कलेज छाडेर गोठमा

डबल डिग्री छ, एउटा एमबीए, अर्को एमएड। सर्टिफिकेट भजाएर राम्रो जागिर खान सक्ने क्षमता पनि छ। त्यस्ता दुई-चार अवसर नआएका पनि होइनन्। तर, जागिरको सीमित घेरामा अटाएनन्, विराटनगर-२० का मनोजकुमार साह।
बिहानै टाईसुटमा सजिएर कलेजमा पढाउन पुग्ने उनी दुई वर्षयता झिसमिसेमै गोठमा हाजिर हुन्छन्। कर्मचारीको काम चित्त नबुझे चौपाया र गोठ आफैँ स्याहार्न भिड्छन्। उनको सूत्र छ, कर्मलाई सम्मान दिनुपर्छ। अनि मात्र कर्मले पनि हामीलाई सम्मान दिन्छ। 
साहसँग स्कुल र कलेजमा १५ वर्ष अध्यापन गरेको अनुभव छ। त्यस अवधिमा उनी आफैँले स्कुल र कलेज पनि चलाए। द्वन्द्वकालमा नयाँ जनवादी शिक्षा लागू गर्न दिइएको दबाब, लगातारका बन्ददेखि शिक्षामा व्यापार गरेको आरोपसमेत खेप्नुपर्‍यो उनले। साहले सोचेछन्, अब बाटो बदल्नुपर्छ।०६८ वैशाखमा स्थानीय देवनारायण साहले विराटनगरको गणेश डेरीमा लगानी गर्ने प्रस्ताव सुनाएछन्। केही दिनमै २० लाख रुपियाँ लगानी हाले। तर, साझेदारबीच लामो समय मन नमिल्दा सिंगो डेरी उनैले सकारे। सुनाउँछन्, "बैंक ऋण एक करोड रुपियाँ र डेरीको भौतिक सम्पत्ति गरी करबि सवा दुई करोड रुपियाँमा सकारेको हुँ।" 
करोडौँ लगानी गरे पनि डेरीले जम्माजम्मी दुई हजार लिटर दूध प्रशोधन गथ्र्यो। यसले कर्मचारी पाल्न पनि पुग्दैनथ्यो। फेरि गुणस्तरीय दूधको अभाव भइरह्यो। भन्छन्, "यत्तिको लगानी र पूर्वाधार थेग्न कम्तीमा दैनिक पाँच हजार लिटर दूध चाहिन्छ। दिगो स्रोतका लागि आफैँले गाई फार्म सञ्चालन गर्नुपरेको हो।"
उनले अहिले विराटनगर, रानीमा पाँच बिघा जमिनमा गाई फार्म खोलेका छन्। १ सय १० वटा गाई ल्याइसकेका छन्। अरू गाई पनि ल्याउँदै छन्। पशु चिकित्सक र प्राविधिकहरूको नित्य निगरानी छ। फार्ममा १६ र डेरीमा २६ जनालाई पूर्णकालीन रोजगारी दिएका छन्। फार्मलाई सामुदायिक रोजगारी सिर्जनासित समन्वय गर्ने योजना बनाएका छन् उनले। यसका लागि उनले लघु वित्तीय लगानी जुटाउने तयारी गररिहेका छन्। यसो गर्नाले लघु वित्त संस्थाहरूको लगानी पनि सुरक्षित हुने उनको भनाइ छ। 
नेपालमा एकै खाले व्यवसायको मात्र भर गर्न नहुने उनले ठानेका छन्। त्यही भएर एकीकृत कृषि प्रणाली लागू गर्नेवाला छन्। उनी आफ्नो फार्ममा तीन सय बाख्रा पाल्दै छन्। बाख्राका लागि खोर तयार भइसकेको छ। भारतको राजस्थानबाट १ सय ५६ वटा सिरोही नामक बाख्रा ल्याउँदै छन्। हाल स्थानीय बजारमा किनिएका ४० वटा बाख्रा सोही फार्ममा पालिएका छन्। ६ वटा माछा पोखरी बनाउने र पोखरीको डिलमा एक सयवटा बंगुर पाल्ने योजना अघि बढाइरहेका छन् साह । भन्छन्, "अब मासु र दूध दुवै उत्पादन गर्ने हो। एउटामा घाटा भए अर्कोले राहत दिन्छ।"
फार्ममा वित्तीय साझेदार मेगा बैंकको चार करोडसमेत गरी आठ करोड रुपियाँ लगानी गरिएको छ। फार्म पाँच बिघा जमिनमा फैलिएको छ। वरपिरि कम्पाउन्ड वाल, करबि चार हजार वर्गफिटको तीनवटा गाईगोठ, पाँच हजार वर्गफिटको एउटा बाख्रा खोर, चार हजार वर्गफिटको डेरी उद्योग, १४ हजार वर्गफिटको गँड्यौले मल कक्ष र १२ कट्ठाको एउटा पोखरी तयार भइसकेका छन्। हाल फार्मबाट दैनिक तीन सय लिटर दूध उत्पादन भइरहेको छ। भन्छन्, "प्रतिदिन पाँच हजार लिटर दूध उत्पादन, संकलन र प्रशोधनको प्रारम्भिक सोच छ। त्यसपछि अर्को योजना बन्छ।" 
व्यवसायको दौडमा उनले अनेक हन्डर नखाएका होइनन्। उन्नत जातका गाई नपाइने, विदेशबाट गाई ल्याउन नसकिनेजस्ता समस्या उनका लागि टाउको दुखाइको विषय बनेको छ। तर, उनी हारेका छैनन्। भन्छन्, "कलेजभन्दा राम्रो आम्दानी र सम्मान यही कामले दिएको छ। कृषि उद्यमीका रूपमा परचिय दिँदा गर्व लाग्छ।" 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>