छोरीको जन्मदर घट्न थाल्यो
Posted by
purwanews
Published on
Tuesday, January 7, 2014
काठमाडौ, सामान्यतया प्रकृतिमा छोराभन्दा छोरी बढी जन्मन्छन् । विश्वभरमा गरिएको विभिन्न अध्ययनअनुसार सय छोरा जन्मँदा १ सय ५ छोरीको जन्म हुन्छ । केही अघिसम्म नेपालमा पनि छोरी जन्मने संख्या नै बढी थियो । तर पछिल्लो समय स्वास्थ्य क्षेत्रमा भएको नयाँ प्रविधिको विकाससँगै भू्रणको लिंग पहिचान गरी गर्भपतन गराउने चलन बढेको लगायत अन्य कारणले गर्दा छोराहरू जन्मने क्रम बढेको विज्ञहरू बताउँछन् । छोरा र छोरीबीचको यो अन्तर हाल आएर असामान्य बन्दै गएको छ । बि्रटिस मेडिकल जर्नल -बीएमजे) ले सन् २०१३ मा नेपालमा गरेको एक अध्ययनअनुसार एक हजार छोरा जन्मँदा ७ सय ४२ मात्र छोरी जन्मिएको पाइएको थियो । पहिलो सन्तान छोरी भएकाले दोस्रो सन्तान जन्माउँदाको अवस्थालाई अनुसन्धान गर्दा यस्तो पाइएको बीएमजेले जनाएको छ ।
सहरी क्षेत्रमा रहेका शिक्षित महिलाले छोरीभन्दा बढी छोरा जन्माएको देखिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका अस्पतालहरूको अनुसन्धान गर्दा एक हजार छोरा जन्मँदा ३ सय २६ मात्र छोरी जन्मिएको पाइएको हो ।
पछिल्लो समय समाजमा भ्रूणको लिंग पहिचान गरी छोरी भए गर्भपतन गराउने विकृति फैलँदै गएको छ । गर्भपतनले कानुनी मान्यता पाएपछि र नेपालमै भू्रणको लिंग पहिचान गर्न सकिने प्रविधिहरू भित्रिएपछि यस्तो देखिएको हो । नेपालमा सुरक्षित गर्भपतनले मान्यता नपाएको अवस्थामा पनि मानिसहरू भारततर्फ गएर भ्रूणको लिंग पहिचान गरी गर्भपतन गराउँथे । त्यतिबेला थोरै महिलाको मात्रै त्यहाँसम्म पुग्ने पहुँच हुन्थ्यो । अहिले नेपालकै गाउँ-ठाउँमा सुरक्षित गर्भपतन सेवा उपलब्ध छ । कानुनबमोजिम १२ सातासम्मको भ्रूणलाई मात्र गर्भपतन गराउन सकिन्छ । तर भ्रूणको लिंग पहिचान गरेर गर्भपतन गराउन पाइँदैन । भू्रणको लिंग पहिचान गरी गर्भपतन गराउने चिकित्सक र महिला दुवैलाई कारबाही हुन्छ । मुलुकी ऐनको ज्यानसम्बन्धी महल २८-ग) मा गर्भमा रहेको भू्रणको लिंग पहिचानमात्र गराउनेलाई तीनदेखि छ महिना कैद र पहिचान गरी गर्भपतन गराउनेलाई छदेखि दुई वर्षसम्म कैद गरिने प्रावधान छ ।
गर्भपतनलाई कानुनी मान्यता दिनुभन्दा पहिला सन् १९९८ देखि २००० सम्मको तथ्यांक हेर्दा नेपालमा एक हजार छोरा जन्मँदा १ हजार २१ छोरी जन्मने गरेका थिए । सन् २००२ मा गर्भपतनले कानुनी मान्यता पाएपछि छोरी जन्मने संख्या घट्दै गएको हो । चेतनाको अभावले भन्दा पनि 'वंश चलाउन छोरा नै चाहिने' सामाजिक मान्यताले गर्दा समाजमा यस्ता विकृति बढ्दै गएको छ ।
राष्ट्रिय जनगणनाको तथ्यांक हेर्दा छोराको तुलनामा छोरी जन्मने संख्या कम हँुदै गएको देखिन्छ । ०३८ सालको तथ्यांकअनुसार छोरा र छोरी बराबरी जन्मिएका थिए । त्यस बेलाको नौ वर्षसम्मको तथ्यांक हेर्दा कुल जनसंख्याको २९.१० प्रतिशत छोरा जन्मिन्थे भने २९.०९ प्रतिशत छोरी । त्यतिबेला छोरा र छोरीको संख्याबीच अन्तरै थिएन ।
०४८ सालमा छोराको भन्दा छोरी जन्मने अन्तर केही मात्रामा घटेको देखियो । नौ वर्षसम्मका बालबालिकाको अन्तर हेर्दा २९.१३ प्रतिशत छोरा थिए भने २८.१२ प्रतिशत छोरी थिए ।
०५८ को जनगणनाअनुसार ९ वर्षसम्मका बालबालिकालाई हेर्दा कुल जनसंख्याको २६.७ प्रतिशत छोरा थिए भने २३.१८ प्रतिशत छोरी । त्यतिबेला नौ वर्षमा ३० लाख २८ हजार ८ सय २ छोरा जन्मिएका थिए भने २९ लाख ३७ हजार ८ सय ५३ छोरी जन्मिएका थिए । त्यसबेला छोरीको संख्याभन्दा ९० हजार ९ सय ४९ बढी छोरा जन्मिएका थिए ।
०६८ को जनगणनाअनुसार पछिल्लो नौ वर्षमा २९ लाख ५० हजार १ सय ३३ छोरा जन्मिएका छन् भने २८ लाख २२ हजार ६ सय ८९ छोरी जन्मिएका छन् । यस तथ्यांकले एक लाख २७ हजार ४ सय ४४ छोरा बढी जन्मिएको देखाएको छ । ०६८ अनुसार एक वर्ष नपुगेका छोराको संख्या २ लाख ४२ हजार २ सय २६ छ भने छोरीको संख्या २ लाख २६ हजार ७ सय ५३ छ।
केही विज्ञहरूले चाहिँ छोरीको तुलनामा छोराको संख्या बढ्नुका पछाडि गर्भपतनबाहेक अन्य कारणहरू पनि रहेको बारे अध्ययन हुनुपर्ने टिप्पणी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस् >>