मुहार फेरीएको ६ नम्बर वडा
Posted by
purwanews
Published on
Wednesday, March 27, 2013
‘बाटोघाटो दिसा गरेर हिड्नै हुँदैनथ्यो, अहिले त निकै सफा भएको छ ।’ स्थानिय शान्ती चौधरी भन्छिन्, सरसफाइ अभियानले त मानिसको बानी व्यवहारमा नै परिवर्तन गरिदियो ।’
दिसा–पिसाब लाग्नासाथ अरुको खेतबारी र बाँसघारी कुद्नुपर्ने समस्याले वर्षौदेखि पिरोलिएका टोलवासीहरुमा चर्पी बनाउने चेतना र आर्थिक स्रोत अभाव थियो । जाडोमा सित र चिसो हावा अनि पानी परेका बेलामा पानीमा रुझ्दै दिसापिसाब गर्नुपर्ने बाध्यता थियो । ‘बाँसघारी, झाडीमा जानुपथ्र्यो, पानी पथ्र्यो, घाम हुन्थ्यो, अरुले देख्छ कि भनेर डराउनुपथ्र्यो,’ चर्पी नहुँदाको समस्या सम्झिँदै चौधरी भन्छिन्, ‘गर्मी मौसममा त झाडी, नालातिर दिसापिसाबका लागि जाँदा सर्पले टोक्ने डर समेत हुन्थ्यो ।’
लुमन्ति आवासका लागि सहयोग समुहको सहयोगमा आफ्नै घरछेऊ शौचालय निर्माण भएपछि चौधरी अहिले दंगदास छिन् । अचेल दिसा गर्न झाडी खोज्दै जानुपर्ने बाध्यता हटेको छ । वडावासीहरु दिसापिसाबको लागि चर्पीमै जान थालेका छन् । वडाका बालग्राम टोल, रामजानकी सुकुमारी, मितेरी, डाकनीमाई, त्रिवेणी, नवप्रतिभालगायतका टोलवासीको आनीबानीमा आएको सुधारकै कारण यहाँको बाटोघाटो, खोला, नाला सफा देखिन्छ । जसका कारण झाडापखला जस्ता सरुवा रोगको प्रकोप पनि कम भएको छ । चर्पीसँगै खानेपानी समेत पाएपछि वडामा स्वास्थ्य चेतनाको त लहरै फैलिएको छ । ट्युबवेलको आर्सेनिकयुक्त पानी खानुपर्ने बाध्यता हटेको छ ।
स्वास्थ्य सरसफाई र स्वच्छ खानेपानीका लागि कार्यरत लुमन्तीको आर्थिक साझेदारीमा इटहरी वडा नं. ६ का १३ वटा टोलमा एकिकृत खानेपानी, स्वास्थ्य तथा वातावरणीय सरसफाई कार्यक्रमअन्तर्गत ३ सय २४ वटा शौचालय निर्माण गरिएको छ । इटहरीकै पछि परेका वडा भएको कारणले पनि यो वडामा आएको परिवर्तन उल्लेखनीय भएको इटहरी नगरपालिकाका कार्यकारी अधिकृत गणेशराज कार्कीको अनुभव छ । उनी भन्छन्, ‘इटहरीकै पछाडि पारिएका वडाहरुमध्येको एउटा हो ६ नं. वडा । जसमा अभियान सञ्चालनपनि अहिले प्रत्येकको घरमा चर्पी र धारो छ ।’चर्पी अभियानसँगै वडालाई स्वच्छ खानेपानी क्षेत्र बनाउने अभियानसमेत सञ्चालनमा छ । गरिबलाई खानेपानी कार्यक्रमअन्र्तगत स्थानिय उपभोक्ताको सक्रियता र साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था नगरपालिका र लुमन्ति – आवासको लागि सहयोग समुहको समन्वयमा ६४७ घर धुरीमा धारा जडान गरि सकेको छ भने ६ नं. वडामा मात्रै ३०१ वटा धारा जडान गरिएको छ । जसबाट अतिनिम्न वर्गका परिवारहरु लाभान्वित भएका छन् ।
शौचालय हुने घरले मात्र पानीको सुविधा पाउने नियम बनाइएपछि वडावासीहरु उत्साहित भएको साना सहरी विकास तथा खानेपानी आयोजना इटहरीका अध्यक्ष रामप्रसाद चौलागाइ बताउँछन् ।
‘पानी र चर्पीलाई हामीले सफाइ अभियानको आधारभुत आवश्यकता मानेका छौं । जसअनुरुप चर्पी भएका घरलाई खानेपानीको धारा दिने र चर्पी नभएका घरमा पनि चर्पी बनाउनका लागि सचेतनामुलक कार्यक्रम गरेर प्रोत्साहित गरेका छौं ।’ उनले भने । उनका अनुसार खानेपानीको धारा वितरण कार्य अहिले पनि जारी छ ।
सन् २०१४ सम्ममा इटहरी नगरपालिकाका ९ वटै वडालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने योजना अनुसार लुमन्ती आवासका लागि सहयोग समुहले इटहरी नगरपालिकाको साझेदारीमा इटहरी नगरपालिकासंगको सझेदारीमामा सन् २००९ देखि कार्यक्रम सञ्चालन गरेको थियो ।
वाटर एड नेपाल र युएन ह्याबिट्याटको सहयोगमा इटहरीका वडा नं. ६, ७, ८ र ९ का ३२ विपन्न समुदायमा कार्यक्रम सञ्चालनमा छ । हाल सम्म वडा नं ६,७,८ र ९ गरि जम्मा ८८३ घर घुरीमा शौचालय निर्माण गरिसकेको छ ।
सोही एकीकृत खानेपानी, स्वास्थ्य तथा वातावरणीय सरसफाइ कार्यक्रम अन्तर्गत वडा नं. ९ पछि अहिले वडा नं. ६ लाई पनि खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न सफल भएको हो । सुरुमा मानिसलाई बुझाउन गाह्रो भएपनि पछि सफलता हात लागेको बताउँदै आफ्नो संस्थागत मेहेनतका साथै स्थानीयको जागरुकता र सहयोगले सफाइ अभियान सफल भएको लुमन्ती आवासका लागि सहयोग समूह इटहरीका कार्यक्रम संयोजक सुर्यकुमार खड्काको अनुभव छ । उनी भन्छन्, ‘खाली गफ मात्र दिन्छन् भनेर सुरुमा त धेरैले वास्ता गरेनन्, तर पछि हामीले प्रत्यक्ष सहयोग गर्न थालेपछि सबैको सहयोग जुट्दै गयो ।’ उनका अनुसार चर्पी र खानेपानी दिएपछि सबै काम पुरा भएको छैन । ‘अनुगमन र निरिक्षणमा हामी जुटिसकेका छौं, चर्पी र खानेपानी सदुपयोग भए, नभएको प्रभावकारी अनुगमनको लागि संयन्त्र नै बनाएर लागिपरेका छौं ।’
आँटेपनि नहुने के नै छ र ? सकारात्मक प्रयासलाई जसले पनि सहयोग गर्छ । भव्य कार्यक्रमका बिच ६ नं. वडा खुला दिसामुक्त घोषणा भयो । वडाभित्रका १३ वटा टोलले खुला दिसामुक्त बनाउन लिखित र मौखिक प्रतिबद्धता नै जनाएका छन् । सुरुमा स्थानियले वास्तै नगरेको संस्था लुमन्तीको पछि खुला दिसामुक्त कार्यक्रममा जयजयकार नै गरेका थिए ।
खुला दिसामुक्त घोषणासँगै समुदाय र सहयोगि संस्थामा अझ बढी जिम्मेवारी थपिएको छ । प्रभावकारी कार्यान्वयन गराउन र चर्पी र धाराको सदुपयोग प्रमुख चुनौतिको रुपमा अझै पनि उभिएको छ । लामो समयदेखि खुला आकाशमा दिसापिसाब गर्न बानी परेका स्थानियहरुलाई चर्पीमा बानी पार्न सजिलो छैन । त्यसका लागि नियम बनाएर र जनचेतनामुलक कार्यक्रम गरेर अघि बढेको खुला दिसामुक्त क्षेत्र घोषणा वडा समन्वय समितिका संयोजक शिवनारायण भण्डारी बताउँछन् । उनका अनुसार खुला दिसापिसाब गर्ने मानिसलाई कारवाहीको नियम बनाइएको छ । साथै खुला दिसापिसाब गर्दाका बेफाइदाबारे घरघरमै गएर जानकारी दिने अभियान थालिसकिएको छ ।स्थानियको जागरुकता, इटहरी नगरपालिकाको दुरदर्शी योजनामा लुमन्तीको सहयोगपछि एउटा वडाको मुहार फेरीएको छ । यसले खुला दिसामुक्त घोषणा गर्ने अभियानमा रहेका सबै संस्थाहरुलाई प्रेरणा मिल्ने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस् >>
