कहाँ जान्छ बरामद लागूपदार्थ ?


भारतसँगको खुल्ला सिमानाका कारण सुनसरी र मोरङका सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा लागुऔषध नेपाल भित्रिने गरेको छ । खुल्ला सिमानका कारण भित्रिने लागुऔषध नियन्त्रणमा प्रहरीले विभिन्न समयमा ठूलो परिमाणको लागुऔषध सहित त्यसका कारोवारीलाई पक्राउ गर्ने गरेको छ । तर, पक्राउ परेको लागुऔषध नष्ट कसरी, कहाँ र कहिले गरिन्छ भन्ने विषयमा कसैलाई थाहा छैन ।
लागू औषध ओसारपोसार ऐनमा प्रमाणका रुपमा लागू औषध अदालतमा पेश गरिसकेपछि निश्चित प्रक्रिया अपनाएर नष्ट गर्नुपर्ने प्रावधान छ । सुनसरीका प्रहरी उपरिक्षक गणेश थापाले लागू औषधको मुद्धा लामो हुने हुँदा नष्ट गर्ने प्रक्रिया तत्काल नहुने भएपनि नष्ट गर्दा पत्रकार, नागरिक समाजका प्रतिनिधिहरुलाई बोलाएर नष्ट गर्ने गरिएको दावी गरेका छन् ।
पुर्वका मोरङ र सुनसरी जिल्लामा भारतसँग रहेको खुल्ला सिमानाका कारण ठूलो परिमाणमा लागुऔषध भित्रिने गरेको छ । मोरङको जोगवनि भन्सारबाट कोशी राजमार्ग हँुदै सुनसरीको इटहरी र धरानमा लागुऔषध भित्रिने गरेको छ भने सुनसरीको भण्टावारी, वेलाहा, कप्तानगन्ज, आमडुवा, घुस्की लगायतका नाकाहरुबाट समेत लागुऔषध नेपाल भित्रिने गरेको छ । यसरी नेपाल भित्रिने लागुऔषध सुनसरी र मोरङ प्रहरीले विभिन्न समयमा पक्राउ गर्ने गरेको छ । तर, पक्राउ परेका लागुऔषध भने कसरी, कहाँ र कहिले नष्ट गरिन्छ त्यो विषयमा भने सरोकारवाला नै वेखबर रहँदा पक्राउ परेको लागु औषधको दुरुपयोग त भइरहेको छैन भन्ने आशंका उब्जेको छ ।
बढ्दैछन् कारोबारी र प्रयोगकर्ता
प्रहरीले प्राथमिकताका साथ लागू औषध ओसारपोषार नियन्त्रण गरेको भनेपनि लागू औषधको कारोबारमा अझै कमी आउन सकेको छैन । प्रहरीले दैनिक जसो लागू औषध ओषारपोसार गर्नेलाई नियन्त्रण गर्नु र उनीहरुबाट ठूलो परिमाणमा लागू औषध बरामद गर्नुले पनि लागू औषधको कारोबार घट्न नसकेको स्पष्ट हुन्छ ।
लागुपदार्थ कारोबारी र प्रयोगकर्ताको संख्या पछिल्लो समयमा बढेको छ । प्रहरीले पक्राउ गरेका कारोबारी र प्रयोगकर्ताको संख्या बढ्नुले पनि यो कुरा पुष्टि गर्छ । आर्थिक वर्ष २०६८÷०६९ मा सुनसरीमा ९९ जना र मोरङमा १२९ जना गरि जम्मा २२८ जना लागुऔषध कारवारी कारवाहीमा परे । चालु आर्थिक वर्षको वैशाखको पहिलो सातासम्म सबैभन्दा बढी सुनसरीमा ९९, मोरङमा ७७ र तेह्रथुममा १ जना लागुऔषध कारोबारी कारवाहीमा परेको कोशीअञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक यादवराज खनालले जानकारी दिएका छन् । आर्थिक वर्ष २०६७÷०६८ मा यसरी कारवाहीमा पर्नेको संख्या कोशी अञ्चलमा ९३ मात्र थियो ।
यो आर्थिक वर्षको दश महिनामा मोरङ जिल्लामा ११६४ थान एभिल, डाइजेपाम १२६६ थान, नोरोजेसिक १२१८ थान, गाँजा २० केजी ४०० ग्राम, कोरेक्स ४०१ बोतल, नाइट्रोजन ८३४ ट्याब्लेट, एसपि ८० थान, फेनारजन २७ थान, लुपिजेसिक २०, खैरो हेरोइन २८.५ ग्राम पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
सुनसरीमा यहि अवधिमा प्रहरीले एभिल १२७५, डाइजपाम १२०८, नोरोजेसिक १०४९, गाँजा ८७ केजि ४४१ ग्राम, कोरेक्स ६१५, नाइटेजन १४९१, एसपि ३०९५, लुप्रिजेसिक १९६, ब्राउन सुगर १९ ग्राम २४३ मिलिग्राम, चरेस १९ केजि ७०० ग्राम, नाइट्राभेट ९० चक्की पक्राउ गरेको छ ।
लागू औषधको कारोबार नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखेर कोशी अञ्चल प्रहरी कार्यालयले सुनसरीले आफ्नो रणनिति बनाएको दावी गरेको छ ।
उमेश सुन्चेउरी, वैशाख ४, इटहरी


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>