दार्जिलिङमा चेली बेच्नेलाई आजीवन जेल

इलाम -  स्वदेशमा महिला हिंसाविरुद्ध करोडौं खर्चेर १६ दिने अभियान चलिरहेका बेला लाखौं नेपालीभाषीको बसोबासथलो दार्जिलिङक्षेत्रमा चेलीबेटी बेचबिखनका 'कुख्यात' अपराधीलाई आजीवन कारावासको सजाय तोकिएको छ। चेलीबेटी बेचबिखनको घटनामा दार्जिलिङक्षेत्रमा आजीवन जेल सजाय तोकिएको यो पहिलो घटना हो।
चेलीवेटी बेचविखन र बेश्यावृति गराउने कार्यमा संलग्न एक नेपाली महिलासहित तीन जनालाई पहिलोपल्ट कडा सजाय दिइएको हो। तीन बर्षअघि पक्राउ परेर बिहिवार जेल सजाय तोकिनेमा बाँकी दुईजना पनि नेपालीभाषी नैं छन्। चेलीबेटी बेचविखनका बाक्लै घटना हुने दार्जिलिङमा यस्तो सजाय तोकिएपछि अधिकारकर्मी खुसी छन्।
 तीन बर्षदेखि चलिरहेको मुद्दाको अन्तिम फैसला गर्दै खर्साङ अदालतले नेपाली महिला जमुना थापालाई आठ बर्षको जेल सजाय र दुई हजार रुपैयाँ जरिवाना तोकेको हो। थापा नेपाली भनिए पनि उनको ठेगाना खुलाइएको छैन। भारतीय दण्डसंहिताको धारा ३४५/२३५ अन्तर्गत बेश्यालय चलाएर बेचिएका चेलीबेटीलाई यौनधन्दा गर्न बाध्य पारेको आरोप पुष्टि गर्दै अदालतले थापालाई यस्तो सजाय सुनाएको हो। जरिवाना रकम तिर्न नसके उनले थप छ महिना जेलमा बिताउनुपर्नेछ।
 खर्साङ अदालतको फैसलाबारे भारतीय सञ्चारमाध्यमले जनाएअनुसार, महाराष्ट्रस्थित पूनेमा वेश्यालय चलाउनेमध्येकी एक थापाले गाउँबाट झुक्किएर बेचिँदै त्यहाँ पुग्ने नेपालीभाषीसहित धेरै महिलालाई जर्वजस्ती यौनधन्दामा सामेल गराउँदै आएकी थिइन्। दार्जिलिङको कञ्चनजंघा उद्धार केन्द्रको सक्रियतामा २०१० मा बेचिँदै गरेकी एक नेपालीभाषी चेलीसहित बेश्यालयबाटै पक्राउ परेकी थापालाई मुद्दा दायर गरी अन्तिम फैसला नभएसम्म खर्साङस्थित जेलमा राखिंदै आएको थियो।
 दर्जनौं चेलीबेटीको भविष्य बर्बाद पारेको निष्कर्षसहित थापासँगै आजीवन कारावासको सजाय पाउनेमा डुवर्स कालचिनीका बिशाल भनिने बिक्की विश्वकर्मा र नक्सलवारीकी संगीता भनिने मिना दर्जी छन्। बिश्वकर्माले दशक अघिदेखि दार्जिलिङक्षेत्रका नेपालीभाषीसहित दर्जनौं चेलीलाई ललाईफकाई गर्दै पूणेको बेश्यालयमा बेच्दै आएको अदालतको ठहर छ। उनको धन्दामा दर्जीले कहिले आफन्त त कहिले साथीको साइनो जोड्दै सोधासिझा युवती बेच्नमा सघाउँदै आएकी थिइन्।
 बेश्यालयमा चेलीबेटी बेच्ने दुई जनालाई आजीवन र बेश्यालय चलाउने नेपाली महिलालाई आठ बर्षको जेल सजाय सुनाइएपछि महिला अधिकारका पक्षमा लड्दै आएको केन्द्रकी सचिव रंगु सौरिया खुशी छन्। 'ढिलै भए पनि महिला बेच्ने र निकृष्ट काममा लाउनेले चित्तबुझ्दो सजाय पाएकोमा सन्तोष मान्दैछौं' खुलेको ९ बर्षमा पाँच सय जति चेलीको उद्दार गरिसकेको केन्द्रकी सौरियाले भनेकी छन्, 'चेली बेच्ने र यौनधन्दा गराउनेलाई पहिलैदेखि यसरी सजाय दिएको भए घटना कम हुन्थे।'
 सरकारले नैं यौनधन्दाका लागि निश्चित क्षेत्र छुट्याएको भारतमा दार्जिलिङ–सिक्किमका दुर्गम बस्तीबाट सोझासिधा नेपालीभाषी चेली बेचिंदै आएको अवश्थामा यो फैसलाले त्योक्रम रोकिने आशा गरिएको छ। यसअघि सन् २००८ मा यस्तै घटनामा पक्राउ परेका विनय तामाङलाई अदालतले १४ बर्षको जेल सजाय मात्रै तोकेको थियो। 'यौनधन्दामा लगाउन खोज्ने जोकोहीलाई यस्तै कारवाही भयो भने गलत काम गर्नेहरु हराउँछन्' सौरियाले भनेकी छन्।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>