हराइरहेको मलेसियाली एयरलाइन्सको विमान अझै भेटिएन

शनिबारदेखि हराइरहेको मलेसियाली एयरलाइन्सको विमान अझै भेटिएको छैन । क्वालालम्पुरबाट बेइजिङ रुटमा पर्ने दक्षिण चीन समुद्रमा खोजीका लागि ४० पानीजहाज र २२ जहाज परिचालन गरिएको छ ।
मलेसियाली सशस्त्र सुरक्षा बलका प्रमुख जुल्फिकेली मोहम्मद जिनका अनुसार उडान भरेको २ घन्टादेखि यात्रुवाहक एयरबस ७७७ विमान सम्पर्कविहीन छ । विमानमा चालकदलका १२ सदस्यसहित २ सय ३९ सवार थिए । मलेसियाली समयअनुसार शनिबार दिउँसो डेढ बजे राडारसँगको सम्पर्क टुटेको थियो ।
मलेसियाली नौसैनिक पानीजहाजसहित चीन, सिंगापुर, थाइल्यान्ड, इन्डोनेसिया र अमेरिकाका नौसेना खोजीमा जुटेका छन् । विमान दक्षिण चीन समुद्रमा दुर्घटनाग्रस्त भएको हुन सक्ने अधिकारीहरूको आशंका छ ।
भियतनामी भूभाग नजिक समुद्रमा तेल तैरिएको अपुष्ट समाचार पनि आएका छन् । अमेरिकाले विशेष पानीजहाज त्यस क्षेत्रमा परिचालन गरेको छ । मलेसियाका प्रधानमन्त्री नजीब रज्जाकका अनुसार विमानको खोजीमा हेलिकप्टर र जहाजहरू त्यस क्षेत्रमा परिचालन गरिएको छ । एसिया प्रशान्त एयरलाइन्स संघका महानिर्देशक एन्ड्रु हर्डमनले यसलाई असामान्य दुर्घटना भनेका छन् ।
अधिकारीहरूका अनुसार विमान बीचबाटै क्वालालम्पुरतर्फ फर्किन मोडिएको राडार संकेत पनि प्राप्त भएको छ । सम्पर्क विच्छेद हुनुअघि उक्त संकेत प्राप्त भएको हो । चालक दलले खतराको कुनै संकेत दिएको थिएन ।
चालक दलका नेता तथा पाइलट मलेसियाका ख्यातिप्राप्त क्याप्टेन जहारी अहमद शाह थिए । सन् १९८१ मा उक्त एयरलाइन्स प्रवेश गरेका ५३ वर्षीय उनले १८ हजार ३ सय ६५ घन्टा आकाशमा बिताइसकेका छन् ।
यसैबीच, बेपत्ता विमानभन्दा आधा घन्टाअघि जापानको नारिता विमानस्थलतर्फ उडेको अर्को बोइङ ७७७ का पाइलटले आफूसँग सम्पर्क भएको दाबी गरेका छन् । भियतनामी हवाई नियन्त्रण कक्षको अनुरोधमा आफूले उक्त विमानसँग सम्पर्क गर्दा अस्पष्ट आवाज आएको उनको भनाइ छ । चालक या सहचालकको आवाज स्पष्ट नसुनिए पनि गुनगुनाएको आवाज भने सुनेको उनले बताए । सोही फ्रिक्वेन्सीमा रहेका अन्य विमानले पनि त्यस्तो आवाज सुनेको हुन सक्ने ती पाइलटको अनुमान छ । मलेसियाली एयरलाइन्स अधिकारीले उनको दाबी अस्वीकार गरेका छन् ।
आतंकवादी षड्यन्त्रको गन्ध अस्टि्रयाका क्रिस्टियन कोजेल र इटालीका लुइगी मराल्डीको नाम विमानसँगै हराइरहेको सूचीमा भए पनि दुवै देशका विदेश मन्त्रालयहरूले सकुशल रहेको जनाएपछि अनुसन्धान मोडिएको छ ।
दुवैको पासपोर्ट थाइल्यान्डमा चोरी भएको थियो । दुवै चोरिएको पासपोर्टबाट एकसाथ विमान टिकट खरिद गरिएको बीबीसीले पुष्टि गरेको छ । दुवै यात्रीले बेइजिङबाट युरोप जाने टिकट पनि साथमै राखेका थिए । दुवैले चाइना साउदर्न एयरलाइन्सको टिकट लिएका थिए । ती यात्री को थिए भन्ने खुलेको छैन । मलेसियाको नागरिक उड्डयन प्रमुखले सीसीटीभी फुटेजबाट ती छद्मभेषी यात्रीको पहिचान भइसकेको बताएका छन् । मलेसियाली यातायात मन्त्री हिसामुद्दिन हुसेनले उनीहरू सहितका चार संदिग्ध यात्रीबारे अनुसन्धान भइरहेको जानकारी सञ्चारकर्मीलाई दिए । प्रधानमन्त्री रज्जाकले पनि विमानस्थलमा सुरक्षा कमजोरीबारे समीक्षा भइरहेको बताए । अमेरिकासहित विभिन्न देशका प्रतिआतंकवाद इकाई पनि अनुसन्धानमा जुटेका छन् ।
मलेसियाले विमानस्थलमा सुरक्षा कमजोरीबारे अनुसन्धान थालेको छ । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा जडित सीसीटीभी फुटेज हेर्दै अध्यागमन अधिकारी र सुरक्षाकर्मीहरूसँग सोधपुछ सुरु गरिएको छ । विमान हराउनुको मुख्य कारण सुरक्षा कमजोरी हुन सक्ने अधिकारीहरूको आशंका छ । विमान अपहरणमा परेको या बम विस्फोट गराइएको हुन सक्ने सम्भावनामा अधिकारीहरूले अनुसन्धान केन्दि्रत गरेका छन् । अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन -एफबीआई) को टोली क्वालालम्पुर प्रस्थान गरेको छ । एफबीआईले ४ यात्रीबारे अनुसन्धान केन्द्रित गरिएको जनाएको छ । जसमा २ युरोपेली र २ चोरिएको पासपोर्टमा यात्रारत थिए । एक अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताए अनुसार विमानस्थलमा सुरक्षा कमजोरीका संकेत फेला परेका छन् ।
उइगुर समूहमाथि शंका
अधिकारीहरूले विमान हराउनुको कारण चीनमा अल्पसंख्यक उइगुर मुसलमान समूह हुन सक्ने आशंकासमेत गरेका छन् । चीनको दक्षिण-पश्चिमी प्रान्त युनानको राजधानी कुन्मिङमा छुरा प्रहारबाट २९ जनाको ज्यान लिइएको घटनाको एक सातापछि विमान हराएको छ । छुरा प्रहारमा उइगुर समूहको संलग्नता थियो । सन् २०११ र ०१२ मा मलेसियाले नक्कली पासपोर्ट बोकेका उइगुर समुदायका १७ जनालाई चीन फर्काएको थियो । उनीहरू मानव तस्करी सिन्डिकेटसँग आबद्ध भएको आरोप मलेसियाली अधिकारीको थियो । 'उइगुर लडाकु समूहको संलग्नता पुष्टि भएको छैन तर कुन्मिङ आक्रमणको समयावधि हेर्दा त्यसलाई नकार्न मिल्ने अवस्था पनि छैन,' अनुसन्धानमा संलग्न एक अधिकारीले भने । युनान प्रान्तका गभर्नर ली जिहेङले कुन्मिङ आक्रमण र विमान हराउनुबीच सम्बन्ध जोडिने कुनै सूचना प्राप्त नभएको बताए ।
को थिए यात्री ?
विमानमा १४ देशका २ सय २७ नागरिक र चालक दलका १२ सदस्य थिए । जसमा चीनका १ सय ५३, मलेसियाका ३८, इन्डोनेसियाका ७, अस्ट्रेलियाका ६, भारतका ५, फ्रान्सका ४, अमेरिकाका ३, न्युजिल्यान्ड, युक्रेन र क्यानाडाका २/२ तथा रुस, इटाली, ताइवान, नेदरल्यान्ड्स र अस्टि्रयाका १/१ थिए । अस्टि्रया र इटालीका विदेश मन्त्रालयले उक्त विमानमा आफ्ना नागरिक नरहेको बताएका छन् । दुवै देशका विदेश मन्त्रालयका अनुसार विमानमा सवार व्यक्तिको सूचीमा उल्लेखित नागरिक सुरक्षित छन् ।
सन् २००९ मा एयर फ्रान्सको विमान एटलान्टिक महासागरमा यसरी नै गायब भएको थियो । उक्त दुर्घटनाको कारण पत्ता लगाउन ३ वर्ष लागेको थियो । विमानमा सवार चिनियाँ नागरिकहरूमध्ये ख्यातिप्राप्त १९ जना कलाकारको टोली समेत थियो । उनीहरू एक प्रदर्शनीमा भाग लिन क्वालालम्पुर पुगेका थिए । टोली नेता होउ बो प्रख्यात कलाकार हुन् ।
८ चिनियाँ र १२ मलेसियाली टेक्सास आधारित अमेरिकी कम्पनी फ्रिस्केल सेमिकन्डक्टरमा कार्यरत थिए । विमानमा चीनका ३ र अमेरिकाका २ जना २ देखि ४ वर्ष उमेर बालबालिका थिए । अमेरिकाका तेस्रो व्यक्ति आईबीएम कम्पनीमा कार्यरत ५१ वर्षीय फिलिप उड भएको खुलेको छ । 'मेरो हृदयको टुक्रा भगवानको प्यारो भएको ठानेकी छु,' फिलिपकी आमा सान्ड्राले यूएसए टुडेसँग भनिन् । विमानमा ७९ वर्षका एक वृद्ध पनि यात्रा गरिरहेका थिए ।
यसैबीच, भियतनामी अधिकारीहरूले विमानको सम्भावित भग्नावशेषका दुई वटा संकेत समुद्रमा देखिएको बताएका छन् । 'हामीले भियतनामी विमानबाट भाँचिएका दुई अवशेष फेला परेको सुचना पाएका छौं,' खोजी तथा उद्दार दलका एक बरिष्ठ अधिकारीले भने, 'थो चु टापुबाट ५० माइल टाढा पानीमा तैरिरहेका अवस्थामा ती अवशेष देखिएका छन् ।' उनका अनुसार ती अवशेष विमानका कुनै भाग जस्तो देखिएका छन् ।  सोमबार मात्र त्यस क्षेत्रमा जहाज र डुंगा पठाइने जानकारी उनले दिए । उनका अनुसार भियतनामी विमानहरूले जेटबाट चुहिएको जस्तो लाग्ने तेलको संकेत पनि फेला पारेका छन् ।




प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>