लालपुर्जा राखेर गाउँलाई झिलीमिली

म्याग्दी, म्याग्दीको पश्चिम दरबाङ–३ दुखुबेँसीका सर्वसाधारणले जग्गाको लालपुर्जा बैंकमा धितोमा राखेर गाउँलाई झिलीमिली बनाएका छन्।
गाउँमा विद्युतीका लागि पटक पटक सरोकारवालासँग माग गरे पनि कतैबाट सहयोग नभएपछि उनीहरूले बेनीस्थित निलगिरी विकास बैंकमा लालपुर्जा धितोमा राखेर गाउँलाई झिलीमिली बनाएका हुन्।
बिजुलीको पोल र तार खरिद तथा कामदारका लागि पारिश्रमिक अभाव भएपछि गाउँको सहमतिमा लालपुर्जा धितोमा राखेर रु तीन लाख ६० हजार ऋण लिएर गाउँमा बिजुली बालेको उपभोक्ता समितिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो। १४२ घरधुरी रहेको दुखुबेँसीमा बिजुलीका लागि भनेर प्रत्येक घरधुरीबाट रु पाँच हजार ५०० चन्दा सङ्कलनसमेत गरिएको थियो।
उपभोक्ता समितिका अनुसार दुखुबेँसीमा बिजुली सुविधा पुर्याचउनका लागि स्थानीय आमा समूहले रु ५० हजार, सामुदायिक वनबाट रु एक लाख, स्थानीय विद्यालयले रु ५० हजार र दरबाङ गाविसले रु दुई लाख सहयोग गरेका छन्। गाउँमा बिजुली सुविधा पुर्या५उन सङ्कलन भएको रकम अपुग भएपछि कामलाई अलपत्र बन्न नदिन ऋण लिएर पूरा गरेको अध्यक्ष रोकाले बताउनुभयो।
अहिले मासिक रूपमा रु १० हजार ब्याज बुझाउँदै आएका छौँ अध्यक्ष रोकाले भन्नुभयो, “त्यो ऋण चुक्ता गर्न समितिसँग कुनै स्थायी स्रोत छैन।” जिल्ला सदरमुकाम बेनीदेखि एकदिनको पैदल दूरीमा पर्ने दुखुबेँसीमा विद्युतीकरणका लागि बाबियाचौर नजिकै रातोढुङ्गाबाट तार जोडिएको छ।
लालपुर्जा धितोमा राखेर काम सम्पन्न गरिए पनि सरकारी निकायबाट सहयोग नपाएको स्थानीयले गुनासो गरेका छन्। स्थानीय युवा क्लबले दुई वर्षसम्म दुखु र आसपासका गाउँमा विद्युतीकरणकै लागि देउसीभैलो कार्यक्रम पनि सञ्चालन गरेका थिए।
गाविसले क्रमागत रूपमा बजेट विनियोजन गर्दै आए पनि पर्याप्त नभएको गाविस सचिव शिव शर्माले बताउनुभयो। स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले दरबाङ र पाखापानीका प्रत्येक वडामा चालु आर्थिक वर्षमै विद्युतीकरण गर्न उपभोक्ता समितिलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>