चुनाबी घरदैलो अभियान तिव्र

धरान / संधिानसभाको चुनावमा मतदाताहरुलाई आफुतिर आकर्षित गर्न सुनसरी क्षेत्र नं १ का दलका नेता
कार्यकर्ताहरु चुनावी प्रचारमा कार्यकर्ता परिचालन गर्न पार्टीको वडा कार्यालय स्थापनामा व्यस्त भएका छन् । चुनावमा होमिएका दलहरु वडा कार्यालय मार्फत आक्रामक चुनाव प्रचारमा लाग्ने भएका छन् । दलका उम्मेदवारहरुले मतदाताहरुसंग मत माग्दै मंसिर ४ गतेको संविधानसभामा विजयी गराएमा जनताको अधिकार सुनिश्चत हुने संविधान बनाएर मुलुकको विकास गर्ने प्रतिवद्धता व्यक्त गर्न भूलेका छैनन् ।

 चुनाव प्रचारका लागि वडा र टोल कमिटि स्थापना गर्न पुगेका एमाले प्रत्यक्षका उम्मेदवार कृष्णकुमार राई मतदातालाई मत माग्न घरदैलो अभियानमा लागेका छन् । मदजुर र सुकुम्वासी क्षेत्रमा घरदैलो अभियानलाई एमालेले तिव्र बनाएको छ ।
कांग्रेसले आफ्नो उम्मेदवार चन्द्रप्रसाद श्रेष्ठलाई जिताउन धरानको वडाहरु  तथा पाचकन्या गाविसका ९ वटै वडामा निर्वाचन वडा कमिटि बनाएको सुनसरी कांग्रसका सहसचिव विकास आचार्यले बताए । वडा भेलामा क्रियाशील कार्यकता बोलाएर आइतबार देखि नै घरदैलो अभियानलाई प्रभावकारी बनाउने तयारीमा जुटेको आचार्यले बताए ।

  एनेकपा माओवादीले पहिले जितेको क्षेत्रलाई नगुमाउन आफ्ना कार्यकर्तालाई अरु दलले भन्दा एक कदम बढेर घरदैलो अभियानलाई तिव्र बनाएको धरान इन्चार्ज चोत्लुङले बताए । एमाओवादीले पाचकन्याको दानावारीबाट घरदैलो अभियानसंगै प्रत्यक्षका उम्मेदवार मुम्साम मेन्याङ्बो लिम्बुलाई लिएर चुनाव प्रचारको मैदानमा उत्रेको छ ।

संघीय समाजवादी पार्टीले भने धरान र पाचकन्याका विभिन्न वडा र टोलमा संगठन र निर्वाचन प्रचार अभियानलाई एकसाथ सुरु गरेको सुनसरी अध्यक्ष पारस काङमाङले बताए । उनका अनुसार धरान नगरपालिकाका भुतपुर्व मेयर समेत रहेका प्रत्यक्षका उम्मेदवार ध्यानवहादुर राईलाई जिताउन शनिबार विहान वडा १६ मा मदन राईको संयोजकत्वमा १ सय ५५ जना सम्मिलित प्रचार प्रसार समिति बनाएको छ ।

जनजातिको इलाका मानिएको धरान र पाचकन्याका मतदातालाई भोट माग्न चुनाव प्रचारमा राष्ट्रिय जनमुक्ति पार्टी अरु भन्दा अगाडि देखिएको छ । भूतपुर्व व्रिटिस लाहुरे समेत रहेका सुनचादी व्याबसायी चन्द्रबहादुर खापुङलाई राजमुपाले प्रत्यक्षमा उम्मेदवार बनाउको छ । राजमुपाले चुनाव प्रचारका लागि प्रयोग गरेको ल्याण्डरोभरमा आफ्नो चुनाव चिन्ह घर कै प्रतिमा बोकेर टोलटोलमा माइकिङ, र्‍याली गर्दै पर्चा पम्प्लेट, वितरण गर्दै आएको छ । लगातार एमालेले जितेर एमाले गढ भएपनि गएको संविधान सभाको चुनावमा तत्कालिन नेकपा माओवादीले जितेको सुनसरी क्षेत्र नं १ मा देखिएको चुनावी प्रचार अनुसार कांग्रेस, एमाले, एनेकपा माओवादी र संघीय समाजवादी पार्टी वीच कडा प्रतिश्पर्धा हुने भएको छ ।

एमालेले ०४८ सालको पहिलो आम निर्वाचनमा स्वर्गीय मनमोहन अधिकारीले भारीमतले जितेर प्रधानमन्त्री समेत भएको क्षेत्र न १ मा पछिल्लो समयमा संघीय समाजवादीले आफ्नो पकड बनाएकाले पुराना पार्टीका लागि सहज जित हातपार्न मुस्किल देखिएको राजनितिक विष्लेशकहरुले बताउन थालेका छन् ।
अघिल्लो चुनावमा माओवादीलाई सुकुम्वासी र अन्य दलका मतदाताहरुले समेत मतदान गरेकाले सहजै जितेको थियो । तर यसपटक त्यस्तो अवस्था नभएकाले उसका लागि फलामको च्यूरा चपाउनु जतिकै गाह्रो हुने भएको छ । नया पार्टी संघीय समाज वादीमा एमालेकै कार्यकता गएकाले र पुराना बामपंथी नेता समेत रहेका धरानका भूपू मेयर ध्यानवहादुर राई उम्मेदवार भएकाले एमाले उम्मेदवार कृष्णकुमार राईलाई जित्न मुस्किल पर्ने विष्लेशण गरिन थालिएको छ । दलका अधिकांस अगुवा कार्यकर्ताहरुका अनुसार सुनसरीको क्षेत्र न १ मा जुन पार्टीले ११ हजार भोट ल्याउछ उसैले जित्ने अवस्था देखिएको बताउन थालेका छन् ।  क्षेत्र न १ को कुल मतदाता ६५ हजार ७ सय ९५ रहेका छन् । गएको संविधानसभामा ८४ हजार २ सय ३ जना रहेकोमा फोटो सहितको मतदाता नामावली संकलन गर्दा १८ हजार ४ सय ८ मतदाता घटेका छन् ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>