इटहरीमा क्षेत्रीय औद्योगिक व्यापार मेला एवम् पर्यटन महोत्सव २०७०

इटहरी । उद्योग वाणिज्य सङ्घ इटहरीले आगामी माघ २१ देखि फागुन ६ गतेसम्म इटहरीस्थित क्षेत्रीय रङ्गशाला क्षेत्रमा औद्योगिक व्यापार मेला एवम् पर्यटन महोत्सव २०७० को आयोजना गर्ने भएको छ। उद्योग वाणिज्य सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सोबारे जानकारी गराएको हो।
नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग वाणिज्य सङ्घ इटहरी, नेपाल सरकार वित्तीय प्रवर्द्धन केन्द्र, घरेलु तथा साना उद्योग विभाग र उद्योग तथा वाणिज्य विभागसमेतको सहकार्यमा आयोजना हुने महोत्सवको सह–आयोजकमा इटहरी नगरपालिका र जिल्ला विकास समिति रहने उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष रोहितकुमार प्रसाईले बताउनुभयो।
नेपाल पर्यटन बोर्ड र कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रमको प्रवर्द्धनमा हुने पूर्वाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला एवम् पर्यटन महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने विभिन्न उत्पादनसँगै सूचना प्रविधिलगायतका सामग्रीको कक्ष रहने बताइएको छ। महोत्सवमा रु सात करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ।
पूर्वाञ्चलकै पर्यटकीय गन्तव्यका रूपमा रहेको इटहरीलाई पर्यटन आवागमनका रूपमा विकास गर्ने महोत्सवको प्रमुख उद्देश्य रहेको बताइएको छ। महोत्सव अवधिमा पूर्वाञ्चल क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलको दृष्य रहेका वृत्तचित्रको प्रदर्शनी गरिने तथा पूर्वाञ्चल क्षेत्रका विभिन्न जिल्लाका उत्पादनलाई समेत महोत्सवमा विशेष आकर्षणका रूपमा प्रदर्शन गरिने पूर्व अध्यक्ष टङ्क दुलालले जानकारी दिनुभयो।
विदेश निर्यात गर्न सकिने उत्पादनको पहिचान गरी निकासीमा जोड दिइने, स्थानीय उत्पादनको बजारीकरणमा विशेष बढावा दिइने, कृषिजन्य वस्तुलाई व्यवसायीकरण गर्ने, नयाँ वस्तुको बजार पहिचान तथा अनुगमन, लगानीको अवसर सिर्जना गर्ने सूचना प्रविधिको जानकारी आदानप्रदानसँगै पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा अवसरको खोजी गर्नु पनि महोत्सव केन्द्रित रहनेछ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>