प्रहरीद्धारा विपत्तिबारे अभियान विद्यार्थीहरुबाट सुरु
Posted by
purwanews
Published on
Saturday, January 11, 2014
काठमाडौं । सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनको अभियान कलिला विद्यार्थीहरुबाट सुरु गरेको छ । ‘पाइलट प्रोजेक्ट’को रुपमा उपत्यकाबाट सञ्चालन गरिएको यस कार्यक्रमलाई क्रमिक रुपमा विस्तार गरी जिल्लास्तरमा पुर्याउने प्रहरीको योजना छ ।भूकम्प दिवस (माघ २ गते)
लाई लक्षित गरी पुस महिनाभित्र सशस्त्र प्रहरी प्रधान कार्यालयले पहिलो चरणमा उपत्यकाका १० विद्यालयमा जनचेतना मूलक कक्षा सञ्चालन गरी एक हजार भन्दा बढी विद्यार्थीलाई चेतना अभिबृद्धि गर्ने योजना बनाएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छत्कुलीले बताए । यसै क्रममा विभिन्न विद्यालयमा चेतनामूलक प्रशिक्षण सञ्चालन गरी विद्यार्थीहरुलाई विपद् र यसबाट जोगिने उपायबारे प्रशिक्षण दिइएको छत्कुलीले जानकारी दिए ।‘पाइलट प्रोजेक्ट’को रुपमा हाल काठमाडौं उपत्यकामा संचालन गरिएको यस कार्यक्रमलाई क्रमिक रुपमा विस्तार गरि क्षेत्रीयस्तर हुँदै जिल्लास्तरमा समेत विस्तार गरिने योजना बलको रहेको छ । सशस्त्र प्रहरी ऐनले सुम्पिएको जिम्मेवारी मध्ये विपद् र महामारीबाट पीडितको उद्धारमा सहयोग पुर्याउनु पनि रहेको भन्दै सशस्त्र प्रहरीले यस्तो अभियान चलाएको बताइएको छ ।
यसक्रममा विपत् व्यवस्थापनसम्बन्धी हातेपुस्तिका प्रकाशित गर्नुका साथै विविध प्रकृतिका विपद् र यसबाट जोगिने उपायहरु समेटेर पर्चा, पम्पलेट प्रकाशित गरी विद्यार्थीका माध्यमबाट उनीहरुको परिवारसम्म वितरण गरिएको छत्कुलीले बताए ।
सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनका लागि दक्ष जनशक्ति उत्पादन गर्न चितवन जिल्लाको कुरिनटारमा तालिम केन्द्र नै स्थापना गरी प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।
यसैगरी पाँचै विकास क्षेत्रस्थित बाहिनीहरुमा विपद् व्यवस्थापन सम्बन्धी दक्ष जनशक्ति तैनाथ गरिसकेको सशस्त्र प्रहरीले जनाएको छ । कुनै पनि विपद्को बेला तत्काल परिचालन गर्नका लागि हरेक बाहिनीमा ५० जना दक्ष जनशक्ति तैथान गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् >>