नेपालका सबै वायुसेवा युरोपको कालो सूचीमा

काठमाडौं(युरोपेली आयोगले नेपालमा उडान गरिरहेका सम्पूर्ण वायुसेवा कम्पनीलाई युरोपेली युनियन (इयु) अन्तर्गतका मुलुकमा उडान गर्न निषेध गरेको छ। आयोगले युरोपेली नागरिकलाई नेपालमा दर्ता भएका जहाजमा यात्रा नगर्नसमेत आग्रह गरेको छ।आयोगले बिहीबार नेपालका सबै वायुसेवा कम्पनीलाई इयुभित्रका देशमा उडान सञ्चालन गर्न निषेध गरिएको इयु हवाई सुरक्षा सूची सार्वजनिक गरेको हो। नेपालको उड्डयन इतिहासमा यसरी प्रतिबन्ध लगाइएको पहिलोचोटि हो।
आयोगले विभिन्न स्रोतबाट प्राप्त नेपालको उड्डयन सुरक्षासम्बन्धी जानकारी तथा नेपाली उड्डयन क्षेत्रको नियामक निकाय नेपाल उड्डयन प्राधिकरणका उच्च अधिकारी एवं नेपाली वायुसेवा कम्पनीका अधिकारीको भनाइ सुनेपछि इयु हवाई सुरक्षा सूचीमा नेपाली वायुसेवालाई राखेको बिहीबार जनाएको छ।
आयोगका अनुसार अब नेपालका कुनै पनि वायुसेवा कम्पनीले युरोप आउन र इयुभित्र उडान गर्न पाउँदैनन्। युरोपेली वायुसेवा कम्पनी र ट्राभल एजेन्टहरूले नेपालमा हवाई यात्रा गर्न नेपाली वायुसेवाको टिकट बुकिङ गरिसकेका युरोपेली पर्यटकलाई उडान नगर्ने निर्णय भएको जानकारी गराउनुपर्ने छ।
सम्बद्ध स्रोतका अनुसार उड्डयन सुरक्षाभन्दा चिनियाँ एमए–६० जहाजलाई उडानयोग्य प्रमाणपत्र दिइएको विषयलाई आयोगले गम्भीरतासाथ लिएको थियो।आयोगले ६ महिनामा सबै सुधार गर्न निर्देशन दिएपछि ढुक्क भएर आएका नेपाली अधिकारीले अकस्मात निषेध गरिएको खबर बिहीबार पाएका थिए।
फ्रान्समा निर्मित एयरबसका जहाज खरिद गर्न २ अर्ब रुपैयाँभन्दा बढी रकम पठाइसकेको वायुसेवा निगमलाई पनि यो निषेधले अप्ठेरो पार्न सक्ने सम्भावना छ।सम्बद्ध स्रोतका अनुसार चिनियाँ नागरिक उड्डयन प्रशासनको नियम–२५ अनुसार एमए–६० उत्पादन भएको तथा यसको मापदण्ड अमेरिकी संघीय उड्डयन प्रशासन(एफएए) को नियम–२५ सँग हुबहु मिलेको भन्दै प्राधिकरणले प्रमाणपत्र जारी गरेको हो।
प्राधिकरणको नागरिक उड्डयन नियमावली २०५८ ले कुनै पनि जहाजसम्बन्धी प्रमाणपत्र जारी गर्न पाउने अधिकार महानिर्देशकलाई दिएको छ। यसैमा टेकेर प्राधिकरणले एमए–६० लाई उडानयोग्य प्रमाणपत्र दिएको हो। यसमा अधिकारी समितिको प्रतिवेदनले थप मद्दत गरेको थियो।
उड्डयन सुरक्षामा ध्यान नदिएका तथा एमए–६० जहाज सञ्चालन गरिहेका २१ देशका २ सय ९५ वायुसेवा कम्पनीलाई युरोपेली आयोग र ईयुले आफ्नो आकासमा उड्न प्रतिबन्ध लगाएका छन्। यसमा नेपालसँगै अफगानिस्तान, अंगोला, कंगो, गिनिया, इरिट्रिया, गाबोन, इन्डोनेसिया, काजकिस्तान, किर्गिस्तान, लाइबेरिया, मोजाम्बिक, फिलिपिन्स, सियरा लियोन, सडान, स्वाजिल्यान्ड, जाम्बियालगायत देश छन्।




प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>