हरे, अनिष्ट टार्न सरकारले दियो बोकाको बली
Posted by
purwanews
Published on
Friday, December 20, 2013
दोलखा- प्रसिद्ध दोलखा भीमेश्वरको सिलामा पसिना आएपछि परम्पराअनुसार राष्ट्रपति र सरकारले क्षमा पूजा गराएका छन्। मन्दिरको सिलामा गत आइतबार पसिना आएको थियो। सिलामा पसिना आउदा अनिष्ट हुने स्थानीयको मान्यता अनुसार राष्ट्रप्रमुखले मन्दिरमा क्षमा पूजा गर्ने परम्परा छ। यसअघि राजदरबारले गर्दै आएको क्षमा पूजा राष्ट्रपतिले प्रमुख जिल्ला अधिकारीमार्फत् गराएका हुन्।यसअघि राजतन्त्र सकिएपछि २०६४ मा समेत पसिना आएको बेलो तत्कालीन कार्यबाहक राष्ट्राध्यक्षको हैसियतमा प्रधानमन्त्री गरिजाप्रसाद कोइरालाले जोर कालो बोकासहित सबै पूजा सामाग्री पठाएरै तत्कालीन प्रमुख जिल्ला अधिकारीमार्फत् क्षमा पूजा गराएका थिए।
राष्ट्रपति रामवरण यादवले पठाएको पूजा सामाग्रीसहितको २५ सय रुपैँया भेटी र गृह मन्त्रालयले पठाएको एक जोर कालो बोकासहित दोलखाका प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले बिहीबार बिहान मन्दिरमा क्षमा पूजा गरेका थिए। उनको अगुवाइमा जिल्लाका सबै सुरक्षा प्रमुखहरु र सरकारी कार्यालय प्रमुखहरु क्षमा पूजामा सहभागी भएका थिए। पोखरेलले पुजारीको सल्लाहअनुसार विधिपूर्वक पूजा गरेका थिए। पूजाका क्रममा गृहबाट पठाइएको कालोबोका बली दिइएको थियो। उनले मन्दिरमा पसिना आउँदा १९९० सालदेखि नै हुने गरेको विधिअनुसार पूजा गरिएको जानकारी दिए।
मन्दिरको सिलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठी समितिले राष्ट्र प्रमुखलाई पसिना पुछिएको कपास र फुलपातीसहितको महाप्रसाद प्रमुख जिल्ला अधिकारी मार्फत पठाएका थिए। यस्तै पूर्व राजा ज्ञानेन्द्रले समेत पसिना आएपछि आफ्ना सहयोगीहरुका साथमा भेटी पठाएका छन्। बुधबार मन्दिरमा आएका ४ जनाले पूर्व राजा ज्ञानेन्द्रको नाममा रसिद काटेर भेटी चढाएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। यस्तै मन्दिरमा पुजा आजामा सहयोग गर्ने ४ जना टहलुवालाई समेत पूर्व राजाको नामबाट ८ सय दक्षिणा दिइएको छ।
प्रतिक्रिया दिनुहोस् >>