इटहरीको खोसार्नेखापमा होमस्टे सुरु
सुनसरी । पूर्वको व्यापारीक नगरी मानिने सुनसरीको इटहरी नगरपालिकामा पर्याप्त होटल तथा लजहरु नभएका होइनन् । तर इटहरी नगरपालिकाको सबैभन्दा उत्तरमा पर्ने खोसार्नेखाप नामको गाउँमा इटहरीलाई नै चिनाउने गरी होमस्टे सञ्चालनमा ल्याइएको छ । अंग्रेजी नयाँ वर्ष २०१४ को सुरुवातको अवसरमा बुधबार होमस्टेको उद्घाटन गरिएको छ ।
नगरपालिकाभित्र पर्ने भएर पनि राईलिम्बु तथा धिमाल जातिको बसोबास रहेको गाउँले परिवेशको उक्त गाउँमा होमस्टे सुरु भएपछि स्थानियहरु दंग परेका छन् ।
स्थानिय १० घरले आफ्नो घरमा होमस्टे सञ्चालनमा ल्याएका छन् । होमस्टेको व्यवस्थापनको लागि स्थानियले पालो सिस्टम अपनाएका छन् । एकरात खाना र खाजासमेत पाँच सय रुपैयादेखि ६ सय रुपैयासम्म खर्च लाग्छ । इटहरी नगरपालिका तथा किप इटहरी क्लिनमा आबद्ध सदस्यहरुलगायत विभिन्न संघ संस्थाको सहयोगले होमस्टे थालिएको भएपनि खोसार्नेखाप र इटहरीको बाँकी भुभागको बिचमा पर्ने शेरा खोलामा पुल नबन्दा भने सर्वसाधारणले सास्ती व्यहोर्ने गरेका छन् । स्थानिय गंगाबहादुर रायले पुल निर्माणको माग गरेका छन् ।
५५ घर रहेको खोसार्नेखापमा राई लिम्बु र धिमाल जातिको बाहुल्यता छ । खोसार्नेखापको विकास पुर्वाधारमा इटहरी नगरपालिकाले जोड दिनुपर्ने धिमाल संघ इटहरी नगर कमिटीका अध्यक्ष विश्वराज धिमालले माग गरे ।
खोर्सानेखापमा आउने आगन्तुकहरुको सेवासुविधामा सक्दो लागिपर्ने होमस्टे सञ्चालकहरुले प्रतिबद्धता जनाएका छन् । इटहरीले नयाँ पर्यटकीय गन्तव्य पाएको भन्दै निरन्तरता र विकासको लागि सरकारी प्रतिनिधि तथा राजनीतिक दलले आग्रह गरेका छन् । पुस १७
प्रतिक्रिया दिनुहोस् >>