक्रम गर्ने र सत्तामा गएपछि मधेस र मधेसीलाई बिर्सने गर्छन् । तर हामी भने चुनावी रणनीतिहरु बनाएर गाउँ गाउँ गइरहेका छन् त्यसैले निष्क्रिय छैन ।
मधेसी दलहरु अरु समयमा केही नबोल्ने र महत्वपूर्ण समयमा आएर हलो अड्काउने गर्छन् नि ।
यो त नेतृत्वकै गल्ती हो । हामी गाउँ र जिल्ला तहका कार्यकर्ताहरुलाई गुमराहमा राखेर खेल खेल्छन् । सत्ताबाहिर रहँदा दलहरुले ललीपप देखाएर सम्झौता गर्न बोलाउँछन् । तर सरकारमा गइसकेपछि सहमती कायम गर्न मान्दैनन् । आफै सरकारमा भइसकेपछि केही बोल्न पनि समस्या हुन्छ । त्यही भएर कहिलेकाहिँ हलो अड्किन्छ । फेरी सरकार र सर्वोच्च अदालतले पनि मधेसीहरुको मुद्धालाई अवहेलना गरेको हामीले पाएका छौं ।
सहमतीको सरकार बन्यो भने सहभागि हुनुहुन्छ ?
मधेसको मुद्धालाई व्यवहारमा लागु गर्नेगरी सहमती भएमा सहमतीको सरकारमा सहभागि हुन्छौं । मधेसका मुद्धालाई ओझेलमा राखेर हामी सरकारमा सहभागि हुँदैनौं ।
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>